
ऋणीको एकतर्फी कुरा सुनेर बैंकको सार्वजनिक प्रतिष्ठामा आँच पुर्याउनेगरि समाचार प्रकाशित गरिएकोप्रति मेगा बैंकले आपत्ति जनाएको छ। मनोगणन्ते काल्पनिक खबर प्रसारित भएकोले उक्त सम्प्रेषित समाचारको विश्वास नगर्नलाई समेत बैंकले आफ्ना ग्राहकहरुलाई आग्रह गरेको छ।
पिडित भनिएका उत्तम कुमार खत्रीले आफ्नो स्वामित्वमा रहेको कम्पनीको नाममा लिएको ऋणको सावाँ ब्याज नतिरेपछि मात्र आफुहरु लिलाम प्रकृयामा गएको बैंकको दाबी छ।
बैंककाअनुसार खत्रीले आफ्नो स्वामित्वमा रहेको ग्लोवल माउन्टेन आउटवेयर उद्योगको नाममा उद्योगकै नामको जग्गा धितो राखि २०७३-०४-२५ मा ८ करोड कर्जा उपभोग गरेका थिए। ९ महिना नपुग्दै खत्रीले कर्जा नियमित गर्न छाडेपछि कर्जाको साँवा ब्याजको लागि ताकेता गर्दा २०७४-०९-०४ मा उद्योग विभाग, घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंमा गई आफ्नो उद्योगको सम्पूर्ण सम्पत्ति तथा दायित्व भुमादेवी गौतमको नाममा नामसारी गरी दुबै जनाले २०७४-०९-१२ मा कर्जा नामसारी गर्न बैंकमा निवेदन दिए बमोजिम सोही अनुरुप कर्जा नामसारी भएको थियो ।
कर्जा प्रवाह भएको २ बर्षपछि धितोमा रहेको सम्पत्तिबाट कर्जा असुलीको कारवाही प्रारम्भ गरेपश्चात् मात्र दायर भएका विभिन्न मुद्दाहरुमा पेश भएको कागजबाट उत्तम कुमार र भुमादेवी गौतमको बीचमा घरजग्गा सट्टापट्टाको कागज गरेको व्यहोरा जानकारी हुन आएको बैकले जनाएको छ।
उत्तम कुमार र भुमादेवीबीच भएको सट्टापट्टाको कारोबारको विषयलाई लिएर काठमाडौं जिल्ला अदालतमा चलेको ठगी मुद्दामा उत्तम कुमारको ठगीको उजुरीदावी पुग्न नसक्ने गरी काठमाडौं जिल्ला अदालतबाट २०७७÷०६÷१३ गते पैmसला भएको छ । पिडित भनिएका उत्तम कुमार र भुमादेवीको बीचमा भएको आपसी लेनदेन कारोबारमा आफुहरुको कुनै संलग्नता नभएको बैंकको दाबी छ।
त्यस्तै लिलामी सूचना निकालेपछि धितोमा रहेको घरमा बस्न पाउनुपर्ने माग राखेर दिएको उजुरीमा दाबी नपुगेको भन्दै अदालतले खारेज गरेको घटनालाई समेत उत्तर कुमारले तोडमोड मिडियामा गलत प्रचार गरेको बैंकले आरोप लगाएको छ।
आफूले लिएको ऋण अन्य व्यक्तिलाई हस्तान्तरण गर्ने, बैंकको साँवा ब्याज नतिर्ने, बैंकले असुलीको कारवाही गर्दा पीडित भएँ भनी हिड्ने व्यक्तिको तथाकथित भनाईलाई आधार मानी बैंकको ख्याति, प्रतिष्ठा, इज्जतमा गम्भीर असर पुग्ने गरी सर्वसाधारणलाई कारोबार नगर्नु, निक्षेप जोखिममा छ, भनि गरिएको टिप्पणीप्रतिमाथि पनि बैंकले गम्भीर आपत्ति जनाएको छ।
बैंककाअनुसार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको दफा ५५ तथा बैंकको नियमानुसार कर्जाको पूर्ण सुरक्षण हुने गरी गुरुदत्त पौडेल एकल सञ्चालक रहेको विश्वास मल्टिपर्पोज प्रा.लि. र सेन्सेसन लिकर हाउस प्रा. लि. लाई कर्जा प्रदान गरिएको थियो। बैंकमा धितो राखेको सम्पत्ति कुनै जग्गाधनीले कसैलाई दिने गरी आन्तरिक सम्झौता वा लिखत गरेकोमा सो सम्पत्ति बैंकको ऋण तिर्न नसकी सम्झौता कार्यन्वयन हुन नसक्ने अवस्था भएमा बैंकको कुनै जिम्मेवारी नहुने तर यस तथ्यलाई समेत गलत तरिकाले प्रचार गरिएको बैंकको दाबि छ।
"नेपाल सरकारको निकायमा गई आफ्नो स्वामित्वको फर्म बिक्री गर्ने अनि कपाली तमसुकका भरमा अनर्गल प्रचार गरी बैंकको मान, मर्यादा एवं प्रतिष्ठामा आँच आउने गरी झुट्टा समाचार सम्प्रेषण गर्दै सर्वसाधारणको निक्षेपबाट प्रवाहित कर्जा असुली प्रक्रियामा अवरोध सिर्जना गर्न पीडित भनिएका व्यक्ति उत्तम कुमार समेतको मिलोमतोमा उल्टै बैंकलाई ठगी गर्ने प्रयास भैरहेकोले भ्रमित नहुन मेगा बैंक जनमानसलाई हार्दिक अपिल गर्दछ" बैंकद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ।
बैंकका ऋणी नै नभएका व्यक्तिको अन्तरवार्ता लिई सोही बमोजिम एकतर्फी रुपमा समाचार सामाग्री प्रसारित गर्नु र बैंकको भनाइ समेत नराखिनुले नियतमाथि नै प्रश्न उब्जिएको बैंकको भनाई छ।