एनआईसीको नयाँ योजना: 'एउटै खाताबाट २४ वटा फाईदा '

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2021 | 08:58:34 PM मा प्रकाशित

laxmi  sunrise bank

 एन आई सी एशिया बैंक NIC Asia Bank Limited  ले २४ औँ वार्षिकोत्सवको अवसरमा “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्राहकलाई उच्च प्रतिफलको साथमा ३ बीमा सम्बन्धी सुरक्षाका फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू तथा १८ अन्य फाइदाहरू समावेश रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकले रू.२१ लाखसम्मको ३ प्रकारका बीमा सुविधा प्राप्त गर्न सक्ने छन्। जसअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रू.१० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि रू. १० लाखसम्मको बीमा सुविधा र रू. १ लाखसम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सक्ने छन्। औषधी उपचार बीमा अन्तर्गत बैंकले ग्राहकलाई बहिरंग (इएम्) उपचारमा रू. २० हजारसम्म र अस्पताल भर्ना वापत रू. ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्ने जनाएको छ । उल्लेखित बीमा सुविधाहरू बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा खातावाललाई प्रदान गर्ने बताईएको छ ।

बैंकले २० चैत्र २०७५ देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस अघिका बचत खाताहरूमा प्रदान गरेको बीमा सुविधालाई यस बचत योजनामा समेत उक्त योजनालाई निरन्तरता दिइएको बैंकले उल्लेख गरेको छ । 

बैंकको यस बचत खाताले ग्राहकहरूको बचतमा उच्चतम प्रतिफल मात्रै नभएर भविष्यमा आइपर्ने भवितव्यको लागि वित्तीय जोहो गर्न समेत महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको जनाएको छ । साथै, सर्वश्रेष्ठ बचत खाता भएका ग्राहकले ३ कर्जा सम्बन्धी फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

बैंकका अनुसार बीमा तथा कर्जा सम्बन्धी सर्वाधिक फाइदाहरूका साथसाथै १८ अन्य सर्वाधिक फाइदाहरू सर्वश्रेष्ठ बचत खातामा समाविष्ट गरिएको छ । जस अन्तर्गत ५ वर्षसम्म निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग सुविधा उपलब्ध गराएको छ।  यस्तो फाइदा नेपालको बैंकिङ्ग इतिहासमै सम्भवतः पहिलो भएको बैंकले दाबी गरेको छ ।

यसका साथै सर्वश्रेष्ठ बचत खातामा रू.५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर तथा लकरको मार्जिन शुल्कमा शतप्रतिशत छुट सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएम बाट रकम झिक्दा शुल्क नलाग्ने, Portfolio Management Service  मा ५०% छुट लगायतका फाइदाहरू रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस योजनामा स्विप इन–स्विप आउट सुविधा समेत रहेको छ ।  जसअन्तर्गत बैंकले सर्वश्रेष्ठ बचत खातामा रू २००,००० भन्दा बढी रकम भएमा उक्त बढी रकमलाई रू १०,००० ले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुने र सो रकममा १०.१०% सम्मको ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । बैंकका अनुसार यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिन्छ । 

ग्राहकले आफू अनुकूल हुने र इच्छाइएको रकम बचत गर्नका लागि गुडविल एम्बेसडर, प्राइड  र पार्टनर गरी तीन श्रेणीका सर्वश्रेष्ठ बचत खाता योजनाहरू मध्ये कुनै पनि खाता खोल्न सक्ने व्यवस्था बैंकले गरेको छ । उल्लेखित तीनै श्रेणीका बचत खाताहरू अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालय मार्फत खोल्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार यी तीनै श्रेणीका खाताहरूमा वार्षिक ८.१० % ब्याजदर प्राप्त हुनेछ भने गुडविल एम्बेसडर श्रेणीको बचत खाताहरूमा अति विशिष्ट सुविधाहरू प्रदान गरिनेछ । गुडविल एम्बेसडर श्रेणीको बचत खाताहरूमा उपलब्ध उल्लेखित २४ विभिन्न सुविधाहरूलाई मौद्रिक मूल्यमा गणना गर्दा एक पटक खाता खोलिसकेपछि ग्राहक महानुभावहरूले न्यूनतम रू. ३ लाख ३६ हजार भन्दा बढीको फाइदा प्राप्त गर्न सकिने प्रक्षेपण बैंकले गरेको छ । 

योजना अन्तर्गत ५५ वर्ष पुगेका ग्राहकले सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता खोली पेन्सनको आधारमा कर्जा सुविधा र होम बैंकिङ्ग सुविधा समेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको बैंकले उल्लेख गरेको छ । त्यसैगरी सन्तानको उज्वल भविष्यका लागि आमाबुवाले आफ्ना छोराछोरीका नाममा सर्वश्रेष्ठ बाबु नानी बचत खाता खोल्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । सर्वश्रेष्ठ बचत योजना अन्तर्गत माथि उल्लेखित बाहेक सर्वश्रेष्ठ नारी बचत खाता, सर्वश्रेष्ठ तलब बचत खाता, सर्वश्रेष्ठ सहज बचत खाता, सर्वश्रेष्ठ विद्यार्थी बचत खाता, सर्वश्रेष्ठ स्वरोजगार बचत खाता र सर्वश्रेष्ठ मासिक निक्षेप खाता रहेको बैंकले जनाएको छ।

बैंकले सर्वश्रेष्ठ बचत खातासँगै १ वर्षदेखि १० वर्षसम्मको सर्वश्रेष्ठ मुद्दती निक्षेप योजना समेत रहेको छ जसमा वार्षिक ११.१०% सम्मको आकर्षक ब्याजदर सुविधा प्रदान गर्ने छ । साथै सर्वश्रेष्ठ मासिक निक्षेप खाता अन्तर्गत एन आई सी एशिया बैंकका ग्राहकले जम्मा गरेको रकममा ११.१० % सम्मको ब्याजदर प्राप्त गर्ने गरी मासिक निक्षेप खातामा रकम स्थानान्तरण गर्न सकिने व्यवस्था गरेको छ । ग्राहकले आफ्नो बचत खाताबाट हरेक महिना कति रकम मासिक निक्षेप खातामा स्थानान्तरण गर्ने भन्ने जानकारी बैंकको शाखामा गएर निर्देशन दिनु पर्ने र स्थानान्तरण गरिने रकम रू ५०० का दरले गुणन गरेर हुन आउने रकम (जस्तै रू ५००, रू १०००, रू १५०० आदिको अनुपातमा) तय गर्नुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । मासिक निक्षेप खाता ३ महिना देखि १० वर्षसम्मको लागि खोल्न सकिने साथै ग्राहक महानुभावहरूले चाहेको समयमा आफैले मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग प्रयोग गरी थप रकम मासिक निक्षेप खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको बैंकले उल्लेख गरेको छ।  

बैंकले ३५६ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved