जाँदाजाँदै गोविन्द गुरुङले खुलाए सिभिल बैंकको उत्साहजनक प्रगतिको राज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2021 | 04:40:22 PM मा प्रकाशित

laxmi  sunrise bank

संचालनमा आएको साढे दश बर्ष पुगेको सिभिल बैंकले चालु आर्थिक बर्षको नौ महिनामा उल्लेख्य प्रगति गरेको छ। प्रगतिको मूल कारण ब्याजदरको बिषयमा बैंकहरुबीच कायम भद्र सहमति तोडिनु र खराब कर्जा अनुपात घट्नु रहेको बैंकको सीईओबाट राजिनामा दिएका गोबिन्द गुरुङले बताएका छन् ।

ब्याजदरको बिषयमा बैंकहरुबीच कायम भद्र सहमति तोडीएपछि काम गर्नलाई प्रशस्त मार्ग बनेको गुरुङको भनाई छ। बैंकको सीईओको रुपमा आफ्नो ४ बर्ष कार्यकाल सकिन ३ महिना अगाडी नै राजिनामा दिएका गुरुङले आफ्नो कार्यकालमा बैंकको उपलब्धिबारे सुनाउदै यस्तो बताएका हुन्। भद्र सहमति तोडीएपछि नै सिभिल बैंकले प्रगति गर्ने आधार पाएको उनले बताए

यसैकारण आर्थिक बर्षको ९ महिनाको अवधिमा व्यवसायिक वृद्धिमा सिभिल बैंक बाणिज्य बैंकहरु मध्येमा नै पहिलो बनेको छ भने व्यवसायको आकारमा समेत उल्लेख्य प्रगति गर्न सफल भएको छ।

चैत मसान्तसम्मको तथ्यांक हेर्ने हो भने बाणिज्य बैंकहरुले ४ खर्ब ५४ अर्ब ४ करोड निक्षेप संकलन गरेका छन्, जसमा सिभिल बैंकले मात्रै २७ अर्ब ७६ करोड निक्षेप संकलन गरेको छ। निक्षेप वृद्धिको आधारमा सिभिल बैंक ४६ प्रतिशत सहित बाणिज्य बैंकमै पहिलो स्थानमा पुगेको छ भने निक्षेपको आकारको हिसाबले नवौ स्थानमा रहेको छ।

त्यस्तै नौं महिनाको कर्जा प्रवाहको तथ्यांकलाई हेर्दा पनि सिभिल बैंक प्रतिशतका आधारमा पहिलो स्थानमा छ भने आकारको हिसाबले दशौँ नम्बरमा रहेको छ। यस अवधिमा बाणिज्य बैंकहरुले ६ खर्ब ६८ अर्ब १८ करोड कर्जा प्रवाह गरेकोमा सिभिल बैंक एक्लैले २७ अर्ब ६२ करोड कर्जा प्रवाह गरेको छ। कर्जा प्रवाहको औषत वृद्धि २३ प्रतिशत रहेकोमा सिभिल बैंकको कर्जा वृद्धि ५१.२८ प्रतिशत रहेको छ।

आफुले बैंकको नेतृत्त्व लिंदादेखि नै भद्र सहमति रहेकाले काम गर्न कठिनाई रहेको बताउदै भद्र सहमति तोडिएपछि नै सिभिल बैंकको प्रगतिको मार्ग खुलेको गुरुङले बताए। पछिल्लो साढे ३ बर्ष सधैँजसो बैंकिङ प्रणालीमा तरलता अभावको अवस्था रहेको र त्यस्तो कठिन अवस्थामा पनि ब्याजदरको बिषयलाई लिएर भएको भद्र सहमति ठुलो चुनौती बनेको उनले बताए।

भद्र सहमतिका कारण नबिल, हिमालयन, स्ट्यान्डर्ड चार्टड, एभरेष्ट, एनआईबिएलले जुन ब्याजदरमा काम गरे सिभिल बैंक पनि त्यहि ब्याजदरमा कायम गर्न बाध्य हुनु परेको उनी बताउछन् । नयाँ बैंककोको रुपमा निक्षेपकर्तालाई केहि प्रतिशत बढी ब्याज दिने र ऋणीलाई कम प्रतिशतमा ऋण दिन सकिने ठाउँ नै भद्र सहमतीले बन्द गरिदिएकाले आफ्नो कार्यकालमा यो नै सबैभन्दा ठुलो अन्यायपूर्ण घटना भएको उनले बताए।

भद्र सहमति कै कारण ३५ बर्षदेखि बजारमा संचालनमा रहेको बैंकसंग हिजो भर्खरै खुलेको सिभिल बैंकलाई संगसंगै दौडाउनुपर्ने बाध्यताले गर्दा बैंकलाई सोचेजस्तो स्थानमा पुर्याउन नसकिएको गुरुङले भनाई छ ।

त्यस्तै ४ बर्ष अगाडी देखि नै सिभिल बैंकले भनेजस्तो प्रगति गर्न नसक्नुको दोस्रो कारण बैकको खराब कर्जा अनुपात रहेको गुरुङले बताउछन् । आफ्नो कार्यकालमा सिभिल बैंकलाई भनेजसरी प्रगति दिलाउन नसक्नुमा प्रमुख चुनौती नै बैंकको खराब कर्जा अनुपात रहेको सीईओ गुरुङले बताए। उनका अनुसार खराब कर्जा अनुपात घट्दै जाँदा कर्पोरेट निक्षेपकर्ताले सिभिल बैंकलाई बिश्वास गर्दै गएको र भद्र सहमति टुटेपछि ब्याजदरमा केहि स्पेस प्राप्त भएकाले सिभिल बैंक आजको अवस्थामा पुगेको हो ।

भद्र सहमती टुटेपछि सिभिल बैंकले प्राप्त गरेको प्रगतिले बैंकको संचालक समिति, उच्च व्यवस्थापन तथा कर्मचारी प्रतिस्पर्धी र क्षमतावान रहेको प्रमाणित भएको सीईओ गुरुङले दाबी गरे।

यति मात्र नभई बैंकको संचालक समितिले आफुलाई सीईओ नियुक्ति गर्दा दिएको लक्ष्य आफ्नो कार्यकाल सकिन ३ महिना अगावै हासिल गरेको उनी बताउछन् । आफुले सिभिल बैंकको नेतृत्त्व लिंदा बैंकलाई २०७८ असार मसान्तसम्म ८७ अर्बको निक्षेप र ७४ अर्बको कर्जा परिचालन दिने प्रतिबद्धता जनाएकोमा आफुले यो लक्ष्य कार्यकाल सकिन ३ महिना अगावै लक्ष्य भन्दा बढीको कर्जा प्रवाह गर्न सफल भएको उनी बताउछन् ।  ७४ अर्बको लक्ष्य रहेकोमा ३ महिना अगावै ८१ अर्ब ४५ करोड कर्जा प्रवाह गर्न सफल भएको उनले बताए ।

४ बर्षे कार्यकालमा सिभिल बैंकको प्रगति

२०६७ साल मङ्सिर १० गते संचालनमा आएको सिभिल बैंकमा सीईओं गुरुङले झन्डै साढे ८ बर्ष बिताए. बैंक संचालनमा आएको साढे २ बर्षपछि नै बैंकको डेपुटी चिफ एक्ज्युएटिभको भूमिकामा सिभिल बैंक प्रवेश गरेका गुरुङ २०१७ जुलाई २८ देखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाले। यस अवधिमा सीईओ गुरुङले बैंकलाई नयाँ उचाईमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बैंकको तथ्यांकले देखाउंछ।

४ बर्ष अगाडी खराब कर्जा अनुपात ४.६६ प्रतिशत रहेकोमा सीईओ गुरुङले बैंक छाड्दै गर्दा यो अनुपात १.१३ प्रतिशतमा ओर्लिएको छ भने बैंकका सेयरधनीलाई दिने प्रतिफल भने उकालो लागेको छ। २०७३ चैत मसान्तमा ४ अर्ब ५८ करोड चुक्तापुंजी रहेकोमा २०७७ चैत मसान्तसम्म बैंकको चुक्तापुंजी ८ अर्ब ६४ करोड पुगेको छ। तर बैंकको चुक्तापुंजी वृद्धि हुँदै गर्दा बैंकले सेयरधनीलाई दिने प्रतिफलमा समेत वृद्धि हुँदै आएको छ।

४ बर्ष अगाडी २०७४ सालमा सिभिल बैंकले १०.२५ प्रतिशत लाभांश दिएपनि त्यसमा नियमित नाफाबाट दिईएको लाभांश मात्र २.८९  प्रतिशत थियो। बाँकि लाभांश मर्जरबाट आएको क्यापिटल गेनबाट प्रदान गरिएको थियो।  लाभांशको अनुपात २.८९  प्रतिशत हुँदै २०७५ सालमा ४.०५ प्रतिशत, २०७६ सालमा ६.५७ प्रतिशत, २०७७ सालमा ८.४२ प्रतिशत पुगेको छ। यस आर्थिक बर्ष प्रतिफल डबल डिजिटमा हुने अवस्थामा पुगेको छ।

त्यस्तै २०७३ सालमा बैंकको निक्षेपको आकार ३३ अर्ब ८१ करोड र कर्जा प्रवाह २९ अर्ब ८१ करोड रहेकोमा २०७७ चैत मसान्तसम्म निक्षेपको आकार ८७ अर्ब ९० करोड र कर्जा प्रवाहको आकार ८१ अर्ब ४५ करोड पुगेको छ. प्रतिशतमा हेर्ने हो भने निक्षेप १५९ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १७३ प्रतिशतले बढेको छ।

यस अवधिमा ग्राहकको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ। २०७३ चैत मसान्तमा १ लाख ३५ हजार ५०० खाता रहेकोमा २०७७ चैत मसान्तसम्ममा यो संख्या बढेर ५ लाख ७६ हजार ८५० पुगेको छ। त्यस्तै मोबाइल बैंकिङका प्रयोगकर्ता समेत १५ हजारबाट बढेर २ लाख ३५ हजार १०० पुगेको छ। ग्राहक संख्या बढेसंगै डेबिट कार्डका प्रयोगकर्ता समेत ४८०० बाट बढेर १ लाख १७ हजार ९०० पुगेको छ।

यस अवधिमा बैंकको व्यवसायको आकारसंगै बैंक आफैं पनि धेरै विस्तार भएको छ। २०७३ चैत मसान्तमा शाखा संख्या ५१, एटिएम सख्या ३६ र एक वटा एक्स्टेन्सन काउन्टर रहेकोमा २०७७ चैत मसान्तसम्म आइपुग्दा बैंकको संख्या संख्या ११४, एटिएम संख्या ८६, र ८ वटा एक्स्टेन्सन काउन्टर पुगेको छ।

बैंकलाई नयाँ उचाईमा पुर्याएको बेला कार्यकाल निरन्तरता नदिएर बिदेशी बैंकको सीईओ बन्ने निर्णय किन लिएको भन्ने प्रश्नमा गुरुङले बैंकले नयाँ उचाई लिएको हेर्ने इच्छा पुरा भएको र बैंकको नेतृत्त्व यस्तै बेला अरुलाई सुम्पिनु पर्ने आफ्नो धारणा रहेको बताए। सिभिल बैंकको सीईओ पदबाट गुरुङले दिएको राजिनामा बैंक संचालक समितिले स्वीकृत गरिसकेको छ भने गुरुङ म्यानम्यारको सिटिजन्स बैंकको सीईओ नियुक्त भईसकेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved