नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च बृद्घि गरेको छ ।
गत फागुन महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह बृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ ।
फागुन महिनामा नेपाल बैंकको निक्षेप २१.६७ प्रतिशतले बृद्घि भएको देखिन्छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले बृद्घि भएको देखिन्छ । २७ वाणिज्य बैंकहरुमध्ये १७ वटा वाणिज्य बैंकहरुको निक्षेप बृद्घि भएको छ भने १० वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ ।
वाणिज्य बैंकहरुको औसत निक्षेप बृद्घिदर ५ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै वाणिज्य बैंकहरुको कर्जा विस्तारमा बृद्घि भएको छ । औसतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको बृद्घि भएको देखिन्छ । अहिले वाणिज्य बैंकहरुसंग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयां पुगेको छ भने कुल क्रृण ४१ खर्ब ७२ अर्ब रुपैयां पुगेको छ ।
फागुन महिनामा मात्रै वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयांले बढेको छ भने कर्जा प्रवाह १७ अर्ब रुपैयांले विस्तार भएको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुशार यस अवधिमा १९ वटा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशत भन्दा बढि रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) भने ९०.०३ प्रतिशत रहेको छ । औसतमा बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.९९ प्रतिशत रहेको छ ।
नेपाल बैंकले हाल २१३ शाखा, १४७ एटिएम र ४७ वटा एक्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।