सिभिल बैंकले मनायो दशौँ बार्षिकोत्सव, सीईओ गुरुङले सुनाए १० बर्षको १० माइलस्टोन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2020 | 04:01:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले दशौं बार्षिकोत्सव मनाएको छ। ३० औं बाणिज्य बैंकको रुपमा स्थापना भएको सिभिल बैंकले आज भर्चुअल मार्फत आफ्नो दशौँ बार्षिकोत्सव मनाएको हो। 

बार्षिकोत्सव कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गरेका छन्। १० बर्ष पुरा गरेर एघारौँ बर्षमा प्रवेश गरेको अवसरमा बैंकका सीईओ गुरुङले बैंकको १० बर्षको महत्त्वपूर्ण माइलस्टोन सुनाएका छन्। 

पहिलो माइलस्टोनमा सिभिल बैंकले १० बर्षको अवधिमा आफ्नो चुक्तापुंजी १ अर्ब २० करोडलाई बढाएर ८ अर्ब पुर्याएको छ। त्यस्तै दोश्रोमा, बैंकको वित्तीय अवस्थाको प्रगति रहेको छ, जसमा बैंकको सम्पती ४ अर्बबाट बढेर ८६ अर्ब पुगेको छ भने निक्षेप २ अर्ब ९५ करोडबाट ७० अर्ब पुगेको छ भने कर्जा लगानी २ अर्बबाट बढेर ६० अर्ब पुगेको छ। 

तेश्रोमा बैंकको शाखा संख्या रहेको छ। स्थापनाको पहिलो बर्षमा ३ शाखा रहेकोमा अहिले यो संख्या बढेर ११४ पुगेको छ भने चौंथोमा, बैंकको ग्राहक संख्या ४००० बाट बढेर ४ लाख ८६ हजार पुगेको छ। 

त्यस्तै पाँचौं माइलस्टोनमा बैंकको संस्थागत पुनर्संचरना रहेको छ। बैंकले सेल्स, क्रेडिट, कन्ट्रोल र सपोर्टमा उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख छ। त्यस्तै  बैंकको बैंकिङ कल्चर अर्थात बैंकिङ संस्कार उल्लेख छ। ग्राहक केन्द्रित सुविधा र बैंकले लिने जोखिममा उल्लेख्य प्रगति भएको बिषयलाई बैंकले आफ्नो छैटौं माइलस्टोनमा राखेको छ। 

त्यस्तै सातौँमा बैंकले आफ्नो खराब कर्जा अनुपातमा भएको उल्लेखनीय प्रगतीलाई सामेल गरेको छ। कुनै बेला खराब कर्जा अनुपात एनपीएल  ४।४९ प्रतिशत रहेकोमा अहिले यो प्रतिशत घटेर डेढ प्रतिशतमा पुगेको छ। एनपीएल यसरी घट्नुमा बैंकले लिएको ग्राहक केन्द्रित सेवा र कर्जा प्रवाहको जोखिमको न्यूनीकरण रणनीति रहेको छ।

आठौँ माइलस्टोनमा बैंकले डिजिटल बैंकिङमा बढाएको पहुँच उल्लेख छ। यस १० बर्षमा सिभिल बैंकले आफ्नो सेवालाई डिजिटल बनाउदै अगाडी बढेको छ। जसमा ट्याप बैंकिङ, परिक्षणको क्रममा रहेको कार्ड लेस बैंकिङ, जस्ता नौला प्रोडक्ट रहेका छन्। 

नवौंमा बैंकले यस १० बर्षमा बिभिन्न संघ संस्था तथा अन्तराष्ट्रिय एजेन्सीबाट पाएको सम्मान तथा मान्यता रहेको छ। जसमा बैंकले गत बर्ष पाएको आएसओ सर्टिफाइड र यसबर्षपनि त्यसको निरन्तरता, एकै खातामा कर्जा र बचत सुविधा तथा  डेबिट र क्रेडिट कार्ड सुविधा भएको ओभरड्राफ्ट कार्ड र त्यस बापत बैंकले २०१४ मा पाएको मास्टर कार्ड इन्नोभेशन अवार्ड, २०१७ मा पाएको उत्कृष्ट रोजगारदाताको अवार्ड रहेका छन्। 

दशौँ माइलस्टोनमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व र त्यसअन्तर्गत शिक्षा र पर्यावरणलाई प्राथमिकतामा राखेर गरेका काम तथा कर भुक्तानीमा देखाएको पारदर्शिता उल्लेख छ। 

आफ्नो दशौँ बार्षिकोत्सवको अवसरमा नागरीकप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राख्दै आएको सिभिल बैंकले कोभिड उपचारका निम्ति आवश्यक पर्ने प्लाज्मा दानको लागि अग्रसरता लिएको छ। 

यहि क्रमलाई निरन्तरता दिंदै बैंकले कोरोना लागेर निको भएका आफ्ना दश कर्मचारी मार्फत कोरोना भाईरस संक्रमित विरामीहरूको जीवन रक्षाका लागि आवश्यक पर्ने प्लाज्मा दान दिने भएको छ। र यो क्रमलाई बैंकले निरन्तरता दिनेछ।  

त्यस्तै बैंकले कोरोनाबाट प्रभावित भएका तथा अप्ठ्यारोमा परेकाहरुलाई १० छाक खाना खुवाउने भएको छ। त्यस्तै यहि अवसरमा बैंकले माथातिर्थ वर्ल्ड हेरीटेजमा रहेका जेष्ठ नागरिकहरुलाई ३ महिनासम्म रासन प्रदान गर्ने भएको छ। 

बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा ९ करोड ६५ लाख खुद मुनाफा आर्जन गरेको छ। बैंकले इम्पेयरमेन्ट चार्जअनुसार प्रोभिजन गर्दा उसको खुद मुनाफा झन्डै १५ करोडले कम देखिएको छ। इम्पेयरमेन्ट चार्जमा मात्रै १५ करोड राखेर सुरक्षित बैकिङको सुचिमा कायम हुन सफल भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved