नेपाल राष्ट्र बैंकले आर्थिक स्थायित्व कायम गर्न ब्याजदर बढाउँने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै आर्थिक स्थायित्वको लागि ब्याजदरको उपकरण प्रयोग गरिने उल्लेख गरेको हो ।
समिक्षामा आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग गरिने उल्लेख छ । मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने पनि राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले अन्य देशको उदाहरण दिदै ब्याजदरको उपकरण प्रयोग गर्नु पर्ने जनाएको छ । राष्ट्र बैंकले अमेरिका, भारत, इंग्ल्याण्ड र ब्राजिलको उदाहरण पेश गरेको छ ।
अमेरिकाको उदाहरण दिडिया राष्ट्र बैंकले भनेको छ 'विश्वव्यापी रुपमा बढ्दै गएको मूल्य वृद्धिका कारण विश्वका अधिकांश केन्द्रीय बैंकहरुले मौद्रिक नीतिलाई कसिलो बनाउँदै लगेका छन् । अमेरिकी फेडरल रिजर्भले मार्च २३, २०२२ मा टार्गेट फेडरल फण्ड रेट २५ आधार बिन्दु (Basis Point) ले वृद्धि गरेकोमा मे ४, २०२२ मा दोश्रो पटक ५० आधार बिन्दुले पुन: वृद्धि गरेको छ । त्यसैगरी, फेडरल रिजर्भले आगामी तीन महिनासम्म प्रत्येक महिना ३० अर्ब डलर बराबरको ट्रेजरी र १७५ अर्ब डलर बराबरको मोर्टगेज व्याक्ड सेक्युरिटिज MBS) बजारमा बिक्री गर्ने र तीन महिनापश्चात् ६० अर्ब डलर बराबरको ट्रेजरी र ३५ अर्ब डलर बराबरको मोर्टगेज व्याक्ड सेक्युरिटिज बिक्री गरी बजारबाट तरलता प्रशोचन गर्ने योजना सार्वजनिक गरेको छ ।'
त्यस्तै भारतको उदाहरण दिदै बैंकले भनेको छ ' भारतीय रिजर्भ बैंकले मे ४, २०२२ मा नीतिगत दरमा ४० आधार बिन्दुले वृद्धि गरेको छ भने मे २१, २०२२ देखि लागू हुने गरी अनिवार्य नगद अनुपातमा ५० आधार बिन्दुले वृद्धि गरी ४.५ प्रतिशत पुयाएको छ । अनिवार्य नगद अनुपातमा गरिएको वृद्धिबाट करिव भा.रु.८ खर्ब ७० अर्ब तरलता प्रशोचन हुने अनुमान गरेको छ ।'
राष्ट्र बैंकले इंग्ल्याण्ड र ब्राजिलको पनि उदाहरण दिएको छ । राष्ट्र बैंकले भनेको छ 'बैंक अफ इंग्ल्याण्डले सन् २०२१ डिसेम्बरदेखि सन् २०२२ मे महिनासम्मको ६ महिनाको अवधिमा चार पटक नीतिगत दरमा वृद्धि गरेको छ । त्यसैगरी, उदीयमान अर्थतन्त्रमध्येको दक्षिण अमेरिकी मुलुक ब्राजिलको केन्द्रीय बैंकले अगष्ट २०२० मा २ प्रतिशतमा रहेको नीतिगत दरलाई मार्च १७, २०२२ सम्ममा नौ पटक वृद्धि गरी ११.७५ प्रतिशत पुयाएको छ।'
राष्ट्र बैंकले सार्वजनिक गरेको समिक्षामा भनिएको छ 'कोभिड-१९ महामारीबाट खल्बलिएको विश्व आपूर्ति तथा उत्पादन श्रृंखला रसिया-युक्रेनबीचको युद्धका कारण थप प्रभावित हुन गएको र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धिले गर्दा मुद्रास्फीति विश्वव्यापी रुपमा बढ्दै गएको छ । विश्वव्यापी रुपमा बढ्दै गएको मुद्रास्फीति नियन्त्रण गर्न अधिकांश केन्द्रीय बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् भने कोभिड लक्षित नीतिगत सुविधाहरुलाई पनि क्रमश: कटौती गरिरहेका छन् । उपर्युक्त कारणहरुले गर्दा अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२२ मा झै सन् २०२३ मा पनि विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । सन् २०२२ मा विकसित मलकहरुको अर्थतन्त्र ३.३ प्रतिशतले विस्तार हने अनुमान रहेकोमा सन् २०२३ मा २.४ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ ।'