बजारबाट आज २२ अर्ब उठाउदै राष्ट्र बैंक, तरलतामा थप चाप पर्ने चिन्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2022 | 09:54:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको वित्तीय सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले आज सोमबार सरकारका लागि २२ अर्ब १० करोड बराबरको आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेर सरकारको लागि आन्तरिक ऋण उठाउन लागेको हो ।

बोलकबोल प्रक्रिया मार्फत ब्याजदर तय गर्ने  गरि ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । बैंकले जारी गरेको सूचना अनुसार ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल २८ दिनका लागि, ९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल ९१ दिनको लागि,  ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल १८२ दिनका लागि, र  ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि  बिक्री गर्न लागिएको हो  ।

३६४ दिनको लागि बिक्रि गर्न लागिएको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बाहेक अरु सबै ट्रेजरी बिल यस अघि नै बिक्रि गरिएको बिलका नवीकरण हो। ३६४ दिनको लागि बिक्रि गर्न लागिएको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने नयाँ हो ।

२८ दिन अवधिको बिल २०७९ साल बैशाख १३ गते, ९१ दिनको ट्रेजरी बिल २०७९ साल असार १४ गते, १८२ दिन अवधिको ट्रेजरी बिल २०७९ साल असोज ११ गते र ३६४ दिन अवधिको ट्रेजरी बिल २०७९ साल चैत्र १४ गते  परिपक्व हुने छ । 

राष्ट्र बैंकले यसअघि गत चैत्र ७ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

के हो ट्रेजरी बिल ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् । 

 सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ ।  

 बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ । 

आन्तरिक ऋण उठाउने तालिका

नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने तालिका नै सार्वजनिक गर्छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएँन भने दोस्रो त्रैमासमा ६ अर्ब मात्र आन्तरिक ऋण उठाएको थियो । अब भने राष्ट्र बैंकले बाँकि २ त्रैमासमा गरि २ खर्ब ३३ अर्ब आन्तरिक ऋण उठाउने तयारी गरेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कुल २ खर्ब ३९ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले  ल्याएको बजेटमा  २ खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरिएकोमा अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक ऋणको लक्ष्य घटाएर २ खर्ब ३९ अर्ब रुपैयाँ कायम गरेका हुन् ।

राष्ट्र बैंकले नेपाल सरकारको लागि स्रोत जुटाउन आन्तरिक ऋणपत्र निष्काशन गर्ने गर्दछ । तर यस वर्ष तरलता अभाव भएकै कारण राष्ट्र बैंकले हालसम्म ठूलो मात्रमा आन्तरिक ऋण उठाएको थिएँन् । ठूलो रकममा आन्तरिक ऋण उठाउने भएपछि तरलताको समस्या बढ्न सक्ने विश्लेषकहरु बताउछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved