
नेपाल राष्ट्र बैंकले फेरी ब्याजदर बढ्ने संकेत गरेपछि उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन्। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक सार्वजनिक कार्यक्रममा आफुहरु ब्याजको दर बढाउँन बाध्य भएको भन्ने अभिव्यक्ति दिएकाले ब्याजदर बढ्न सक्ने आशंकामा व्यवसायीहरु त्रसित भएका हुन्।
अहिले कायम ब्याजदरमा पनि उद्योग व्यवसाय गर्न गाह्रो भईरहेको अवस्थामा अब पनि ब्याज बढ्यो भने उद्योग व्यवसाय छोडेर आन्दोलन गर्नुको विकल्प नभएको नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले बिजपाटीलाई बताए। बढ्दो ब्याजदरले बजार तथा घरघरमा भएको भनिएको निक्षेप बैंकिंङ प्रणालीमा नआएकाले ब्याज बढाउनुपर्ने राष्ट्र बैंकको तर्क बिफल भईसकेको उनको भनाई छ। ब्याजको दर बढाएर पैसा बैंकिंङ प्रणालीमा ल्याउने राष्ट्र बैंकको योजना बिफल भईसकेकाले अब पनि ब्याज बढाउँन नहुने उनको भनाई छ।
ब्यापार घाटा सन्तुलनमा राख्न र वैदेशिक मुद्रा संचितिलाई व्यवस्थित गर्न तर्क दिएर ब्याज बढाउनुको कुनै औचित्य नभएको समेत उनले बताए। उनकाअनुसार अन्तराष्ट्रिय बजारमा पनि ७ महिनाको खाद्यान्न धान्ने बैदेशिक मुद्रा संचितिलाई राम्रो मानिएकोमा नेपालमा पनि ६ महिना २१ दिन धान्ने अवस्था रहेकाले यसलाई देखाएर ब्याज बढाउनु गलत हो।
विदेशी मुद्रा संचितिको अवस्था देखाएर नेपाल श्रीलंकाको बाटोमा जान थाल्यो भनेर राष्ट्र बैंक आफैंले नै प्रचार गर्नुमा शंका उब्जिएको उनको भनाई छ। बढ्दो ब्याजदरले बस्तुको लागत बढ्दा हाम्रो जस्तो चारैतिर खुला सिमा भएको देशमा अनाधिकृत कारोबार बढ्ने सम्भावना प्रबल हुने भएकाले राष्ट्र बैंकले ब्याज बढाएर मात्र समाधान खोज्ने सोच त्याग्नु पर्ने उनको भनाइ छ।
बढ्दो ब्याजले पैसा भएका र काम नगरी खानेहरुलाई मात्र प्रोत्साहन मिलेको भन्दै उनले राष्ट्र बैंकले पैसा हुनेहरुलाई कामै नगरी खान पाउने वातावरण बनाइदिएको समेत उनको आरोप छ। ब्याजको दर नबढाउँनलाई राष्ट्र बैंकलाई औपचारिक र अनौपचारिक बिभिन्न माध्यम मार्फत सल्लाह र सुझाब दिएपनि त्यसको सुनुवाई नभएपछि आफुहरु पनि आन्दोलनको तयारीमा लाग्न बाध्य भएको एफएनसिसिआई का जिल्ला नगर उपाध्यक्ष श्रेष्ठले बिजपाटीलाई बताए। यसका लागि आफुले देशका बिभिन्न ठाउँहरुमा गएर उद्योगी व्यवसायी भेटिरहेको समेत उनले बताए ।