सानिमा बैंकको हरेक शाखाले प्लस टु पढ्न छात्रवृत्ति दिदै, आवेदन दिन आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2022 | 12:33:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकको काठमाडौं उपत्यका बाहिर रहेका हरेक शाखाले २ जनालाई ११-१२ पढ्नको लागि छात्रवृत्ति दिने भएको छ। विगत लामो समयदेखि काठमाडौं उपत्यका बाहिर रहेका प्रत्येक शाखाहरुबाट २-२ जना विद्यार्थीहरुलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न बैंकले छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ ।

बैंकले शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक २ हजार नगदवृत्ति प्रदान गर्दै आइरहेको छ । सोहि छात्रवृत्तिलाई निरन्तरता दिदै बैंकले माध्यमिक तह (कक्षा ११ र १२) अध्ययन गर्नका लागि काठमाडौं उपत्यका बाहिर सानिमा बैंकका शाखा रहेका स्थानका स्थायी बासिन्दाहरु मध्येबाट २०७२ साल बैशाख महिनामा सञ्चालित एस.ई.ई. परीक्षा उत्तीर्ण गर्ने गरिव तथा विपन्न परिवारका विद्यार्थीहरु मध्येबाट आवेदन दिन आग्रह गरेको छ । बैंकका अनुसार छात्रवृत्तिको रकम प्रति वर्ष प्रति विद्यार्थी रु. ५०,०००/- सम्मको हुनेछ । जसमा मासिक खर्चका लागि प्रति महिना रु. २,०००/- नगद वृत्ति समावेश हुनेछ ।

बैंकले भदौ ३१ गतेसम्म आवेदन दिईसक्न आग्रह गरेको छ । बैंकका अनुसार आवेदक दिने विद्यार्थी शाखा रहेका स्थानको स्थायी बासिन्दा हुनुपर्नेछ । आवेदक गरिब तथा विपन्न परिवारको हुनुपर्नेछ । आवेदकले सोहि स्थान भित्रको सरकारी/सामुदायिक विद्यालयमा निरन्तर विगत तीन वर्ष अध्ययन गरी पहिलो प्रयासमा नै एस.ई.ई उत्तीर्ण गरेको हुनुपर्नेछ । सोहि स्थानभित्र रहेको माध्यमिक शैक्षिक संस्थामा उपलब्ध विषय/संकाय अध्ययन गर्नुपर्नेछ । शैक्षिक संस्था तथा संकाय आवेदक आफैले छनौट गर्नुपर्नेछ । आवेदकले अध्ययन गर्न इच्छाएको शैक्षिक संस्थाले आवेदकलाई भर्ना लिने निश्चित भएपछि मात्र छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ ।

त्यस्तै आवेदक पूर्णकालीन छात्र/छात्राको रुपमा रहनुपर्ने बैंकले उल्लेख गरेको छ । बैंकका अनुसार आवेदकहरु मध्येबाट सबैभन्दा गरिब तथा विपन्न उम्मेदवारको छनौट बैंकले गठन गरेको स्थानिय व्यक्तिहरु सदस्य  रहेको सिफारिस समितिले गर्नेछ । समितिले आवेदक वा निजका परिवारका सदस्यहरुको अन्तर्वार्ता लिन सक्नेछ । छात्रवृत्ति शैक्षिक संस्थामा भर्ना भएको मितिदेखि लागू हुनेछ । निवेदकले हाल अन्य कुनै पनि छात्रवृत्ति नपाएको हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकका आवेदन फारम शाखा बाट निशुल्क पाइने छ र आवेदन दिंदा एक प्रति पासपोर्ट साइजको फोटो, एसईईको मार्क सिट र क्यारेक्टर, आमा वा बुबाको नागरिकताको प्रतिलिपि बुझाउनु पर्ने छ ।  त्यस्तै आवेदकले विगत ३ वर्ष देखि बैंकको शाखा रहेको स्थानमा रहेका सरकारी र सामुदायिक विद्यालयमा पढेको कागजात संलग्न गर्नु पर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved