कृषि र पर्यटनको ऋण घरजग्गामा गएको आशंका, छानविन गर्दै राष्ट्र बैंक

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 30, 2021 | 01:47:41 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल क्षेत्र ठप्प प्रायः हुँदा पनि ऋण प्रवाह भने उल्लेख्य मात्रामा भएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को बैशाखसम्म होटेल तथा पर्यटन क्षेत्रमा २५ अर्ब ७३ करोड रुपैयाँ ऋण थपिएको छ । 

२०७६ चैत्र ११ देखिको २०७७ भदौ सम्मको लकडाउन र त्यसपछि विस्तारै पूर्ववत् अवस्थामा फर्किन खोजिरहेको समयमा २०७८ बैशाख १६ बाट भएको निषेधाज्ञाले होटल तथा पर्यटन क्षेत्र ठप्प छ । तर, पनि होटल र पर्यटन क्षेत्रकै नाममा बैंकहरुको ऋण लगानी भने बढिरहेको छ ।

जेठमा भएको लगानीको एकमुष्ठ विवरण भने तयार हुँदैछ । जेठमा पनि होटल तथा पर्यटन क्षेत्रमा बैंकहरुले थप लगानी गरेका छन् ।

कृषिमा पनि कर्जा प्रवाह भईरहेको छ । चालु आर्थिक वर्षको १० महिनामा कृषिमा ८६ अर्ब ५३ करोड लगानी बढेको छ । तर, यति धेरै रकम कृषिमा लगानी भएको देखिएपनि यसले कृषि उत्पादन बढाएको नदेखिएकोमा राष्ट्र बैंकको चिन्ता छ ।

कहाँ भयो लगानी ?

तर, होटल तथा पर्यटन क्षेत्र र कृषिमा भएको देखिएको लगानी शीर्षक नुसार खर्च भयो कि भएन भनेर राष्ट्र बैंकले अनुसन्धान सुरु गरेको छ । होटल तथा पर्यटन क्षेत्र बन्द हुँदा पनि भईरहेको लगानी अन्यत्र खर्च भईरहेको आशंका गर्दै राष्ट्र बैंकले अनुसन्धान थालेको थियो ।

राष्ट्र बैंकले होटल र कृषि क्षेत्रमा लगानी गर्ने भनेर प्रवाह भएको ऋण घर जग्गामा लगानी भईरहेको निष्कर्ष पनि निकालेको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिका लागि राष्ट्र बैंकले असार १३ गते आइतबार राखेको छलफलमा पनि बैंकर्सहरुसँग यसबारे जिज्ञासा राखेको थियो ।

राष्ट्र बैंकका प्रवक्तासमेत रहेका कार्यकारी निर्देशक एवम् नियमन विभागका प्रमुख देव कुमार ढकालले भने ‘स्फेसिफिक’ विषयमा कुनै अनुसन्धान नभएको दाबी गरेका छन् । तर, सहुलियतपूर्ण कर्जाको लगानीको अवस्था कस्तो छ भन्नेबारे ‘ओभरल’ हेरिएको उनको भनाई छ । अध्ययनको निष्कर्ष आईनसकेको उनले दाबी गरेका छन् । 

राष्ट्र बैंकले माग्यो ऋणीको विवरण

मौद्रिक नीति बारेको छलफलमा राष्ट्र बैंकका एक अधिकारीले बैंकर्सहरुलाई ‘कर्जाको गलत प्रयोग भईरहेको छ, यो वित्तीय क्षेत्रको ठूलो विकृति हो, तपाईहरु कसरी नियन्त्रण गर्नुहुन्छ ?’ भनेर सोधेका थिए । 

यति मात्रै नभई उद्योगधन्दा र सेवा क्षेत्र बन्द हुँदा पनि बैंकहरुबाट धमाधम ऋण प्रवाह भईरहेको विषयमा पनि राष्ट्र बैंकले जिज्ञासा राखेको बताईएको छ । बैंक तथा वित्तीय संस्थाहरुले जथाभावी कर्जा प्रवाह गर्दा वित्तीय स्थायित्वमा चूनौति थपिएको निष्कर्ष निकाल्दै राष्ट्र बैंकले ५० लाखभन्दा बढी ऋण लिएका ऋणीहरुको विवरण माग गरेको छ ।

कर्जाको गुणस्तर मापन गर्नैपर्ने निष्कर्षसहित राष्ट्र बैंकले ५० लाखभन्दा माथि ऋण लिएका ऋणीहरुको विवरणले वास्तविक तथ्य नआउने देखेपछि बैंक तथा वित्तीय संस्थासँग २५ लाखभन्दा माथि ऋण लिएका ग्राहकको विवरण झिकाउने भएको छ ।

ठूलो रकम ऋण लिएकाहरुको विवरण राष्ट्र बैंकले सूची नै बनाएर प्रकाशित गर्ने गरेको भएपनि पछिल्ला केही वर्षमा भने बैंकहरुले सूची बनाउन छोडेका थिए । तर, ऋणको गलत ठाउँमा प्रयोग भएको निष्कर्ष निकालेपछि राष्ट्र बैंकले २५ लाखभन्दा बढी ऋण लिने ऋणीहरुको विवरण मागेको स्रोतले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved