साना तथा मझौला उद्यमीलाई सहयोग पुर्याउन नबिल बैंक र दराजबीच सम्झौता भएको छ । नेपालका साना तथा मझौला उद्यम(एसएमई)लाई सहयोग पुर्याउन बैंक र अनलाइन स्टोर दराजबीच मंगलबार सम्झौता भएको हो ।
सम्झौतामा बैंकका डेपुटी सीईओ सुजित कुमार शाक्य र दराजका प्रबन्ध निर्देशक लिनो अल्हेरिङ्गले हस्ताक्षर गरेका छन् ।
बैंक र दराज दुबैको सहकार्यमा “सारथी” भन्ने वित्तिय कार्यक्रम सुरू गरेका छन् । जहाँ दराजका विक्रेताहरूले विभिन्न सुविदा तथा ब्याज दरको नबिल एसएमई कर्जाको लागि आवेदन दिन सक्नेछन् । कार्यक्रम सबै एसएमई ग्राहकहरुका लागि ल्याइएको बैंकले जनाएको छ । जसमा पुराना तथा नयाँ सबै ग्राहकहरुले आवेदन दिन पाउने जनाइएकोे छ ।
कार्यक्रममा बोल्दै बैंकका डेपुटी सीईओले भने, “यो कार्यक्रम नेपालमा डिजिटल बजारको विकासको लागि निकै महत्वपूर्ण रहनेछ । हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईहरुलाई विभिन्न लगानी कार्यक्रम मार्फत आफ्नो व्यवसाय विस्तारमा सहयोग पूर्याउनु रहेको छ ।'
त्यस्तै, दराजका प्रबन्ध निर्देशकले भने, “सारथी कार्यक्रमलाई नबिल बैंकसंगको सहकार्यमा प्रस्तुत गर्न हामी धेरै उत्साहित छौं । हामीले लामो समयदेखि काम गरिसकेका छौं, अर्थतन्त्रमा कोरोनाको प्रभावलाई ध्यानमा राखी यो कार्यक्रम अझ महत्वपूर्ण साबित भएको छ ।”
बैंकले देशभर ११९ वटा शाखा कार्यालयहरु, १७५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु मार्फत सेवा दिदै आइरहेको छ ।