निक्षेप संकलनमा नेपाल बैंकको सफल 'स्ट्र्याटेजी' : छोरी सुरक्षादेखि सहयात्री वचत खातासम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2022 | 01:12:44 PM मा प्रकाशित

laxmi sunrise bank

नेपालमा हाल संचालित कमर्शियल बैंक मध्ये गत आर्थिक वर्ष सबै भन्दा बढी निक्षेप संकलन गर्नेमा पहिलो स्थानमा रहन सफल बैंक हो, सरकारी स्वामित्वको नेपाल बैंक। नेपाल बैंकले चल्तीका निजि लगानीका बैंकहरुलाई समेत पछी पार्दै निक्षेप संकलनमा गत आर्थिक वर्ष ११ महिनासम्म पहिलो स्थानमा अटाउन सफल भएको हो।

गत आर्थिक वर्ष बैंकहरुले ३ खर्ब ४० अर्ब निक्षेप संकलन गर्दा ४ खर्ब ५४ अर्ब कर्जा लगानी गरेका छन्। जसमा नेपाल बैंकले मात्रै ३३ अर्ब ५६ करोड निक्षेप संकलन गरि ३५ अर्ब ८७ करोड कर्जा लगानी गरेको छ। चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा आइपुग्दा नेपाल बैंकको कुल निक्षेप १ खर्ब ८६ अर्ब २० करोड पुगेको छ।

सरकारी स्वामित्वको बैंक भएपनि निजि क्षेत्रका बैंकहरु भन्दा बढी निक्षेप संकलन गर्नमा नेपाल बैंक सफल कसरी भयो भन्ने आम चाँसो रहदै आएको छ। नेपाल बैंकको २१९ शाखा, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत देशभर फैलिएको  ठुलो संजाल र यसले दिंदै आएको आधुनिक बैङ्किङ  सेवा तथा सेवाको गुणस्तरीयता मात्र नभई नेपाल बैंकले उपलब्ध गराउदै आएको स्पेसिफक बचत खाता नै यसको प्रमुख कारण रहेको बताए।

आफुहरुले संचालनमा ल्याएका झन्डै डेढ दर्जन बचत खाता उमेर तथा पेशा अनुसार भएको र प्रत्येक बचत खातामा आफ्नै प्रकारको बिशेषता र आकर्षक ब्याजदर भएकाले पनि निक्षेप जम्मा गर्नका लागि नेपाल बैंक पहिलो रोजाईमा परेको बैंकको दाबि छ।

बैंकले साधारण बचत खाता, महिला विशेष बचत खाता, लगानीकर्ता बचत खाता जस्ता झन्डै डेढ दर्जन बचत खाता संचालन गर्दै आएको छ। कुन बचत खातामा के छन् सुविधा ?

साधारण बचत खाता

साधारण बचत खाता नेपाल बैङ्कले व्यक्तिको बचत गर्ने बानीलाई बढावा दिन सञ्चालनमा ल्याएको बचत खाता हो । कुनै ग्राहकहरूले सामान्य किसिमको बचत खाता खोल्न चाहेमा यो बचत खाता खोलिने बैङ्कले जनाएको छ । बैङ्कका अनुसार यस खातामा न्यूनतम मौज्दात ५०० रुपैयाँ राख्नुपर्ने हुन्छ ।

महिला विशेष बचत खाता 

महिला विशेष बचत खाता महिलाहरूका लागि बचत गर्न र बैकिङ् बानीलाई प्रोत्साहन गर्नका लागि सञ्चालनमा ल्याएको बैङ्कले जनाएको छ । यो खाता १८ वर्ष भन्दा माथिका सबै महिलाहरूले खोल्न सक्दछन् ।

यस खाताको माध्यामबाट महिलाहरूको बचत तथा बित्तीय निर्णय क्षमताको विकासमा सहयोग पुर्याइरहेको बैङ्कले जनाएको छ । महिलाहरूले मात्रै खोल्न सक्ने यो खाताका लागि न्यूनतम मौज्दात ५०० रुपैयाँ हुनुपर्नेछ भने महिलाहरूले लकर सेवा लिन चाहेमा २५ प्रतिशत छुट प्राप्त गर्ने बैङ्कले जनाएको छ ।

लगानीकर्ता बचत खाता

कुनै पनि संस्थाको सेयर भएका व्यक्तिहरूले नेपाल बैङ्कमा लगानीकर्ता बचत खाता खोल्न सक्नेछन् । यो खाता ती व्यक्तिहरूमा केन्द्रित छ जसले धितोपत्रमा लगानी गर्न खोज्छन् । कुनै पनि कम्पनीको सेयर होल्डरहरूले लगानीकर्ता बचत खाता खोल्न सक्ने बैङ्कले जनाएको छ ।

बैङ्ककाअनुसार यो खाताको उद्देश्य पूर्ण वित्तीय सुविधाहरू प्रदान गरेर सेयरधनीहरूको बैकिङ् आवश्यकता पूरा गर्नु रहेको छ । लगानीकर्ता बचत खाता खोल्दा आधारभूत कागजातहरूका अलावा कुनै पनि संस्थाको सेयर प्रमाण पत्रको फोटोकपि वा सेयर स्वामित्व तथा विवरण खुल्ने डिम्याट खाताको स्टेटमेन्ट आवश्यक पर्दछ भने यो खाता शून्य मौज्दातमा पनि खोल्न सकिनेछ भने आकर्षक ब्याजदर पनि पाइन्छ ।

पेशागत बचत खाता

पशेगात व्यक्तिहरूले नेपाल बैङ्कमा पेशागत बचत खाता खोल्न सक्नेछन् । यो खाता सरकारी कर्मचारी, पुलिस, सेना, शिक्षक र सार्वजनिक र निजी सङ्गठनमा संलग्न पेशेवरहरू र डाक्टर इन्जिनियरहरू, चार्टर्ड एकाउन्टेन्टहरू जस्ता स्वरोजगार व्यक्तिहरूका लागि बैङ्कले सञ्चालनमा ल्याएको हो ।

पेशागत बचत खाता खोल्नको लागि पेशागत व्यक्तिहरूको भ्यालिड आइडिन्टिफिकेशन अनिवार्य रूपमा आवश्यक पर्दछ । यो खातामा आकर्षक ब्याजदर रहेको खाता खोल्दा न्यूनतम मौज्दात ५०० रुपैयाँ हुनुपर्ने बैङ्कले जनाएको छ । 

सन्तती बचत खाता

१८ वर्ष मुनिका बालबालिकाहरूका नाममा मात्र नेपाल बैङ्कमा सन्तति बचत खाता खोल्न सकिनेछ । यो खाता बाल्यकालदेखि बचत गर्ने बानीलाइ बढावा दिन सञ्चालनमा ल्याएको बैङ्कले जनाएको छ ।

बैङ्कका अनुसार यस खातामा बालबालिकाका आमाबाबुको खाताबाट मासिक रूपमा स्वतः निश्चित रकम जम्मा गर्ने सुविधा प्रदान गरिनेछ । शून्य मौज्दातमा खोल्न सकिने यो खाता बालबालिकाको अभिभावकको अधिनमा निज नागरिकता धारक नभएसम्म रहनेछ भने तत्पश्चात खाताको स्वामित्व सम्बन्धित खातावालामा हस्तान्तरण हुनेछ ।

युवा बचत खाता

नेपाल बैङ्कले युवा बचत खाता १८ वर्ष देखि ३० वर्षसम्मका युवा युवतीहरूलाई लक्षित ल्याएको खाता योजना हो । यो खाता युवाहरुबीच लोकप्रीय रहेको छ । यो खाता पनि शून्य मौज्दातमा नै खोल्न सकिनेछ । यसमा बैंकले उच्च ब्याजदर प्रदान गर्दछ ।

नारी सम्मान बचत खाता

महिलाहरूले मात्रै खोल्न मिल्ने नारी सम्मान बचत खाता योजना नेपाल बैङ्कले नारीहरूको सम्मानमा सञ्चालनमा ल्याएको हो । सम्पूर्ण नारीहरूलाई सम्मान गर्दै बचत गर्ने बानी बसाल्न तथा बित्तीय पहुँच विस्तारका लागि यो खाता योजना महत्त्वपूर्ण हुने विश्वास रहेको बैङ्कले जनाएको छ । न्यूनतम मौज्दात १० हजार रुपैयाँ रहेको नारी सम्मान बचत खाता खोल्दा आन्तरिक रेमिट्यान्स तथा विदेशमा पैसा पठाउँदा लाग्ने शुल्कमा ५० प्रतिशत छुट उपलब्ध हुनेछ ।

खाता भएका ग्राहकहरूले आन्तरिक रेमिट्यान्स पठाएँदा सेवा शुल्कमा ५० प्रतिशत छुट तथा विदेशमा रकम पठाउँदा स्वीफ्ट र आरटिजिएस शुल्कमा ५० प्रतिशत छुट हुने बैङ्कले जनाएको छ । 

भिसा डेबिट काड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट खाता, सीआस्वा र मेरो शेयर रजिष्ट्रेशन सुविधाहरू निःशुल्क रहेको यो बचत खाता योजनामा लकर सेवाको बार्षिक शुल्कमा २५ प्रतिशत छुट र धरौटी राख्न नपर्ने सुविधा रहेका छन् । त्यस्तै यो बचत खाता खोल्ने ग्राहकहरूको ५ लाख रुपैयाँसम्म दुर्घटना बीमा सुविधा हुने बैङ्कले जानकारी दिएको छ । आकर्षक ब्याजदर प्रदा नगरिने यो खाता  महिलाहरुको बीचमा निकै लोकप्रिय रहेको देखिन्छ ।

छोरी सुरक्षा बचत खाता

नेपाल बैङ्कले छोरीहरूको वित्तिय भविष्य सुरक्षित गर्नका लागि छोरी सुरक्षा बचत खाता योजना ल्याएको । स्थानीय निकायसँगको सम्झौता बमोजिम बैङ्कले यो खाता योजना सञ्चालनमा ल्याएको हो । शून्य मौज्दातमा खोल्न सकिने यो खाता सम्बन्धित स्थानीय तहको सिफारिसमा मात्रै खोल्न सकिनेछ ।

यो खाता खोल्दा बालबालिकाको संरक्षक निजको बाबु वा आमा रहनेछ । यदी बाबु-आमा कोही पनि नभएका कारण तेस्रो व्यक्ति संरक्षक राख्नुपर्ने भएमा सम्बन्धित स्थानीय निकायको सिफारिसअनुसार हुने बैङ्कले जनाएको छ ।

सम्बन्धित स्थानिय निकाय वा अन्य व्यक्तिले रकम जम्मा गर्नसक्ने यो खाताको रकम भुक्तानीका लागि तथा खाता बन्द गर्नसमेत स्थानीय तहको सिफारिस आवश्यक हुनेछ । छोरी सुरक्षा बचत खाता खोल्दा नै सम्बन्धित शाखाले उक्त खातालाई डेबिट रेष्ट्रिकसन गर्नुपर्ने हुन्छ भने चेक बुक र भिसा कार्ड पनि बैङ्कले उपलब्ध गराउने छैन । खातावाल बालिका १८ वर्ष पुगेपछि वा नागरिकता पेश गरेपछि मात्र खाताको रकम निज स्वयम्ले मात्र रकम निकाल्न सक्ने बैङ्कले जानकारी दिएको छ ।

समृद्ध नेपाल अभियान बचत खाता

नेपाल बैङ्कले सरकारको समृद्ध नेपाल सुखी नेपालीको नाराअन्तर्गत सञ्चालनमा ल्याएको हो । हरेक नेपालीसम्म बैङ्किङ पहुँच विस्तारका लागि एक व्यक्ति एक बैङ्क खाताको अभियानलाई सघाउ पुर्याउने उद्देश्ले बैङकले यो खाता योजना ल्याएको जनाएको छ ।

शून्य मौज्दातमा खाता खोल्न सकिने समृद्ध नेपाल अभियात बचत खातामा कुनै पनि बैङ्क तथा वित्तीय संस्थामा खाता नरहेका नेपालीले मात्रै खोल्न सक्नेछन् । साथै खाता खोल्नासाथ बैङ्कले नै खातामा न्युनतम ब्यालेन्स रु १०० रुपैयाँ जम्मा गरिदिने गरेको छ । 

रेमिट्यान्स बचत खाता

वैदेशिक रोजगारमा संलग्न व्यक्तिहरूलाई लक्षित गरेर नेपाल बैङ्कले रेमिट्यान्स बचत खाता सञ्चालनमा ल्याएको हो । वैदेशिक रोजगारीमा जाने व्यक्ति र तिनका परिवारले यो खाता खोल्न सक्नेछन् । यस खाताले बैङ्किङ प्रणालीबाट रेमिट्यान्स आगमन सुनिश्चित गर्दछ । खाता खोल्ने अन्य प्रक्रिया बचत खाता सरह हुने यो खाता खाता शून्य मौज्दातमै खोल्न सकिन्छ ।

यद्यपि यस खाता खोल्दा आधारभूत कागजपत्रका साथै वैदेशिक रोजगारीमा जाने व्यक्ति भए भिसा सहितको पासर्पोटको फोटोकपी वा वर्क पर्मिटको फोटोकपी तथा परिवारका अन्य व्यक्तिले खोल्ने भएमा नेपाल बैङ्कमार्फ रेमिट्यान्स प्राप्त गरेको कुनै रसिद वा आफ्नो परिवारको कुनै सदस्य वैदेशिक रोजगारीमा गएको प्रमाण पुग्ने कागजात आवश्यक हुने बैङ्कले जनाएको छ ।

यो खाता खोल्दा विदेशबाट यस खातामा प्राप्त हुने रेमिट्यान्समा कुनै शुल्क नलाग्ने र रेमिट्यान्स बचत खातामा अन्य उच्चतम ब्याजदर भएको बचत खातामाभन्दा १ प्रतिशत बढी ब्याज प्रदान गरिने बैङकले जानकारी दिएको छ । अहिले बिदेशमा रहेका नेपालीहरुबीच यो खाता निकै लोकप्रिय बनेको छ ।

 रेमिट्यान्स मुद्दती खाता

वैदेशिक रोजगारीमा जाने व्यक्ति र तिनका परिवारले नेपाल बैङ्कमा रेमिट्यान्स मुद्दती खाता खोल्न सक्नेछन् । रेमिट्यान्स मुद्दती खातामा अन्य मुद्दतीमा भन्दा १ प्रतिशत बढी ब्याज प्रदान गरिने बैङ्कले जनाएको छ । हाल यो खातामा बैंकले १२.०३ प्रतिशत ब्याज उपलब्ध गराउदैआएको छ जुन नेपालको बाणिज्य बैंकहरुले हाल प्रदान गर्ने उच्चतम ब्याजदर हो ।

कर्मचारी तलब खाता

नेपाल बैङकले कर्मचारीलाई लक्षित गरी कर्मचारी तलब बचत खाता सञ्चालनमा ल्याइरहेको छ । बैङ्कका अनुसार यो बचत खाता निजामती कर्मचारी, प्रहरी, सेना, शिक्षक, विश्वविद्यालयका प्राध्यापक र कर्मचारी, नगरपालिका र गाउँपालिका तथा अन्य निजी तथा सङ्गठित संस्थाका कर्मचारीहरूले खोल्न सक्नेछन् ।

यो खाता खोल्दा अन्य आधारभूत कागजातहरूका साथमा खातावालाको कर्मचारी परिचयपत्र वा सम्बन्धित कार्यालयको सिफारिसपत्र अनिवार्य रूपमा आवश्यक हुने बैङ्कले जनाएको छ ।

त्यस्तै, यो खाता खोल्दा पहिलो वर्षका लागि भिसा डेबिट कार्ड, मोवाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, डिम्याट अकाउन्ट, ओपनिङ एण्ड आस्वा रजिष्ट्रेसन शुल्क निःशुल्क हुनेछ ।

तर दोस्रो वर्षदेखि बार्षिक नवीकरण शुल्क लाग्ने बैङ्कले जानकारी दिएको छ । शून्य मौज्दातमै खोल्न सकिने यो खाता योजनामा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा रहेको छ । यो खातामा बैंकले हाल बाणिज्य बैंकहरुले बचत खातामा प्रदान गर्ने सबैभन्दा बढि अर्थात ८.०३ प्रतिशत ब्याजदर प्रदान गरेको छ ।

सहयात्री बचत खाता 

विवाहित दम्पतिहरूले नेपाल बैङ्कमा संयुक्त रूपमा सहयात्री बचत खाता खोल्न सक्नेछन् । यो खाता विवाहित दम्पतिको संयुक्त नाममा खोलिनेछ । न्यूनतम् मौज्दात ५०० रुपैयाँ राखेर यो खाता खोल्न सकिनेछ भने पहिलो वर्षका लागि भिसा डेबिट कार्ड, मोवाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, डिम्याट अकाउन्ट, ओपनिङ एण्ड आस्वा रजिष्ट्रेसन शुल्क समेत निःशुल्क हुनेछ । यद्यपि, दोस्रो वर्षदेखि बार्षिक नवीकरण शुल्क लाग्ने बैङ्कले जनाएको छ ।

यस खाता योजनामा लकर सेवाको लागि वार्षिक शुल्कमा २५ प्रतिशत छुट हुनेछ भने निःशुल्क एकजोडी एनटिसी प्रिपेड सिम कार्ड पनि उपलब्ध हुने बैङ्कले जनाएको छ । बैङ्कले उपलब्ध गराउने एकजोडी सिम कार्डमा पहिलो ३० दिनका लागि प्रतिदिन १० मिनेको भ्वाइस प्याकेज, १०० एमबि डाटा र १० ओटा एसएमएस सुविधा निःशुल्क रहेको छ भने थप एक महिनाका लागि निःशुल्क वान जिबी डाटा सुविधा निःशुल्क उपलब्ध रहेको छ ।

शुभ ज्ञान बचत खाता

हाल बिद्यार्थिहरुबीच सबैभन्दा लोकप्रिय खाता नेपाल बैंक शुभज्ञान बचत खाता रहेको छ । यो खाता  बिद्यार्थीहरुले शुन्य मौन्दातमा खोल्न सक्नेछन् । यो खातामा बैंकले थुप्रै आकर्षक सुबिधाहरु प्रदान गरेको छ । बैङ्कका अनुसार पहिलो वर्षका लागि भिसा डेबिट कार्ड, मोवाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, डिम्याट अकाउन्ट, ओपनिङ एण्ड आस्वा रजिष्ट्रेसन शुल्क निःशुल्क हुने छ । यो खाता स्कूलदेखि कलेजका बिद्यार्थीहरुले समेत खोल्न सक्नेछन् ।

त्यस्तै, एक पटकका लागि भिसा डेबिट कार्ड, मोवाइल बैङ्किङ इनटरनेट बैङ्किङ रिन्यूअल निःशुल्क हुने बैङ्कले जनाएको छ । निःशुल्क एनटिसी प्रिपेड सिम कार्ड शुरु ब्यालेन्स ५० रुपैयाँका साथमा पहिलो ३० दिनका लागि प्रतिदिन १० मिनेको भ्वाइस प्याकेज, १०० एमबि डाटा एण्ड १० ओटा एसएमएस सुविधा निःशुल्क हुनेछ ।

साधारण मुद्दती खाता

नेपाल बैङ्कमा भुक्तानी म्याद तोकी साधारण मुद्दती खाता खोल्न सकिन्छ । यो खाता खोल्दा न्यूनतम मौज्दात २५ हजार रुपैयाँ हुनुपर्ने बैङ्कले जनाएको छ । यो खाता ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष, ५ वर्ष वा सोभन्दा बढी १० वर्षसम्मको अवधि राखी खोल्न सकिन्छ । हाल यसमा बैंकले उच्चतम ब्याजदर ११.०३ प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ जुन बाणिज्य बैंकहरुले प्रदान गरेको उच्चतम ब्याजदर हो ।

समृद्ध नारी रिकरिङ डिपोजिट खाता

नारी सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले बैङ्कले आकर्षक अफर तथा सेवा सुविधासहित समृद्ध नारी रिकरिक डिपोजिट खाता सञ्चालनमा ल्याइरहेको छ । यो खाता खोल्दा न्यूनतम् ब्यालेन्स २५ हजार रुपैयाँ हुनुपर्नेछ । यसमा मासिक किस्ता २५ हजारको गुणनमा जम्मा गर्न सकिनेछ भने त्रैमासिक भुक्तानीमा उच्च र आकर्षक ब्याजदर उपलब्ध गराइने बैङ्कको जिकिर छ ।

अनलाइनबाट खाता खोल्ने सुविधा रहेको समृद्धि नारी रिकरिङ डिपोजिट खातामा  एक वर्षको लागि होम लोन प्रशोधन शुल्क र लकर शुल्कमा शतप्रतिशत छुट रहेको छ । बैङ्कका अनुसार यो खाता खोल्दा निःशुल्क क्रेडिट कार्ड उपलब्ध हुनेछ भने १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा रहेको छ । नियमीत मासिक आम्दानी हुने महिलाहरुका लागि यो अत्यन्तै राम्रो बचत योजना हो । यस खातामा मुद्दती खातासरह उच्च ब्याजदर प्रदान गरिने बैङ्कले जनाएको छ ।

रिकरिङ डिपोजिट खाता

रिकरिङ डिपोजिट खाता प्राकृतिक व्यक्तिले मात्र खोल्न सक्ने खाता हो । यो खाता खोल्दा न्यूनतम मौज्दात एक हजार रुपैयाँ आवश्यक हुने बैङ्कले जनाएको छ । त्यस्तै, मासिक किस्ता एक हजार रुपैयाँको गुणनमा जम्मा गर्न सकिनेछ भने निक्षेपको अवधिज्ञ १ वर्षसम्म रहेको छ । यस खातामा मुद्दती खाताको प्रचलित ब्याजदर सरह ब्याज प्रदान गरिने बैङ्कले जनाएको छ । नियमित आम्दानी हुने हरेक व्यक्तिहरुको लागि यो बचत योजना निकै आकर्षित बनेको देखिन्छ ।

एनआरएनए निक्षेप खाता

संसारभरका एनआरएन (गैरआवासीय नेपाली)को बचत आवश्यकता पूरा गर्न बैङ्कले ल्याएको बचत खाता योजना हो । गैरआवासीय नेपालीहरूलाई लक्षित गरी सञ्चालनमा ल्याएको यो खाता विदेशमा वस्ने गैरआवासीय नेपालीहरूले अनलाइनबाटै नेपाल बैङ्कमा बिदेशी मुद्रामा बचत र मद्दती खाता खोल्न सक्नेछन् ।

अमेरिकी डलर, पाउण्ड स्टर्लिङ्ग र अष्ट्रेलियन डलरमा नेपाल बैङ्कमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम ब्याज प्रदान गरिने बैङ्कले जनाएको छ ।

बैङ्ककाअनुसार अमेरिकी डलरमा बचत तथा मद्दती खाता खोल्दा बार्षिक ब्याजदर क्रमश ४.५ प्रतिशत र ५ प्रतिशत दिईनेछ भने अन्य विदेशी मुद्राको निक्षेपमा पनि आकर्षक व्याजदर दिने ब्यबस्था गरिएको छ ।

बचत तथा मुद्दती खाता दुबैमा न्युनतम् मौज्दात अमेरिकी डलर १ हजार वा सो बरावरको अन्य विदेशी मुद्रा हुनुपर्नेछ । एनआरएन खाता गैरआवासीय नेपालीहरूले एकल तथा संयुक्तरूपमा तथा गैरआवासीय नेपालीबाट प्रबद्र्धित विदेशस्थित संस्थाको नाममा पनि खोल्न सकिनेछ । यो खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ ।

साथै बैङ्किङ्ग प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिनेछ भने मुद्दती खाता कम्तिमा १ वर्ष वा सो भन्दा बढि अवधिको लागि खोल्न सकिनेछ । यो खाता खोल्दा निःशुल्क भिसा कार्ड र एक वर्षको लागि निःशुल्क इन्टरनेट बैङ्किङ सुविधा उपलब्ध गराएको बैङ्कले जनाएको छ । त्यस्तै, लकर सुविधा लिन चाहेमा खातावालले ५० प्रतिशत छुटसमेत प्राप्त गर्नेछन् । यो खाता अनलाइनको माध्यमबाट संसारको जुनसुकै कुनाबाट पनि खोल्न सकिन्छ ।

 सँस्थागत मुद्दती खाता

नेपाल बैंकले पछिल्लो समय ल्याएको अर्को महत्त्वपूर्ण मुद्दती खाता हो, सँस्थागत मुद्दती खाता। बैकले संस्थाहरुलाई लक्षित गरि यो खाता संचालनमा ल्याएको हो। यो खाता खोल्न सम्बन्धित संस्थाले न्युनतम तीन लाख रुपैयाँ खातामा राख्नुपर्ने हुन्छ।

यसो गर्दा बैंकले संस्थालाई बार्षिक ९.०३ प्रतिशत ब्याज उपलब्ध गराउँछ तर ब्याज भने महिनामा महिनामा कम्पाउण्डिंग हुन्छ। यसरी यस मुद्दती खातामा पैसा राख्दा यस खातामा राखेको पैसाबाट झन्डै ९० प्रतिशत बराबरको रकम संस्थाले आवश्यक पर्दा कर्जा पाउँछन् । 

हालै मात्र बैंकले डबल धमाका मुद्धती खाता सन्चालनमा ल्याएको छ । 

डबल धमाका मुद्धती खाता (ब्यक्तिगत) मा ६ वर्ष ४ महिना २० दिनमा सावाँ रकम डबल हुनेछ । त्यस्तै डबल धमाका मुद्धती खाता (संस्थागत) मा ८ वर्ष १ महिनामा सावाँ रकम डबल हुनेछ । 

डबल धमाका मुद्धती खाता (रेमिट्यान्स)मा पनि राखेको साँवा रकम ५ वर्ष ८ महिना २ दिनमा डबल हुनेछ ।

वि.सं. १९९४ साल कार्तिक ३० गते तत्कालिन राजा त्रिभुवनको हातबाट उद्घाटन भएको नेपालको पहिलो बैक नेपाल बैंकमा अहिले नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर हिस्सा रहेको छ। शुरूवातमा बैङ्ककको पुँजी संरचना सरकारको ४० प्रतिशत र सर्वसाधारणको ६० प्रतिशत रहेकोमा विभिन्न समयावधिमा उक्त अनुपातमा परिवर्तन हुंदै हाल नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर हिस्सा रहेको छ ।

गत आर्थिक वर्षमा बैङ्कले ३ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको हो । सो अवधिमा बैङ्कले एक खर्ब ९६ अर्ब ६ करोड ३९ लाख ५२ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेर एक खर्ब ७१ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved