कहिले आउँछ कोरोनाको प्रभावबारे राष्ट्र बैंकको २ कार्यदलको प्रतिवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2020 | 12:23:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले कोरोनाको प्रभावबारे अध्ययन गर्न गठित २ कार्यदलले अझै प्रतिवेदन बुझाउन सकेका छैनन् । दुवै कार्यदलले तोकिएको समयमा प्रतिवेदन बुझाउन नसकेका हुन्  ।

राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले चैत्र २५ गते कार्यभार सम्हाल्दै कोरोनाका कारण नेपालको वित्तीय क्षेत्रमा परेको असर अध्ययन गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका थिए  । उनले राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । 

कार्यदलले  वित्तीय क्षेत्रमा कोरोनाको प्रभावबारे अध्ययन गरेर बैशाख मसान्तभित्र प्रतिबेदन बुझाउने भनिएको थियो । तर जेठ मसान्त नजिकिदासम्म कार्यदलले प्रतिवेदन बुझाउन सकेको छैन ।  कार्यदलका संयोजक डा. भट्ट कोरोनाको प्रभाव बढ्दै गएकोले समयमा प्रतिवेदन तयार पार्न नसकिएको बताउछन् । काम जारि रहेपनि कोरोनाको संक्रमण स्थिर नहुँदासम्म अन्तिम प्रतिवेदन बुझाउन नसकिने उनको भनाई छ । हालसम्म भए गरेका अध्ययनको बारेमा राष्ट्र बैंकले मासिक समीक्षा प्रतिवेदन मार्फत सार्वजनिक गरिरहेको उनले बताए । 

उनले भने 'कतिपय देशमा कोरोना संक्रमणको दर स्थिर देखिएर छ, तर नेपालमा संक्रमण दर तिब्र गतिमा बढिरहेको छ, संक्रमणदर निरन्तर वृद्धि हुँदा  त्यसको असर पनि बढ्दै जान्छ, संक्रमण कम वा 'फ्ल्याट रेट' मा नआउँदासम्म अन्तिम प्रतिवेदन बुझाउन सकिदैन' ।  

उनले अहिले कोरोनाले असर पार्ने १५ वटा क्षेत्र पहिचान गरेर सर्भेको कार्य पनि जारि राखेको बताए । राष्ट्र बैंककै वेबसाइट मार्फत 'कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्वन्धी सर्वेक्षण' सुरु गरिएको डा. भट्टले बताए ।  त्यसमा जो कोहिले आफ्नो क्षेत्रमा परेको असरबारे जानकारी गराउन सकिने उनको भनाई छ ।  उनले उक्त सर्भे भरेर कोरोनाको कारण आफ्नो क्षेत्रमा परेको असर र प्रभाव बारे जानकारी गराउन आग्रह गरेका छन् ।   उनका अनुसार यसै हप्ता सर्भेको कार्य सुरु गरिएको हो ।  उनले अन्तिम प्रतिवेदन पनि क्षेत्रगत आधारमा तयार हुने बताएका छन् ।   

यस कार्यदलमा अनुसन्धान विभागका निर्देशक रामशरण खरेल सदस्य सचिव रहेका छन् भने नियमन विभाग, बिदेशी विनिमय व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग, तथा बैंक सुपरिवेक्षण बिभागका निर्देशक र बाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष सदस्य रहेका छन् । 

त्यस्तै राष्ट्र बैंकले  कोरोनाले अर्थतन्त्रका बिभिन्न क्षेत्रमा पारेको प्रभावले बैंकिङ उद्योगमा पर्ने प्रभाव अध्ययन गर्न छुट्टै कार्यदल बनाएको थियो । राष्ट्र बैंकले नियमन बिभाग प्रमुख देवकुमार ढकालको नेतृत्त्वमा उक्त कार्यदल बनेको थियो । कार्यदलले जेठ ५ गतेभित्र प्रारम्भिक तथा जेठ १५ भित्र अन्तिम प्रतिवेदन बुझाउने तय गरिएको भएपनि अझै प्रतिवेदन बुझाउन सकेको छैन ।  

कार्यकारी निर्देशक ढकालले प्रतिवेदन तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको बताए। प्रतिवेदनको काम भईरहेको र यो महिना भरीमा प्रतिवेदन तयार पारेर बुझाउने लक्ष्य लिएको ढकालले बताए । भट्ट नेतृत्वको कार्यदलले समग्र अर्थतन्त्रमा कोरोनाको प्रभाव अध्ययन गर्ने जिम्मा पाएको हो भने ढकाल  नेतृत्वको कार्यदलले  बैंकिङ क्षेत्रमा पर्ने असरबारे बिशेष अध्ययन गर्नेछ।  

उक्त अध्ययनको आधारमा अहिले राष्ट्र बैकले दिईरहेको प्याकेज पर्याप्त छ छैन, ऋणीलाई असार मसान्तसम्म ब्याज तिर्न दिइएको छुट पर्याप्त छ वा छैन, ऋणीले एकै पटक असार मसान्तमा ब्याज तिर्न सक्छन सक्दैनन, थप प्याकेजको आवश्यकता छ छैन, दिनुपर्ने प्याकेजमा कानुनी तथा प्राविधिक जटिलता कस्तो हुन्छ जस्ता बिषयमा अध्ययन गरेर सुझाब पेश गर्ने ढकालले बताए। 

यद्यपि यो प्रतिवेदन राष्ट्र बैंकले आफ्नो आन्तरिक प्रयोजनको लागि तयार गरिरहेकोले बाहिर सार्वजनिक नहुने ढकालले बताए । उनले भने 'यो इन्टरनल प्रयोजनको लागि तयार पारिने प्रतिवेदन हो, बाहिर सार्वजनिक हुन्न' । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved