सर्वोच्च
अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग छानबिन समितिमा
निलम्बित आफ्नो सफाइ दिइरहेका छन् । बिहीवार अपराह्न उनले दुईवटा प्रश्नको जवाफ
दिए भने बुधवार ४ प्रश्नको जवाफ लिइएको थियो ।
उनलाई अब थप ३४
प्रश्न सोधिनेछ । बिहीवार दुईवटा प्रश्नपछि आकस्मिक रूपमा रोकिएको बयान प्रकृया आइतवारबाट
पुनः शुरू हुनेछ ।
बिहीवार
प्रश्न गर्ने क्रममा प्राइम कमर्शियल बैंकको विषय उठेको थियो । नेकपा माओवादी
केन्द्रकी सांसद यशोदा गुरुङले प्राइम कमर्शियल बैंकका प्रमुख कार्यकारी नारायणदास
मानन्धरलाई पदस्थापन गरिदिने आदेशमा आर्थिक लेनदेन भएको विषयलाई उठाइन । 'तपाईंले
आदेश गरेपछि तपाईं र तपाईंको परिवारले उक्त बैंकबाट ऋण लिएको रहेछ । यो विषय के हो
?' गुरुङले सोधिन् ।
यसको जवाफमा
जबराले भने, 'मुद्दा व्याक्तिको हो, यसलाई ऋणसँग जोड्नु तर्कसंगत हुँदैन । ऋण
लिएपछि तिर्नुपर्छ । मैले आफ्नो घर, जग्गाजमिन राखेर बैंकबाट घर चलाउन ऋण लिएको हो
।'
जबराले नारायणदासको
हकमा मात्र नभएर धेरै संचालक, अध्यक्ष र अन्यको मुद्दा पनि आएको बताए । 'यति
वर्षपछि अध्यक्ष हुन नपाउने,
सञ्चालक हुन नपाउने
भनेर कार्यविधिमा आयो । यस्तो कानुनै बनाएर गर्दा हुन्छ तर ऐनको अभावमा निर्देशिका
बनाएर पाइँदैन भनेर संरक्षण गरिएको हो,' जबराको जवाफ थियो ।
'आदेशको
प्रयोग गरेर आर्थिक लाभ त लिएको देखियो नि, तपाईंले पनि स्वीकार गर्नुभयो,' गुरुङले
पुनः अर्को प्रश्न सोधिन् ।
जवाफमा
जबराले भने, 'मैले स्वीकार गरेको होइन । यस्तो रूपमा नलिऊँ । नागरिकले घरव्यवहार
चलाउन ऋण त लिनैपर्छ । त्यो विधिपूर्वक लिएको ऋण हो । नारायणजीले अब असुलउपर गर्न
नपर्ने भन्दै दिएको होइन ।'
२०७६ को साउनमा
राष्ट्र बैंकले उमेरहद समेटेर नयाँ निर्देशिका जारी गरेपछि प्राइम कमर्शियल बैंकका
प्रमुख कार्यकारी अधिकृत(सिईओ)पदबाट बाहिरिएका नारायणदास मानन्धर साउन २९ गतेको
सर्वोच्चको फैसलाबाट पुनः बहाली भएका थिए ।
नेपाल
राष्ट्र बैंकको निर्देशिकाप्रति असन्तुष्टी जनाउँदै साउन २२ गते सर्वोच्च पुगेका
मानन्धरको मुद्दाको फैसला जबराकै इजलासले गरेको थियो । हाल निलम्बित प्रधानन्यायाधीश
चोलेन्द्र समशेर जबराको एकल इजलाशले मानन्धरलाई काम गर्न दिनु भन्ने आदेश दिएपछि
उनी पुनः प्राइम बैंकको सिईओमा बहाली भएका थिए ।
त्यसपछि
जबराले प्राइम कमर्शियल बैंकबाट ३ करोड ७५ लाख ऋण लिएका थिए । भाइ प्रभुशमशेर
जबराको नामबाट उनी आफैंले ऋण लिएका हुन् ।
ऋण लिएको
विषय त्यतिबेलै विवादमा आएको थियो । मानन्धरलाई पुनःबहाली गर्नु र तत्कालै प्राइमबाट
ऋण लिनु संयोग मात्र नहुने महाभियोग सिफारिस समितिका एक सदस्यले बताए । 'फैसला
गरेलगत्तै फास्ट ट्रयाकमा बैंकबाट ऋण लिनु पनि आर्थिक लाभ नै हो,' ती सदस्यले भने,
'अझ विवादित जग्गा किनेको छ, त्यसलाई देखाएर भाइको नाममा ऋण लिएको छ ।'