
नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको आधार दर घटाएर ब्याजदर घट्ने गरि नयाँ सर्कुलर जारि गरेको छ। राष्ट्र बैंकले आज बुधबार एक सर्कुलर जारि गर्दै सँस्थागत मुद्दतीमा बैक वित्तीय संस्थाले प्रकाशित ब्याज दर भन्दा बढी लिन नपाउने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले सर्कुलर अनुसार यस अघि कल डिपोजिटमा प्रकाशित ब्याजदर भन्दा बढी दिन नपाइने व्यवस्था रहेकोमा अब संस्थागत मुद्दती निक्षेपमा पनि प्रकाशित ब्याजदर भन्दा बढी दिन पाइने छैन।
राष्ट्र बैंकको यस सर्कुलरअनुसार बैंक वित्तीय संस्थाले प्रकाशित ब्याजदर भन्दा बढी ब्याज सँस्थागत निक्षेपकर्तालाई दिन पाउने छैनन्। यसले गर्दा नेपाल टेलिकम, बिद्युत प्राधिकरणको आम्दानीमा केहि ह्रास आएपनि बैंकिङ उद्योगमा ब्याजको लागत घट्न जाने देखिन्छ। जसले गर्दा आधार दर घट्न गई समग्रमा ऋणीहरुको ऋणको ब्याज घटाउनमा टेवा पुग्नेछ।
राष्ट्र बैंकको यस निर्णयले एकातर्फ सँस्थागत निक्षेपकर्ताको आम्दानि थोरै प्रभावित भएपनि व्यक्तिगत निक्षेपकर्तालाई भने कुनै मार नपर्ने देखिएको छ। अर्कोतर्फ, बैंकिङ उद्योगमा आधार दर कम हुन् गई ऋणीको ब्याजको ब्याजदर घट्ने अपेक्षा गरिएको छ।