राष्ट्र बैंकले तरलता खिच्दा बैंकहरुबाट किन परेन पर्याप्त आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2020 | 11:17:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बोककवोल विधिबाट निक्षेप उपकरण मार्फत तरलता खिच्न खोज्दा माग भन्दा कम आबेदन परेको पाइएको छ। बैंकहरुको आग्रह अनुसारनै तरलता खिच्न खोज्दा पनि पर्याप्त आबेदन नपरेकोमा राष्ट्र बैंकले आश्चर्यता जनाएको छ। 

मङ्सिर ३ गते बोककवोल विधिबाट २८ दिन अवधिका लागि ३० अर्ब निक्षेप माग गर्दा बैंकहरुबाट २३ अर्ब ५० करोडको मात्रै आबेदन परेको राष्ट्र बैंकले जनाएको छ। यसअघि असोज ८ गते ३० अर्बको निक्षेप माग गर्दा बैंकहरुबाट ८२ अर्ब ७० करोडको माग परेपनि अहिले माग भन्दा कम आबेदन पर्दा आफुहरुलाई आश्चर्य लागेको राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले बिजपाटीलाई बताए। 

अधिक तरलता भएको बेला यसरी माग भन्दा अत्यन्त कम आबेदन आउनुमा बैंकहरु तरलता व्यवस्थापन सम्बन्धी प्रक्षेपणमा स्पष्ट नभएको हो कि भन्ने देखिएको उनको भनाई छ। 

'बैंकहरु तरलता व्यवस्थापन सम्बन्धी प्रक्षेपणमा स्पष्ट नभएको हो कि भन्ने देखियो' डा भट्टले भने, 'अर्को तर्फ अधिक तरलता हुँदा पनि कम आबेदन पर्नुमा धेरै नै कर्जाको माग हुन थालेको र त्यसको व्यवस्थापनमा लागेको पनि हुन् सक्छ।'  

बैंकहरुको सिस्टममा १९० अर्ब तरलता देखिएको छ। हप्ता दिन अगाडी राष्ट्र बैंकसँगको छलफलमा कर्जाको माग कम भएकाले बैंकहरुमा अधिक तरलता भएको भन्दै तरलता खिचिदिन बैंकहरुले राष्ट्र बैंकसँग आग्रह गरेका थिए। 

थाहा नहुँदा कम आबेदन 

यता बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका सीईओ भुवन दाहालले बैकहरुलाई थाहा नहुँदा आबेदन कम परेको स्पष्ट पारेका छन्।  तिहारको सार्वजनिक विदाको बेला राष्ट्र बैंकले निक्षेप खिच्ने सूचना आउँदा धेरै बैंकहरुलाई थाहा नभएकाले कम आबेदन परेको अध्यक्ष दाहालको भनाई छ। 

'अरु बैंकका साथीहरुसँग सोध्दा थाहा नभएकाले आबेदन नभएको जवाफ आएको छ, हाम्रै बैंकका सम्बन्धित बिभागलाई जानकारी नहुँदा आबेदन दिन पाएनौं' अध्यक्ष दाहालले भने, 'एक महिना अगाडी ३० अर्बको माग हुँदा ८२ अर्बको आबेदन पर्ने, अहिले आबेदन नपर्ने भन्ने नै हुदैन, एक महिनाको अवधिमा यत्रो लगानी हुने भए अचम्म नै हुन्थ्यो, अहिले पनि बैंकहरुमा तरलता अधिक नै छ।' 

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अधिक हुँदा बिभिन्न उपकरण मार्फत पैसा खिच्ने गर्दछ भने तरलता कम हुँदा  पनि बिभिन्न उपकरण मार्फत बजारमा रकम पठाउने गर्दछ। आफुसँग रहेको अधिक रकम बैंक तथा वित्तीय संस्थाहरुले रिभर्स रिपो वा अन्य उपकरण मार्फत लगानी गर्दा उनीहरुले ब्याज रकम प्राप्त गर्दछन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved