गत महिना साउनको
पहिलो साता मलेसियाबाट फर्केका एक युवाले आफ्नो जानकारीबिना नै आफ्नो खाताबाट ८
लाख निकालिएको भन्दै क्षतिपूर्तिको दाबीसहित प्रहरी अपराध महाशाखा मिनभवनमा उजुरी
दिए ।
आफ्नो बैंक
खाता रहेको बैंकको मोबाइल एप्सबाट पटक-पटक गरेर ८ लाख झिकेको भन्दै उनले उजुरी
दिएपछि बैंक गल्यो र आफ्नो इज्जत जोगाउन उनलाई ८ लाख फिर्ता दियो । बैंकले रकम नै
फिर्ता दिएपछि ती व्यक्तिले गरेको उजुरी तामेलीमा पर्यो । थप छानबिन भएन ।
यो घटनामा
आफ्ना कुनै पनि कर्मचारीको संलग्नता नभएपनि इज्जत जोगाउनकै लागि क्षतिपूर्ति बापत
८ लाख फिर्ता दिएको उक्त बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजपाटीकर्मीलाई बताए । उनले बिजपाटीसँग आफ्नो बैंकको नाम
उल्लेख नगरिदिनसमेत आग्रह गरे ।
अपराध
महाशाखामा त्यस्तै अर्को एक उजुरी पर्यो, जसमा एक ७० वर्षीय जेष्ठ नागरिकको बैंक
खाताबाट २८ लाख रुपैयाँ हराएको विषय थियो । कोरियाबाट फर्केकी छोरीले नेपालमा घर
किन्न खोज्दा केही रकम अपुग भएपछि पैसा सापटी दिन खोज्दा बैंक खाताबाट २८ लाख
हराएको थाहा भएपछि ती जेष्ठ नागरिक महाशाखा पुगे ।
अनुसन्धानका
क्रममा उक्त पैसा ती ७० वर्षीय जेष्ठ नागरिकको घरमा भाडामा बस्ने एक २१ वर्षीय युवकले
अनाधिकृत रुपमा झिकेको थाहा हुन आयो । र हाल उक्त घटना छानबिनको क्रममा नै रहेको छ
।
बैंकिङ
क्षेत्रमा पछिल्लो समय यी र यस्ता घटनाहरूको यस्ता घटना धेरै हुन थालेका छन् । अपराध महाशाखामा यस्ता उजुरीहरूको चाङ
लाग्न थालेको छ । थाहै नपाइ बैंक खाताबाट पैसा हराउने यस प्रकारका घटनामा विशेष
गरी दुई तरिकाले पैसा झिकिएको अनुसन्धानले बताउँछ ।
पहिलो
तरिकामा प्राय जसो नजिककैको व्यक्तिले ओटीपी कोडको दुरुपयोग गरी मोबाइल एप्स र
इन्टरनेट बैंकिङमार्फत पैसा झिक्ने गरेको पाइएको छ भने दोस्रो तरिकामा खाता खोलेको
लामोसमय सम्म खाता सञ्चालन नगर्दा डोरम्याट हुने र त्यस्तो खातामा प्रयोग गरिने
मोबाइल नम्बर कुनै तेस्रो पक्षले प्रयोग गरी पैसा झिक्ने गरेको देखिएको छ ।
नजिकैको
व्यक्तिले अनाधिकृत रुपमा पैसा झिकेका घटना ढिलो चाँडो थाहा हुने र सम्बन्धित
व्यक्ति पनि पक्राउ हुने अवस्था रहेपनि डोरम्याट खातामा प्रयोग गरिएको मोबाइल नम्बर प्रयोग गरी तेस्रो
पक्षले पैसा झिक्ने घटनामा भने बैंक वित्तीय संस्थामात्र नभई नेपाल टेलिकम र एनसेल
जस्ता टेलिकम्युनिकेशन कम्पनी पनि उत्तिकै जिम्मेवार पाइने गरेका छन् ।
कुनै
व्यक्तिले ६ महिना भन्दा लामो समय उक्त सीम प्रयोग नगरे टेलीकम्युनिकेशन कम्पनीले
उक्त सीम अर्को व्यक्तिलाई दिने गरेकाले उक्त सीमको प्रयोग गरि खोलिएको बैंक
खाताको सम्पूर्ण जानकारी सीमका नयाँ प्रयोगकर्तालाई थाहा हुने गर्छ ।
जसले गर्दा
अधिकांश समय डोरम्याट भएका बैंक खाताबाट पैसा हराउने घटना बढ्दै गएको र यस्तो
घटनाको शिकार प्राय जसो वैदेशिक रोजगारीमा रहेकाहरू हुने गरेको पाइएको छ ।
टेलिकम्युनिकेशन
कम्पनीसँग सीमको सङ्ख्यामा सीमितता हुने गरेकाले ६ महिना भन्दा बढी प्रयोग नभएका सीम
पुन: अर्को प्रयोगकर्तालाई दिनुपर्ने बाध्यता भएको नेपाल दूरसञ्चार प्राधिकारणको तर्क
छ भने बैंक खाता खोल्दा ग्राहकले दिने मोबाइल नम्बर कुन व्यक्तिको नाममा छ र
सम्बन्धित ग्राहकलाई नै खाताको बारेमा जानकारी गएको छ छैन भनेर पत्ता लगाउने 'सिस्टम' बैंकसँग नहुने भएकाले बैंकहरुलाई पनि
बाध्यता रहेको नेपाल राष्ट्र बैंकको भनाइ छ ।
एउटा
ग्राहकलाई एउटा सीम मात्र दिँदा सीमको 'रेञ्ज' को सीमितताले एनसेल, टेलिकम
जस्ता कम्पनीलाई गाह्रो हुने र ६ महिनासम्म प्रयोग नभएपछि उक्त सीम अर्को
ग्राहकलाई दिँदा बैंक खाताको जानकारी चुहिने अवस्था भएकाले आफूहरु मिलेर यसको
समाधान खोज्न लागिपरेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेलले
बिजपाटीलाई बताए ।
यसका लागि
नेपाल दूरसञ्चार प्राधिकारणका नियमन महाशाखाका प्रमुख अम्बर स्थापितको संयोजकत्वमा
एउटा समिति गठन भएको छ । उक्त समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट राष्ट्र बैंक
भुक्तानी प्रणाली विभागका सहायक निर्देशक विनोद बजगाँई समेत रहेका छन् ।