
गत आर्थिक वर्ष उल्लेख्य आम्दानी गरेको वित्तीय विवरण गरेका बैंकहरुको आम्दानीमा राष्ट्र बैंकले कैंची चलाएको छ। विभिन्न प्रकारका प्रोभिजन र नियमविपरित ऋणीबाट लिइएको प्रिमियमबापत मोटो रकम व्यवस्थापन गर्नलाई राष्ट्र बैकले निर्देशन दिएपछि लाभांश वितरणको मुखैमा रहेका बैंकहरुको आम्दानीमा ठुलो धक्का लाग्न पुगेको हो ।
बैंकहरुले स्वीकृतिका लागि पठाएको गत आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेख आम्दानीबाट प्रोभिजन र बढी लीइएको प्रिमियमबापतको रकम छुट्याएर अलग्गै खातामा राख्नलाई राष्ट्र बैंकले निर्देशन दिएपछि बैंकहरुको आम्दानीमा ठुलो धक्का लागेको हो ।
कोरोनापश्चात पनि निर्देशित कर्जाहरुको प्रोभिजन नगरिएको र नियमविपरीत बढी प्रिमियम उठाएको पाइएपछि यस्तो पैसा आम्दानीबाट थप प्रोभिजन गरेर संसोधित वित्तीय विवरण पेश गर्न निर्देशन दिइएको राष्ट्र बैंकका बैंक सुपरीवेक्षण विभागमा कार्यकारी निर्देशक देव कुमार ढकालले बताए ।
उनका अनुसार बैंक वित्तीय संस्था ले स्वीकृतिका लागि पठाएको वितिय विवरणमा आवश्यक प्रोभिजन भए नभएको हेरेर त्यहीअनुसार निर्देशन दिनु राष्ट्र बैंकको नियमित काम हो । कोभिडमा धेरै कुरामा सहज बनाएकाले अहिले पनि त्यस्तै अवस्था छ छैन भनेर हेर्दा केही कडाइ गरेजस्तो देखिएको भएपनि यो नियमित प्रक्रिया हो।
यद्यपि वित्तीय विवरण स्वीकृत गर्नुअघि राष्ट्र बैंकले अहिले चालेको कदम विगतको वर्ष भन्दा धेरै फरक र कडा भएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजपाटीलाई बताए ।
ती सीइओकाअनुसार यसपटक राष्ट्र बैंकले धेरै कडाइ गरेको छ। विशेष गरी विभिन्न प्रकारका कर्जामा गर्नुपर्ने प्रोभिजन र कर्जामा नियमविपरित लिइएको प्रिमियम बापतको रकम आम्दानीबाट घटाएर अलग्गै खातामा राख्नलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।
ती सीइओ भन्छन , 'प्रोभिजन र बढी लिएको प्रिमियमको पैसा आम्दानीबाट घटाएर अर्को खातामा पार्किङ गरेर राख्नलाई राष्ट्र बैंकले निर्देशन दिएको छ। यति मात्र नभई बढी लिएको प्रिमियमको पैसा ऋणीलाई फिर्ता गर्ने समय पनि हामी नै भन्छौं भनेर राष्ट्र बैंकले भनेको छ । लाभांश क्षमतामा ठुलो धक्का लागेको छ ।'
यस्तो निर्देशनकै कारण एक कमर्शियल बैंकको आम्दानी डेढ अर्बले घट्न पुगेको छ। उसले गत आर्थिक वर्षको वित्तीय विवरणमा देखाएको आम्दानीबाट डेढ अर्ब घटाएर ल्याउनलाई राष्ट्र बैंकले निर्देशन नै दिइसकेको छ। यस कारण उक्त बैंकको लाभांश क्षमता डेढ अर्बले घटेको हो । जस कारण उक्त बैंकसँग लाभांशबापत बाड्नका लागि अब केही करोड मात्र बाँकी छ ।
विशेष गरी कम्प्ल्यान्समा नरहेका बैंकहरु राष्ट्र बैंकको यो कदमबाट बढी प्रभावित भएका छन् । छोटो अवधिमा धेरै नाफा देखाएर बढी लाभांश दिने चाहना बोकेका बैंकहरुको आम्दानीमा ठुलो धक्का लागेको छ ।
भुटान, भारत, माल्दिभ्स, पाकिस्तानजस्ता छिमेकी मुलुकहरुका बैंकहरुमा भन्दा फरक दृश्य नेपालका बैंकमा देखिएपछि 'दाल मे कुछ काला' है भन्ने निष्कर्ष निकाल्दै राष्ट्र बैंकलाई 'कम्प्लायन्स' मा जोड दिन अन्तर्राष्ट्रिय मुद्रा कोषले दिएको निर्देशनको परिणाम भएको जानकारहरुको भनाई छ ।
जानकार भन्छन, 'छिमेकी मुलुकका बैंकमा कोरोनाको प्रभाव देखिएपनि नेपालका बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा सकारात्मक सुधार देखेपछि अन्तराष्ट्रिय मुद्रा कोषले चासो बढाएको हो। अन्तराष्ट्रिय मुद्रा कोषले राष्ट्र बैंकमै बसेर त्यहाँ डण्डा चलाउन थालेपछि राष्ट्र बैंकले पनि बैंकहरुलाई 'पेल्न' थालेको हो। यसैको परिणाम अहिले बैंकहरुको वित्तीय विवरणमाथिको कडाइ हो ।
यस अघि :
राष्ट्र बैंकमा ब्यालेन्सशीट पठाउन हच्किए बैंकहरू, लाभांश घोषणामा ढिलाइ हुने