राष्ट्र बैंकले भन्यो 'तरलतामा चापको स्थिति कायमै रहन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2022 | 08:00:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले तरलतामा चापको स्थिति कायमै रहने अवस्था देखिएको जनाएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा आज बिहिबार सार्वजनिक गर्दै  कर्जा विस्तारको ठूलो अंश आयाततर्फ केन्द्रित भई शोधनान्तर घाटा बढ्दो र विदेशी विनिमय सञ्चिति घट्दो क्रममा रहेसम्म तरलतामा चापको स्थिति कायमै रहने देखिएको जनाएको हो।

चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै वाह्य क्षेत्रतर्फ भुक्तानी सन्तुलन घाटामा गएको र साधन परिचालनको तुलनामा कर्जा माग उच्च रहेका कारण बैंकिङ्ग क्षेत्रको तरलतामा दबाब परेको राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार उच्च रहेकोले तरलता व्यवस्थापनमा दबाब परेको छ । तसर्थ, आन्तरिक एवम् वाह्य क्षेत्र सन्तुलन कायम राख्न सीमित वित्तीय साधनलाई उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका क्षेत्रमा परिचालन गर्न जोड दिनुपर्ने आवश्यकता रहेको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८÷७९ को पहिलो ६ महिनामा खुला बजार कारोबारका विभिन्न उपकरणहरुमार्फत रु.३५१ अर्ब ७ करोड र स्थायी तरलता सुविधामार्फत रु.३०१५ अर्ब ८९ करोड गरी कुल रु.३३६६ अर्ब ९६ करोड तरलता प्रवाह गरिएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा रिभर्स रिपोमार्फत रु.२८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत रु.३१ अर्ब ६५  करोड गरी कुल रु.६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.२४१ अर्ब ३४ करोड तरलता प्रशोचन गरिएको थियो ।

 समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर ६६ करोड ७४ लाख खुद खरिद गरी रु.८० अर्ब २६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी रु.२५१ अर्ब २ करोड तरलता प्रवाह गरिएको थियो । यसरी समीक्षा अवधिमा गत वर्षको सोही अवधिको तुलनामा अमेरिकी डलरको खरिद ६८.५ प्रतिशतले कमी आएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरेको छ । ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरेको छ । विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत कायम राखेको छ।

वाह्य क्षेत्र र तरलतामा विद्यमान चापको स्थितिलाई दृष्टिगत गर्दै वाह्य क्षेत्र स्थायित्वसहित समष्टिगत आर्थिक स्थायित्व कायम राख्नेतर्फ मौद्रिक व्यवस्थापनलाई परिलक्षित गरिने राष्ट्र बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved