बैंकिङ कसुरका नयाँ प्रवृतिले चुनौती थपियो, कानुन संसोधन गर्नुपर्छ : गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2021 | 06:33:12 PM मा प्रकाशित

laxmi  sunrise bank

गभर्नर महाप्रसाद अधिकारिले पछिल्लो समय बैंकिङ कसुरका नयाँ प्रवृतिले चुनौती थपिएको बताएका छन्। नेपाल राष्ट्र बैंक, कानून महाशाखाले २०७७ चैत १३ गते काठमाडौंमा ‘बैंकिङ कसुरको अनुसन्धान, अभियोजन तथा बैंकिङ सुपरिवेक्षण’ सम्बन्धमा राखेको एक दिने अन्तरकृया कार्यक्रममा सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताए। 

गभर्नर अधिकारीले बैंकिङ कसुरका नयाँ प्रवृतिले थपिएका चुनौती न्यूनीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई संशोधन र परिमार्जन गर्नुपर्ने धारणा व्यक्त गरे। 

“सूचना प्रविधिको विकाससँगै बैंकिङ कसुरका नयाँनयाँ प्रवृत्तिहरू देखिन थालेका छन् । तिनको नियन्त्रणलाई विद्यमान कानुनले समेट्न सकेको छैन । त्यसलै कानुनी व्यवस्थामा सुधार गर्नुपर्ने आवश्यकता छ" उनले भने। 

त्यस्तै महान्यायाधिवक्ता रमेश बडालले बैंकिङ प्रणालीमा देखिएका कसुरलाई नियन्त्रण गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयताअभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिए। महान्यायाधिवक्ता बडालले यसका निम्ति राष्ट्र बैंक, सरकारी वकिल र नेपाल प्रहरीबीच प्रभावकारी समन्वय एवं सहकार्य हुनुपर्ने धारणा व्यक्त गरे। 

महान्यायाधिवक्ता बडालले भने, “विगतमा हामीबीच समन्वयको अभावले कुनै समस्या उत्पन्न भएको छ भने त्यसमा सुधार गर्दै अन्तरनिकाय समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ।”

त्यस्तै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तीनवटै निकायको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै बैंकिङ कसुर नियन्त्रणमा उपलब्धि हासिल हुने धारणा व्यक्त गरे। हुण्डी र मौखिक माध्यमबाट हुने अन्य कारोबारले वित्तीय प्रणालीमा जोखिम सृजना गरेको उनको भनाई छ। साथै,सहकारी संस्थाको कारोबारलाई पनि प्रभावकारी नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता क्षेत्रीले औंल्याए। 

नेपाल राष्ट्र बैंक, कानुन महाशाखाका निर्देशक थानेश्वर आचार्यले उद्घाटन सत्रको समापन मन्तव्य राखेका थिए।  डेपुटी गभर्नर डा। नीलम ढुङ्गाना तिम्सिनाको अध्यक्षतामा सञ्चालित छलफल सत्रमा तीन वटै निकायको तर्पmबाट कार्यपत्रहरू प्रस्तुत गरिएको थियो । 

सो अवसरमा नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले‘बैंक सुपरिवेक्षकको रूपमा नेपाल राष्ट्र बैंकको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गरे। यस क्रममा उनले  सुपरिवेक्षणको अवधारणा, कानुनी व्यवस्था,  सुपरिवेक्षकीय अभ्यास र बैंकबाट भएका कारवाहीबारे चर्चा गरे। 

प्रहरी नायब महानिरीक्षक एवं अनुसन्धान ब्यूरोका निर्देशक सहकुल बहादुर थापाले ‘बैंकिङ कसुरसम्बन्धी अनुसन्धान अनुभव, समस्या तथा सुधार गर्नुपर्ने विषयहरू’ विषयमा कार्यपत्र प्रस्तुत गरे। 

सो अवसरमा उनले ब्यूरोबाट हुने बैंकिङ कसुरको अनुसन्धान प्रक्रिया, कसुरजन्य क्रियाकलाप, बैंकिङ कसुरको अनुसन्धानमा देखिएका समस्या र समाधानका उपायबारे चर्चा गरे। 

कार्यक्रममा सहन्यायाधिवक्ता ध्रुवकुमार चौहानले ‘बैंकिङ कसुर तथा बैंकिङसम्बन्धी अन्य प्रचलित कानुनअन्तर्गतका कसुरको अभियोजनसम्बन्धी अनुभव, सोमा देखिएका समस्या, गर्नुपर्ने सुधार र अन्तरनिकायगत समन्वय’ विषयक कार्यपत्र प्रस्तुत गरे। 

कार्यक्रममा बैंकिङ कसुरसम्बन्धी बैंक तथा वित्तीय संस्थाका सुपरिवेक्षण, कसुरका जाहेरी, अनुसन्धान, अभियोजन प्रक्रियाका विषयमा सहभागीहरूबीच विस्तृत छलफल भएको थियो । 

डेपुटी गभर्नर बमबहादुर मिश्रले छलफल सत्रमा समापन मन्तव्य राख्दै बैंकिङ कसुरका विद्यमान कानुनी व्यवस्थामा सुधार गर्दै तीन वटै निकायबीच समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राखे। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved