मेगा र बिओकेको मर्जर चर्चा कति आधिकारीक ? सेयर मुल्यमा कस्तो असर पर्न सक्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2021 | 10:34:05 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बजेट मार्फत नै बैंकहरुबीचको मर्जरलाई प्राथमिकतामा राखेपछि पछिल्लो समय कमर्शियल बैंकहरुबीच फेरी मर्जरको प्रसंग सुरु हुन थालेको छ। यसअगाडी निवर्तमान गभर्नर डा. चिरिन्जीवी नेपालले मर्जरलाई तिब्रता दिँदा जसरी बैंकहरुमा मर्जरको बिषयलाई लिएर चर्चा सुरु भएको थियो त्यसैगरि अहिले फेरी यस्तो प्रसंग सुरु हुन थालेको हो। 

बजेटको मर्म सम्बोधन हुनेगरी नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा केहि व्यवस्था गर्ने संकेत पाएसंगै पछिल्लो समय मेगा बैंक र बैंक अफ काठमाण्डू बिओकेबीच मर्जरको प्रसंग चलेको छ। 

आफ्नो संचालक समिति, व्यवस्थापन, ब्राण्ड, लोगो र स्वापमा सम्झौता नगर्ने अडान लिंदै आएको मेगा बैंकले यहि अडान सम्बोधन हुन सक्ने बुझेपछि बिओकेसँग मर्जरको प्रकृया सुरु गरेको बैंक स्रोतले जनाएको छ। 

स्रोतकाअनुसार मर्जरको प्रकृया भन्दा पनि करिब महिनादिन अगाडी प्रसंग मात्र चलेको हो तर मर्जरकै लागि भनेर अहिलेसम्म एक पटक पनि कुनै पनि औपचारिक छलफल भएको छैन। प्रसंगमात्र चलेको भएपनि यी दुई बैंकबीचको मर्जरलाई नकार्न सकिदैन। 

स्थापनाको हिसाबले बिओके पुरानो र जेठो भएपनि व्यवसायको वृद्धि, प्रतिफलको दर तथा वित्तीय सूचकमा मेगा बैंक अव्वल रहेकाले मेगा बैंकले स्वापमा आफु तल भएर तथा आफ्नो अडान छोडेर कोहिसँग पनि मर्जरमा नजाने स्रोतको दाबी छ। 

मेगा बैंक जस्तै चुस्त व्यवस्थापन र काम गर्ने शैली मिलेकाले बिओकेसँग प्रसंग अगाडी बढेको हो। यदि मर्जर भयो भने मर्जर पछि बन्ने बैंकको नाम मेगा बैंक अफ काठमान्डू रहने र संचालक समिति, व्यवस्थापन तथा स्वाप अनुपातमा समान हैसियत हुनेछ। 

व्यवस्थापनको नेतृत्त्व कसले गर्ने भन्ने बिषयमा पनि कुनै इस्यु नहुने र संचालक समितिको नेतृत्त्वमा पनि सहमति जुट्ने भएकाले नै मेगा र बिओकेबीच मर्जरको प्रसंग सुरु भएको हो। 

प्रकृया अगाडी बढ्छ वा केहि समयलाई थाति रहन्छ भन्ने कुरा मौद्रिक नीतिले निर्धारण गर्ने छ। बजेटमा नै बैंक बैंकबीचको, विकास बैंक विकास बैंक र फाइनान्स र फाइनान्सबीचको मर्जरलाई प्राथमिकतामा राखिएकाले यस पटकको मौद्रिक नीतिमा  मर्जरमा जानेका लागि त्यसैगरि सुविधा, सहुलियत र छुटको व्यवस्था हुने अपेक्षा रहेको बैंक स्रोतको भनाई छ।    

यी दुई बैकबीचको मर्जरको बिषयले दुवै बैंकको सेयर मुल्यमा तात्विक भिन्नता नहुने बैंक स्रोतको विश्वास छ।  दुवै बैकको सेयर मुल्य उस्तै रहेको र मर्ज हुँदा पनि समान स्वापमा हुने भएकाले सेयर मुल्यमा तात्विक भिन्नता नहुने उनको दाबी छ।  सेयरको दोस्रो बजारमा पनि पछिल्लो समय अर्थात असार ११ गतेको कारोबार मुल्य मेगा बैंकको प्रति सेयर ३५९ रुपैयाँ रहेको छ भने बिओकेको ३७० रुपैयाँ रहेको छ।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved