नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आज बिहिबार पुन: सुनुवाई हुदै छ । मंगलबार हेर्दा हेर्दैमा राखिएको मुद्दामा आज पुन: बहस हुन लागेको हो ।
आज न्यायधिश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलाशमा उक्त मुद्दाको सुनुवाई हुने भएको हो। बुधबार गभर्नरको तर्फका वकिलले बहस गरेका थिए भने आज सरकारको तर्फबाट जवाफी बहस हुने छ । त्यसपछि अदालतले आज गभर्नरको मुद्दामा अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा आदेश दिने छ ।
यस अघि बैशाख ६ गते न्यायधिश हरि प्रसाद फुयालको एकल इजलाशले गभर्नर महाप्रसाद अधिकारीमाथि कुनै कारवाही अगाडी नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । न्यायधिश हरिप्रसाद फुयालको एकल इजलाशले उनीमाथि छानविन गर्नको लागि छानविन समिति गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश समेत जारी गरेको थियो । अदालतले उनलाई पदीय जिम्मेवारी गर्न दिनको लागि समेत आदेश दिएको थियो । त्यस्तै इजलाशले हाललाई गभर्नरको पक्षमा अल्पकालीन अन्तरिम आदेश गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो।
सोहि अनुसार आज दुवैपक्षबीच यस विषयमा छलफल हुने भएको हो । आजको बहसपछि अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयको टुंगो लगाउने छ ।
सरकारले आफूमाथि गैरकानूनी तरिकाले छानविन समिति गठन गरेर निलम्बन गरेको भन्दै उनी सर्वोच्च अदालत गएका थिए।