नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आज शुक्रबार पनि सुनुवाई हुदै छ । बिहिबार हेर्दा हेर्दैमा राखिएको मुद्दामा आज पुन: बहस हुन लागेको हो ।
आज न्यायधिश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलाशमा उक्त मुद्दाको सुनुवाई हुने भएको हो। यस मुद्दामा मंगलबार र बिहिबार पनि बहस भएको थियो । आजको बहसपछि अदालतले गभर्नरको मुद्दामा अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा आदेश दिने छ ।
यस अघि बैशाख ६ गते न्यायधिश हरि प्रसाद फुयालको एकल इजलाशले गभर्नर महाप्रसाद अधिकारीमाथि कुनै कारवाही अगाडी नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । न्यायधिश हरिप्रसाद फुयालको एकल इजलाशले उनीमाथि छानविन गर्नको लागि छानविन समिति गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश समेत जारी गरेको थियो । अदालतले उनलाई पदीय जिम्मेवारी गर्न दिनको लागि समेत आदेश दिएको थियो । त्यस्तै इजलाशले हाललाई गभर्नरको पक्षमा अल्पकालीन अन्तरिम आदेश गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो।
सोहि अनुसार दुवैपक्षबीच यस विषयमा बहस भईरहेको हो । आजको बहसपछि अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयको टुंगो लगाउने छ ।
सरकारले आफूमाथि गैरकानूनी तरिकाले छानविन समिति गठन गरेर निलम्बन गरेको भन्दै उनी सर्वोच्च अदालत गएका थिए।