चालू आर्थिक बर्षको माघ महिनासम्ममा कमर्शियल बैंकहरुको निक्षेप भन्दा कर्जा परिचालन झन्डै चार गुणाले बढेको छ। माघ महिनासम्म कमर्शियल बैंकहरुको निक्षेप १ खर्ब ९ अर्बले बढ्दा कर्जा परिचालन ४ खर्ब ३४ बढेको छ।
माघ महिनासम्म २७ वटा कमर्शियल बैंकहरुले ४३ खर्ब १० अर्ब ८५ करोड निक्षेप संकलन गरेका छन् भने ४१ खर्ब १० अर्ब ५४ करोड कर्जा परिचालन गरेका छन्। चालू आर्थिक बर्षको ७ महिना अर्थात माघ महिनासम्म ११ वटा बैंकको निक्षेप घटेको छ भने १६ वटा बैंकको निक्षेप बढेको छ।
जसमा सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा नेपाल बैंक पहिलो स्थानमा रहेको छ भने सबै भन्दा कम निक्षेप संकलन गर्नेमा राष्ट्रिय बाणिज्य बैंक रहेको छ। नेपाल बैंकको निक्षेप २१ अर्ब २६ करोडले बढ्दा राष्ट्रिय बाणिज्य बैंकको निक्षेप १६ अर्बले घटेको छ। बढी निक्षेप संकलन गर्नेमा नेपाल बैंकपछि हिमालयन बैंक रहेको छ। त्यसपछि क्रमश: सनराइज, लक्ष्मी, एनएमबि रहेका छन्।
त्यस्तै चालू आर्थिक बर्षको ७ महिना अर्थात माघ महिनासम्म २७ वटा कमर्शियल बैंकले ४१ खर्ब १० अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। यस ७ महिनामा सबै कमर्शियल बैंकहरुले कर्जा लगानी बढाएका छन्।
जसमा बढी कर्जा विस्तार गर्नेमामा ग्लोबल आईएमई बैंक सबै भन्दा अगाडी रहेको छ भने कम कर्जा विस्तार गर्नेमा नेपाल बंगलादेश बैंक रहेको छ। ७ महिनाको अवधिमा ग्लोबल आईएमई बैंकले २९ अर्ब ८८ करोडले कर्जा लगानी विस्तार गरेको छ भने कम कर्जा लगानी बिस्तार गरेको बंगलादेश बैंकले मात्रै ६ अर्ब ७९ करोड कर्जा लगानी गरेको छ।
निक्षेप र कर्जाको आकारमा एनआईसी एसिया नै अगाडी
व्यवसायको आकारमा एनआईसी एसिया नै अगाडी रहेको छ। ७ महिनाको अवधि अर्थात माघ महिनासम्म एनआईसी एसियाले ३ खर्ब १ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ७१ अर्ब ६३ करोड कर्जा लगानी गरेको छ।
व्यवसायको आकारमा एनआईसी एसियालाई पछ्याएको ग्लोबल आईएमई बैंकले २ खर्ब ७५ अर्ब ३८ करोड निक्षेप संकलन गरेको छ भने २ खर्ब ७२ अर्ब ३८ करोड कर्जा लगानी गरेको छ।
व्यवसाय विस्तारमा पछाडी रहेको नेपाल बंगलादेश बैंक व्यवसायको आकारमा पनि सबै भन्दा पछाडी रहेको छ। नेपाल बंगलादेश बैंकले ८० अर्ब ८१ करोड निक्षेप संकलन गरेर ७८ अर्ब कर्जा लगानी गरेको छ।
माघमा निक्षेपमा आरबीबी, कर्जामा सिभिल अगाडी
माघ महिनामा सबै भन्दा बढी निक्षेप संकलन गर्नेमा राष्ट्रिय बाणिज्य बैंक अगाडी रहेको छ भने सबै भन्दा बढी कर्जा बिस्तार गर्नेमा सिभिल बैंक अगाडी रहेको छ।
कमर्शियल बैंकहरुको माघ महिनामा निक्षेप १३ अर्ब ४९ करोडले घटेको छ। जसमा १३ वटा कमर्शियल बैंकको निक्षेप घटेको छ भने मात्रै १४ वटा बैंकको निक्षेप बढेको छ। जसमा सबैभन्दा बढी निक्षेप संकलन गरेको राष्ट्रिय बाणिज्य बैंकले ३ अर्ब ८९ करोड निक्षेप संकलन गरेको छ।
त्यस्तै माघ महिनामा मात्रै ११ अर्ब ९२ करोडले कर्जा लगानी बढेको छ। यद्दपी ८ वटा कमर्शियल बैंकको कर्जा लगानी घटेको छ भने मात्रै १९ वटा बैंकको कर्जा लगानी बढेको छ। जसमा बढी कर्जा लगानी गर्ने बैंकमा सिभिल बैंक अगाडी रहेको छ। सिभिल बैंकले माघ महिनामा मात्रै ३ अर्ब ४२ करोड कर्जा लगानी गरेको छ।