हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच आज मर्जर सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2021 | 09:45:07 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार दिनभरमा थप केहि समस्या नदेखिए आज दिउँसो नै हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक बीच मर्जर हुने भएको छ। बिहिबार ठमेल स्थित छायाँ कम्प्लेक्समा रहेको अलफ्ट होटेलमा दिउँसो ३ बजे मर्जर सम्झौता गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

दुवै बैंकको संचालक समितिको बैठकले मर्जरमा जाने निर्णय गरिसकेको छ । दुवै बैंकले १:१ को स्वापमा मर्जमा जाने तयारी गरेका हुन् । मर्जरपछि बन्ने बैंकको अध्यक्षमा हाल नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी पाँडे हुने सहमति भएको छ भने हिमालयन बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अशोक राणा सीईओ हुने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे डेपुटी सीइओ हुने छन् ।

यस अघि मर्जरपछि बन्ने बैंकमा  मुख्य कार्यकारी अधिकृत र प्रमुख कार्यकारी अधिकृत गरि २ सीइओ राख्ने बारे बैंकमा छलफल भएको थियो । तर राष्ट्र बैंकले त्यस्तो नहुने मौखिक जानकारी गराएपछि एक जना सीइओ र एक जना डेपुटी सीइओ हुने गरि सहमति भएको हो । 

दुई दशकदेखि हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका अशोक राणा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेका साला हुन्। पाण्डेका ससुरा हिमालय शम्शेर राणा हिमालयन बैंकमा अहिले पनि संचालक समितिको प्रमुख सल्लाहकारका रूपमा छन्। 

जिम्मेवारीको हिसाबले मात्र नभई सेयर स्वामित्वमा पनि पाण्डे र राणाको परिवारको दबदबा रहेको छ। हिमालयन बैंकमा सबै भन्दा बढी पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर स्वामित्व रहेको छ भने त्यसपछि कर्मचारी संचय कोषको १४ प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी ५१ प्रतिशत सेयरमा पाण्डे र राणा परिवारको हिस्सा धेरै छ। 

५१ प्रतिशत सेयर मध्ये हिमालय शमशेर राणाको लगानी रहेको आभा इन्टरनेशनल कम्पनीको ११.३८ प्रतिशत सेयर रहेको छ। त्यसो त आभा इन्टरनेशनलको धेरै हिस्सा सेयर शशीकान्त अग्रवालको हातमा पुगेको छ भने केहि सेयर एनसेलका स्थानीय साझेदार सतिशलाल आचार्यको रहेको छ। 

हिमालयन बैंकको ५१ प्रतिशत सेयर मध्ये संस्थापक भीमबहादुर पाँडे र पृथ्वीबहादुर पाँडेको परिवारको लगानी रहेको छायाँ इन्टरनेशनलको ८.८९ प्रतिशत सेयर छ। छायाँ इन्टरनेशनलमा पनि शशिकान्त अग्रवाल, मनोजबहादुर श्रेष्ठ र उनका आफन्तको  सेयर रहेको छ। 

त्यस्तै हिमालयन बैंकको ५१ प्रतिशत  सेयर मध्ये १२.७१ प्रतिशत सेयर रहेको एन ट्रेडिङमा मनोजबहादुर श्रेष्ठ र उनका भाई प्रचण्डबहादुर श्रेष्ठको लगानी छ भने शशी कान्त अग्रवालको आफ्नै नाममा समेत २.६५ प्रतिशत सेयर रहेको छ। 

यता नेपाल इन्भेष्टमेन्ट बैंकमा राष्ट्रिय बीमा कम्पनी र महालक्ष्मी इन्भेष्टमेन्ट कम्पनी पछि धेरै सेयर बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेको कम्पनी छायाँ इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको रहेको छ। 

पाण्डेपछि इन्भेष्टमेन्ट बैंकमा पनि शशिकान्त अग्रवालको सेयर हिस्सा धेरै छ। अग्रवालले इन्भेष्टमेन्ट बैंकमा आधा दर्जन कम्पनीमार्फत १० प्रतिशतभन्दा माथि सेयर होल्ड गर्छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved