मर्जर प्रस्ताव पारित नहुने भएपछि अर्थमन्त्रालयको सहारा खोज्दै हिमालयन बैंकका संचालक र सीईओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2022 | 11:20:46 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रकृया झनै जटिल अवस्थामा पुगेको छ। कर्मचारी संचय कोषले पछिल्लो समय राखेको अडानका कारण मर्जर प्रकृया जटिल अवस्थामा पुगेको हो। 

मर्जरका लागि भनेर गरिएको ड्यू डेलिजेन्स रिपोर्ट ‘डीडीए’ मा कर्मचारी संचय कोषको विज्ञको टोलिले कैफियत भेटेपछि कोषले पुन डीडीए गर्नुपर्ने माग राख्दै बैकको संचालक समिति, दुवै बैंकको मर्जर कमिटि, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको थियो। 

कोषले अध्ययन समितिले गरेको प्रतिवेदन मात्रै नभई कोषको संचालक समितिले गरेको निर्णय समेत बैकको संचालक समिति, दुवै बैंकको मर्जर कमिटि, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई बुझाएको छ।

कर्मचारी संचय कोषले विज्ञ मार्फत गराएको अध्ययनमा नेपाल इन्भेष्टमेन्ट बैंकको सम्पत्तिको उच्च मूल्याङकन भएको, कर दायित्वको प्रोभिजनिङ नगरेको, तथा डिस्काउन्टिङ फ्याक्टर गणना गर्दा समान प्रतिशतले नगरेको देखाएको थियो।

हिमालयन बैंकमा हबिब बैंक पछि सबैभन्दा बढी सेयर स्वामित्व रहेको कर्मचारी संचय कोषले पनि अहिले मर्जरमा जाँदा प्रति कित्ता २२ रुपैयाँ घाटा हुने भन्दै पुन डीडीए गर्नुपर्ने माग बैंकको बोर्डमा राखेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकसँग अहिलेकै अवस्थामा मर्जरमा जाँदा हिमालयन बैंकलाई प्रति कित्ता २२ रुपैयाँ घाटा हुने ब्योहोरा नेपाल राष्ट्र बैंकलाई समेत जानकारी गराइएको स्रोतले जनाएको छ। 

यो पनि: हिमालयन बैंकका ३६ प्रतिशत सेयरधनी इन्भेष्टमेन्टसँग मर्जरमा जान असहमत, बुझाए नयाँ स्वाप रेसियो

कर्मचारी संचय कोषले डेढ बर्ष अगाडी गरिएको सम्पत्ति दायित्व मूल्यांकन खारेज गरी फेरी सम्पत्ति दायित्व मूल्यांकन गर्न आग्रह गर्दै नेपाल राष्ट्र बैंकलाई बोधार्थ गरेर यहि पुष ३ गते बैंकको संचालक समितिमा पत्र पठाएको हो।       

तर संचय कोषको मागलाई बैंक संचालक समिति, मर्जर कमिटि र राष्ट्र बैंक मार्फत सम्बोधन गराउनुपर्नेमा कोषको माग उल्ट्याउन इन्भेष्टमेन्ट बैंकसँग जसरी पनि मर्जरमा जानुपर्छ भन्ने हिमालयन बैंकको संचालक समिति र प्रमुख कार्यकारी अधिकृत अर्थमन्त्रालय धाउन थालेकाले मर्जर प्रकृया झनै जटिल अवस्थामा पुगेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा र अहिलेकै अवस्थामा मर्जरमा जानुपर्छ भन्ने मान्यता राख्ने संचालक समिति सदस्य सुनिल थापा, विजयबाहादुर श्रेष्ठ र असिस सर्मा कोषको निर्णय उल्ट्याउन अर्थमन्त्रालय धाउन थालेको स्रोतले जनाएको छ। 

कर्मचारी संचय कोषको अडानले मर्जर प्रस्ताव पारित नहुने भएकाले यो समुह कोषको निर्णय उल्ट्याउन अर्थ गुहारेको हो। नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव विशेष प्रस्ताव भएकाले प्रस्ताव पारित हुनलाई र प्रस्तावले कानुनी मान्यता पाउनलाई कम्तिमा ७५ प्रतिशत सेयरधनीहरु सहमत हुनुपर्दछ। 

अहिलेकै अवस्थामा इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जानु हुदैन भन्ने अडान राख्दै आएका हिमालयन बैंकमा हालका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ समहुको करिब २२ प्रतिशत लगानी रहेको छ भने कर्मचारी सञ्चयकोषको १४.८५ प्रतिशत हिस्सा रहेको छ।

कर्मचारी सञ्चयकोषले अगाडी सारेको माग विपरित इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाँदा हिमालयन बैंकका सेयरधनीलाई प्रति कित्ता २२ रुपैयाँ घाटा हुने भएकाले घाटा हुँदाहुँदै मर्जरमा गएकाले अख्तियार समेत आकर्षण हुने सम्भावना देखिएको छ। अर्थमन्त्रालयका राजस्व सचिव अध्यक्ष रहेको कोषमा मन्त्रालयकै वित्तीय महाशाखा प्रमूख सहसचिव सञ्चालकको रुपमा छन्। 

यो पनि:
हिमालयन बैंकका संचालकसँग मागियो मर्जरबारे आधिकारीक धारणा, संचय कोषलाई अख्तियारको डर
यी ५ विषय समाधान नभएसम्म हिमालयन र एनआईबिएलको मर्जर असम्भव
5 root causes of Uncertainty over the merger of Himalayan and Nepal Investment Bank

हिमालयन बैंककै केहि सञ्चालक तथा उच्च व्यवस्थापनले सम्पत्तिको न्यून मूल्याङकन गरेर इन्भेष्टमेन्ट बैंकसंग मर्जरमा जानै पर्ने अडानले स्वार्थ रहेको देखाउने भएकाले पनि सकेसम्म अर्थको साथ लिएर मर्जरमा जाँदा भविष्यमा अख्तियार लगायतका निकायबाट बच्न सकिने अशोक राणा समुहको बुझाई देखिन्छ। 

हिमालयन बैंकका सञ्चालकहरु सुनिल थापा, विजयबाहादुर श्रेष्ठ र असिस सर्मा तथा २० प्रतिशत सेयर स्वामित्व भएको हबिब बैंक अहिलेकै अवस्थामा मर्जरमा जानु पर्छ भन्ने पक्षमा छन्। यी व्यक्तिहरु हिमालयन बैंकको मर्जर कमिटिमा मात्र नभई संयुक्त मर्जर समितिमा पनि छन् ।

सुनिल बाहादुर थापा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेका साढु भाई तथा हिमालयन बैंकका प्रमूख कार्यकारी अधिकृत अशोक राणाका भिनाजु हुन्। दुबै बैंकमा सुनिल बहादुरको प्रत्यक्ष–अप्रत्यक्ष लगानी रहेको छ। त्यसैगरी सर्वसाधारण समुहका सञ्चालक विजय बहादुर श्रेष्ठसँग पनि दुबै बैंकको सेयरमा लगानी रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved