तरलता सहज पार्न बिहिबार २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2021 | 02:08:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बिहीबार रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले आगामी मङ्सिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।

बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैंकले यसअघि यही महिनामा दुईपटक रिपो जारी गरिसकेको छ । बिहीबार जारी हुने रिपोसहित अब रु ५० अर्ब बराबरको रकम वित्तीय प्रणालीमा प्रवाह हुनेछ ।

बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा तथा निक्षेप लगानीमा चाप परेको छ । केही बैंक थप ऋण दिनसमेत नसक्ने अवस्थामा पुगेका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकको कर्जा निक्षेप अनुपात ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरेसँगै यसको व्यवस्थापनमा समेत बैंकहरूलाई कठिन परेको छ । केन्द्रीय बैंकको पछिल्लो विवरणअनुसार औषत कर्जा निक्षेप अनुपात ८९ दशमलव ८७ प्रतिशत छ ।

चालु आर्थिक वर्षको सुरुआतमा सोचेअनुरुप विप्रेषण प्रवाह नहुनु, आयात बढ्दा बाह्य क्षेत्रमा दबाब पर्नु तथा समयमै सरकारी खर्च नहुँदा वित्त प्रणालीमा तरलताको चाप परेको हो ।

बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्ने गर्दछन् । बैंक तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुनसकेको छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved