
सामाजिक सुरक्षाभत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्ने सरकारको अभियानअन्तर्गत रामेछापको मन्थली नगरपालिकाले सामाजिक सुरक्षाभत्ता पाउने आफ्ना नागरिकको बैंक खाता खोल्न सबै वडाहरुलाई जानकारी गरायो । नगरपालिकाको निर्देशनात्मक उर्दी अनुसार १४ वटै वडाले आफ्ना वडाभित्रका सामाजिक सुरक्षाभत्ता पाउने नागरिकको बैंक खाता खोल्ने अभियान नै चलाए ।
चिठ्ठामार्फत कुन वडाका नागरिकको खाता कुन बैंकमा रहने भन्ने टुंगो लाग्यो । मन्थली नगरपालिका वडा नम्बर ५ (साविकको सुनारपानी गाविस) का सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिहरुको बैंक खाता खोल्ने जिम्मा मन्थलीस्थित एनआईसी एसिया बैंकले पायो । तर, बैंकको प्रक्रियाका कारण मंसिरदेखि फागुन सम्मको सामाजिक सुरक्षाभत्ता नागरिकले पाउन सकेका छैनन् ।
झन्झटिलो बैंकिङ प्रक्रिया
मन्थलीस्थित एनआईसी एसिया बैंकका ब्रान्च म्यानेजर समुन्द्र सिलवाल ब्रान्चमा फाराम संकलन गरी केन्द्रीय कार्यालयबाट प्रमाणिकरण हुनुपर्ने भएकाले अहिले ‘लट लट’ मा पैसा हाल्ने गरिएको बताउँछन् । खाता खोलिएपछि वडा सचिवलाई जानकारी गराउने र हप्ता हप्तामा खोलिएका खाताको एक लट बनाएर पैसा दिने गरिएको उनको भनाई छ ।
‘आइतबारदेखि शुक्रबारसम्म कति खाता खोलिन्छन्, तिनलाई एक लट बनाएर पठाउँछौँ, हेड अफिसबाट भेरिफाई भएपछि वडा सचिवलाई खबर गरेर पैसा दिने गरेका छौँ’ ब्रान्च म्यानेजर सिलवाल भन्छन् ।
आफूहरुले गाउँमै पुगेर पनि खाता खोलेको तर गाउँमा पनि सबै मानिस उपस्थित हुन नसकेको बैंकका कर्मचारी निशान रिजाल बताउँछन् । उनका अनुसार आजसम्म २३० जनाको खातामा पैसा गएको छ । कुल ३५६ मध्ये पहिलो चरणमा ६४, दोस्रो चरणमा ८६ र आज तेस्रो चरणमा ८० जनाको खातामा पैसा गएको उनको भनाई छ ।
गाउँले के भन्छन् ?
सुनारपानीका अगुवा युवा नविन कार्की बैंकले झुल्याएर फागुनमा हालेको पैसा अझैसम्म नदिएको आरोप लगाउँछन् । फागुन १९ गते नै नगरपालिकाले सूचना जारी गरेर सबै वडाका सामाजिक सुरक्षाभत्ता पाउनेहरुको पैसा सम्बन्धित बैंकमा पठाईसकिएको भनेपनि एनआईसी एसिया बैंकले आफ्ना वडाका नागरिकको पैसा अहिलेसम्म नदिएको उनको गुनासो छ ।
कहिले के नमिलेको, कहिले खाता हेड अफिसबाट भेरिफाई हुनुपर्ने जस्ता बाहाना बनाएर बैंकले दुःख दिने काम गरेको कार्कीको आरोप छ ।
‘मैले केही सहजिकरण गर्न खोज्दा कहिले के मिलेन भनेर फर्काइदिने, कहिले नागरिकताको फोटोकपी क्लियर भएन भन्ने जस्ता बाहाना बैंकले बनाएको छ’ उनले भने ।
यसो भन्छ नगरपालिका
मन्थली नगरपालिकाले भने ४ महिनाको सामाजिक सुरक्षाभत्ता सम्बन्धित बैंकमा पठाईएको बताएको छ । मंसिर, पौष, माघ र फागुन महिनाको सामाजिक सुरक्षाभत्ता बैंकमा पठाईएको नगरपालिकाका सूचना अधिकारी हेमन्त कुमार बुढाथोकीले बताए ।
‘नगरपालिका भित्रका सबै वडाको एकैपटक पठाएको हो, सुनारपानीको विषयमा सबैको खाता नखुलेको भन्ने आएको थियो, हामीले यसमा सहजिकरण पनि गरेका छौँ’ बुढाथोकीले भने, ‘थप केही गर्नुपर्ने रहेछ भने पनि गर्छौँ ।’