वैदेशिक मुद्रा भित्र्याउन ग्लोबल आइएमई बैंकको पहल, लण्डनमा गर्यो अन्तरक्रिया कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2022 | 07:18:34 PM मा प्रकाशित

laxmi sunrise bank

ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी विषयमा बेलायतको लण्डनमा सोमबार वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । संयुक्त अधिराज्यको लण्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र श्रृजनशील लेस्टर नेपाल, युकेद्वारा संयुक्तरुपमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिइएको बैंकले जनाएको छ। 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीहरुलाई विदेशी मुद्रामा खाता खोल्ने सुविधा दिएको सम्बन्धमा जानकारी गराएका थिए ।

“यसमा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलेर पैसा जम्मा गर्न सकिने, आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ । भिषा कार्ड तथा मास्टर कार्डमार्फत यहाँहरुले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरुले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा रहेको छ,” उनले भने ।

नेपालको प्रतिष्ठित व्यावसायिक समूह आइएमई समूहका अध्यक्ष ढकालले आइएमई समूहले नेपाल सरकारको प्राथमिकता र मुलुकको आवश्यकता अनुरुप आफ्ना व्यवसायिक गतिविधिहरु अगाडि बढाउँदै आएको बताए ।

आइएमई रेमिट हामीले सुरुगरेको २२ वर्ष पुगेको छ । विगत २२ वर्षमा आइएमईले नेपालमा औपचारिकमाध्यमबाट रेमिट्यान्स भित्र्याउन ठूलो योगदान गरेको छ । हामीले रेमिट्यान्स सेवा सुरुगर्दा मुलुकमा रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन रेमिट कम्पनीको आवश्यकता थियो । आज आइएमई नाम आफैमा रेमिटको पर्यावाची बनेको छ । अन्य बैंक तथा रेमिट कम्पनीहरुमा जाने ग्राहकहरुले पनि पैसा पठाउन पर्यो भने आइएमई गरिदिनुस् भन्ने गरेको पाइएको छ, उनले भने।

त्यसैगरी, अहिले मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेको र रेमिट्यान्सको आप्रवाह पनि घटेको अवस्थामा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने र नेपालमा थप बैदेशिक लगानी भित्र्उनुपर्ने छ, यसमा पनि हामी फ्रन्टलाइनमा रहेर काम गर्न चाहन्छौं, उनले भने । 

उनले मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीहरुले भूमिका खेल्नुपर्ने बताए । 

यसका लागि तपाईहरुले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलिदिनुपर्यो । नेपालमा थप बैदेशिक लगानी भित्र्याउन सहजीकरण गरिदिनुपरर्यो, उनले भने । 

गैर आवासीय नेपाली संघसँग आफूहरुको सहकार्य सुरुभइसकेको बताउँदै उनले गैर आवाशीय नेपालीहरुले स्थापना गरेको एनआरएन फन्डबाट लगानी जुटाई लम्जुङ्ग जिल्लामा २७ मेगावाटको जलविद्युत आयोजना निर्माण सकिएर टेस्टिङ्गको चरणमा रहेको बताए । 

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृति रत्नराज बज्राचार्यले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारेमा प्रकाश पारेका थिए । 

कार्यक्रममा श्रृजनशील लेस्टर नेपाल, युकेका पदाधिकारीहरु, गैर आवाशीय नेपाली संघका प्रतिनिधिहरु तथा नेपाली समुदायको सहभागिता रहेको थियो । यसअघि नेपलिज एकाउन्टेन्स् एशोशिएसन, युकेसँगको अन्तरक्रियामा बैंकका अध्यक्ष ढकालले नेपालमा वैदेशिक लगानीका लागि युकेका व्यवसायी तथा लगानीकर्ताहरुलाई सहजीकरण गर्न एशोशिएसनलाई आग्रह गरेका थिए । 

लगानी प्रतिफलको हिसाबले पनि नेपाल लगानीका लागि उपयुक्त मुलुक भएको बताउँदै, उनले धेरैभन्दाधेरै बैदेशिक लगानी भित्र्याउन युकेमा रहेका नेपालीहरुले नै भूमिका निभाउनुपर्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved