नबिल बैंक Nabil Bank Limited का प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कानुन नै परिवर्तन गराएर भए पनि पूर्ण डिजिटल बैंकिङको अवधारणालाई सफल पार्नु पर्ने बताएका छन् । डिजिटल बैंकको अवधारणामा, “नबिल डिजि बैंक” स्थापनाको घोषणापछि बिजपाटी डटकमसँगको कुराकानीमा उनले कानुन नै परिवर्तन गरेर भए पनि बैंकिङलाई पूर्ण डिजिटल बनाउनु पर्ने बताएका हुन् ।
डिजिटल बैंकिङको लागि 'रेगुलेसन' चाहिने र हाल बिद्यमान कानुनलाई परिवतर्न गरेर भएपनि बैंकको अवधारणा सफल हुनेमा आफु विश्वस्त रहेको सीइओ शाहले बताएका हुन् । उनले भने 'कतिपय ब्यबहारिक कठिनाई छन्, तर हाम्रो टिम राम्रो छ, हामी सफल हुने विश्वस्त छौ' ।
उनले अहिलेसम्म कुनै पनि बैंकले डिजिटल बैंकिङलाई प्राथमिकता नदिएको तर नबिल बैंकले आफ्नो संरचनाको केन्द्र मै डिजिटल बैंकिङलाई समावेश गरेर नयाँ थालनी गरेको बताए । उनले बैंकका धेरै 'प्रडक्ट' “नबिल डिजि बैंक” अन्तर्गत आईसकेको बताए । ग्राहकलाई कुनै पनि काम गर्न बैंक मै आउनु नपर्ने सिस्टम विकास गरिने उनको भनाई छ।
कोरोना महामारीपछि अब डिजिटल नै 'मेजर ग्रोथ एरिया' भएकोले त्यो ठाउँमा जो पुग्छ उही अगाडी बढ्ने उनले बताए । डिजिटल बैंकिङको अवधारणा अरु देशको लागि नयाँ नभए पनि नेपालको लागि नयाँ भएकोले सोहि अनुसारको चुनौती पनि रहेको बताए । तर नेपालका ३ वटा सरकारी बैंक ढड्डा मै रहेर बैंकिङ कार्य गरिरहँदा नबिल बैंकले डिजिटल सुरु गर्दा धेरै सफल नहुने विश्वास गरे पनि सबैले क्रमश त्यहि अभ्यास थालेको उनले स्मरण गरे । त्यसै गरी अहिलेको बैंकको “नबिल डिजि बैंक” को अवधारणा नौलो रहेपनि आगामी दिनमा अरु बैंकले सुरु गर्ने उनले बताए ।
सीईओ शाहले अबका दिनहरुमा सूचना प्रविधिमा आधारित रणनीतिबाट बैंकको रुपान्तरण गर्दै डिजिटल सेवाहरु मर्फत अनुपम ग्राहक अनुभवहरु सिर्जना गर्दै जाने लक्ष्य राखेको बताए । रुपान्तरणको प्रकृयामा बैंकले बैकिङ क्षेत्रमा उत्कृष्ठ सेवा प्रदान गर्दै आएको भारतको आइ.सि.आइ.सि.आइ बैंक तथा सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था हुवावे टेक्नोलोजीस“ग रणनैतिक साझेदारी आरम्भ गरिसकेको उनले बताए ।
यसले नेपालको आर्थिक सेवा क्षेत्रमा प्रविधिमा आधारित क्रान्तिमा अग्रणी भूमिका खेल्ने विश्वास समेत सीइओ शाहले व्यक्त गरेका छन् । उनले अब डिजिटल रणनीति तथा कायक्रमहरु मार्फत पारस्परिक बैंकिङ पद्दत्तिलाई चुनौति दिदै ग्राहक, फिन्टेक लगायत अन्य पक्षसँगको सहकार्यमा आर्थिक इकोसिस्टममा आधारित बैंकिङ तथा आर्थिक सेवाको प्रयोग गर्ने अठोट समेत व्यक्त गरेका छन् ।