बैंकहरुमा निक्षेपको तुलनामा कर्जाको माग बढ्न थालेको छ। कोरोनाको लकडाउन सकिएर सुस्तगतिमा आर्थिक गतिबिधि बढेसँगै बैंकहरुमा पछिल्लो समय निक्षेपको तुलनामा कर्जाको माग बढेको हो।
बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघकाअनुसार पछिल्लो एक सातामा बाणिज्य बैंकहरुको निक्षेप १० अर्बले बढ्दा कर्जा लगानी २७ अर्बले बढेको छ। यो तथ्यांकले पछिल्लो समय कर्जाको माग बढ्दै गएको देखाएको छ।
चैत पहिलो साता अर्थात ६ गतेसम्म बाणिज्य बैंकहरुले ३८ खर्ब ४० अर्ब निक्षेप संकलन गरि ३४ खर्ब ३५ अर्ब कर्जा लगानी गरेकोमा एक साताको अन्तर अर्थात चैत १३ गते ३८ खर्ब ५० अर्ब निक्षेप संकलन गरि ३४ खर्ब ६२ अर्ब कर्जा लगानी गरेका छन्।
तेस्रो त्रैमासको अन्त्यतिर रिकभरीमा ब्यस्त रहेका बैंकहरु अहिले पनि नयाँ कर्जा प्रवाहमा आक्रामक बनेका छन्। कोरोनाको लकडाउन मथ्थर भएर आर्थिक गतिबिधि बढेसँगै बैंकहरुले कर्जा प्रवाहका लागि घर जग्गा तथा गाडी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नयाँ नयाँ प्रकारका स्किमहरु ल्याएका छन्। जसकारण कर्जा बिस्तार सुस्त गतिमा बढेको छ।
पछिल्ला तथ्यांकले बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जा लगानी उल्लेख्य बढेको देखाउँछ।