
 2mb (1).gif)
नेपाल राष्ट्र बैंकले तरलता प्रवाहका लागि यो एक हप्ताभित्र ५२ अर्ब रुपैयाँ बैंकिंङ प्रणालीमा पठाउने भएको छ। आर्थिक पत्रकारहरुसँगको अन्तरकृयामा राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकालले यस्तो बताएका हुन्।
उनका अनुसार नेपाल राष्ट्र बैंकले पुष ६ गतेमात्रै ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको छ। जसमध्ये ५२ अर्ब रुपैयाँ यहि साताभित्र र बाँकी ४० अर्ब रुपैयाँ यहि महिनाभित्र बैंकिंङ प्रणालीमा आउनेछ।
यो ९२ अर्ब रुपैयाँ प्रकृया तथा रित पुर्याएर नै स्वीकृत भएको पुनर्कर्जा भएको ढकालले बताए। उनका अनुसार यो पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा उपलब्ध गराइन्छ। बैंक तथा वित्तीय संस्थाहरुले ग्राहक पहिचान गरी उनीहरुलाई यो कर्जा उपलब्ध गराउँछन । यस्रतो कर्जाको सिमा अधिकतम ५ करोड रुपैयाँसम्मको हुन्छ।
त्यस्तै केहि अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जाको रुपमा बैंकिंङ प्रणालीमा जाने भएकाले करिब १ खर्ब रुपैया बराबरको रकम बैंकिंङ प्रणालीमा जाने ढकालले बताए। यसले तरलता व्यवस्थापनमा केहि सहज हुने उनको भनाई छ।