सामाजिक सुरक्षा कोषले दबाब दिएको भन्दै आन्दोलन गर्ने वित्तीय संस्था कर्मचारी संघको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2021 | 07:59:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वित्तीय संस्था कर्मचारी संघले सामाजिक सुरक्षा कोष बिरुद्द आन्दोलन गर्ने चेतावनी दिएको छ । कोषमा आवद्द हुने विषयमा संघको सुझावलाई बेवास्ता गरी एकलौटी ढङ्गबाट अघि बढेमा संघसंग आबद्ध सम्पूर्ण प्रतिष्ठानस्तरको ट्रेड युनियनहरु तथा वित्तीय क्षेत्रका कर्मचारीहरुको सहभागितामा आन्दोलनका कार्यक्रमहरु गर्ने चेतावनी दिएको हो।  

विगत देखि नै राम्रो र आकर्षक सामाजिक सुरक्षा पाईरहेका बैंक, बीमा तथा वित्तीय क्षेत्रका संस्था र त्यहाँका कर्मचारीहरुलाई कोषमा आवद्द हुन दबाब दिएको भन्दै संघल  आपत्ति जनाएको हो । नेपाल सरकारको ऐन नियमहरुको पूर्ण पालनागरी नियमनकारी निकायको नीति निर्देशन अनुरुप व्यवसायिक, पारदर्शी र अनुशासित रुपमा सञ्चालित बैंक, बीमा तथा वित्तीय संस्था तथा संस्थाका कर्मचारीहरुलाई उनीहरुको खाईपाई आएका सेवासुविधाहरु कटौती हुनेगरी जबरजस्ती सामाजिक सुरक्षा योजनामा सरिक गराउने कोषको अनुचित दवाब प्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।  

कोषले हालसम्म गरेको दाबी भुक्तानी  झाराटार्ने खालको मात्र रहेको संघले दाबी गरेको छ । संघले भनेको छ 'कोषको तथ्याङ्कलाई आधारमान्दा कोषमा हालसम्म कोषले २४१७ लाभग्राहीलाई ९ करोड १६ लाख र दाबी भुक्तानी संख्या (पटक) ३७६६ पटकगरी जम्मा ९ करोड १६ लाख भुक्तानी गरेको देखिन्छ । यसको आधारमा हेर्दा प्रति लाभग्राही रु.३७,८९८÷२२ र प्रतिदाबी रु. २४,३२२÷८९ पैसा भुक्तानी भएको देखिन्छ । यो आँकडालाई हेर्दा कोषले प्रदान गर्ने दाबी भुक्तानी पनि झाराटार्ने खालको मात्र रहेछ भने प्रष्ट हुदैन र !?' 

 कोभिड महामारीको कारणले बैक तथा वित्तीय क्षेत्र संकटमा परेको अवस्थामा कोषमा सूचिकृत हुनुपर्ने दबावले आलो घाउमा नून चुक दल्न नलागी समय परिस्थिती अनुकूल भएमा आपसी छलफल र सहमतिमा विद्यमान व्यवस्थाहरु परिमार्जन गरी अगाडि बढ्न संघले आग्रह गरेको छ । 

संघले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र वित्तीय क्षेत्रमा यसको प्रभावका विषयमा पटक–पटक सामाजिक सुरक्षा कोष तथा सम्बन्धित सरोकारवाला निकायहरुसंग छलफल गरी यस योजनामा जो सामाजिक सुरक्षाबाट वञ्चित छन्, त्यस्ता श्रमिकवर्गहरुलाई समेटी अघि बढ्न र मौजुदा अवस्थामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले खाईपाई आएका सुविधाहरु नघट्ने गरी वित्तीय क्षेत्रका कर्मचारीहरुलाई समेत यस योजनामा स्वेच्छिक रुपमा सहभागी गराउन पटक–पटक ध्यानाकर्षण गराईएको संघले पुनः स्मरण गराएको छ।

महामारीको कारणले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न गएको वर्तमान अवस्थामा बेमौसमको बाजा बजाएर बैक, बीमा तथा वित्तीय संस्थाहरुलाई सामाजिक सुरक्षा कोषको गतिविधीका विरुद्धमा आन्दोलनमा जाने अवस्थाको सृजना नगर्न बेलैमा सचेत रहन संघले आग्रह गरेको छ ।  

संघको सुझावलाई बेवास्ता गरी एकलौटी ढङ्गबाट अघि बढेमा संघसंग आबद्ध सम्पूर्ण प्रतिष्ठानस्तरको ट्रेड युनियनहरु तथा वित्तीय क्षेत्रका कर्मचारीहरुको सहभागितामा आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने र सोबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुने चेतावनी संघले दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved