शाखारहित बैंकिङको अभिसाप : पैसा उठाउँदै खाँदै माछापुच्छ्रेका एजेन्ट, अंशवण्डाको झगडाले खुल्यो पोल

ईश्वर अर्याल/बिजपाटी

ईश्वर अर्याल/बिजपाटी

Oct 19, 2022 | 12:21:00 PM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवाबाट २४ किलोमिटर पश्चिममा रहेको सम्मरीमाई गाउँपालिकाका दयाराम अहिर गत भदौमा माछापुच्छ्रे बैंकमा आफूले पटक-पटक जम्मा गरेको १५ लाख ५० हजार लिन शाखारहित बैंकिङका स्थानीय एजेन्ट निरन्जन पाठककोमा पुगे । पाठकले खातामा पैसा छैन, म मिलाएर केही दिनमा दिन्छु भनेपछि अहिरलाई शंका लाग्यो । बैंकमा पैसा जम्मा गर्न स्थानीय एजेन्ट पाठकलाई दिएको पैसाको भौचर अहिरको हातमा थियो तर नजिकको भैरहवा शाखामा गएर बुझ्दा खातामा पैसा भने थिएन ।

माछापुच्छ्रे बैंकले ५ वर्षअघि लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्तासमेत रहेका पाठकलाई शाखारहित बैंकिङको एजेन्ट बनाएको थियो । उनलाई बैंकले कारोवार गर्न एउटा ट्याब र शाखारहित बैंकिङको एउटा बोर्ड दियो । अनि एउटा स्टाफका रूपमा सिकन्दर ठाकुरलाई खटायो ।

ठाकुरका अनुसार शाखारहित बैंकिङ शुरू भएको पहिलो दिनदेखि नै पाठकले शाखारहित बैंकिङलाई समानान्तर बैंकिङ बनाउन शुरू गरे । बैंकका ग्राहकहरूबाट निक्षेप उठाउने क्रममा अलि जानेबुझेको जस्तो देखिने ग्राहकसँग पैसा लिएर उनले ट्याबमार्फत सम्बन्धित व्याक्तिको एकाउन्टमा पैसा जम्मा गरिदिए । अलि सोझासाझा देखिनेलाई उनले भौचर त दिए, तर पैसा आफैंले राखे । खातामा जम्मा गरिदिएनन् ।

यसै गरी पाठकले स्टाफ ठाकुर प्रयोग गरेर स्थानीयको डेढ करोड भन्दा बढी रकम आफैंले अपचलन गरेको प्रारम्भिक आंकलन माछापुच्छ्रे बैंकले गरेको छ  । ग्राहकले बैंकमा पैसा जम्मा गरेको भौचर हातमा हुन्छ तर तर खातामा पैसा हुँदैन ।



अहिरजस्तै अर्का पीडित हुन् सम्मरीमाई गाउँपालिका ७ का रामदास लोध । कतारमा रहेका उनका दुई छोराले महिनैपिच्छे पठाएको पैसा उनले बैंकमा जम्मा गर्न ठाकुरलाई दिएर भौचर लिने गरेका थिए । छोराहरूले पठाएको पैसाले घर बनाउने योजनाकासाथ ४ लाख भन्दा बढी जम्मा गरेका लोध गत साउनमा बैंककै शाखामा गएर बुझ्दा आफ्नो खातामा जम्मा ९० हजार मात्र रहेको थाहा पाए । यहाँ पनि उस्तै, उनले शाखारहित बैंकिङमार्फत डिपोजिट गरेको पैसाको भौचर हातमा छ, तर बैंक खातामा पैसा छैन ।

सम्मरीमाई गाउँपालिकाका अहिर र लोध जस्ता सयौं व्यक्तिहरू स्थानीय एजेन्ट पाठकबाट ठगिएका छन् । माछापुच्छ्रे बैंकले निकै ढिलो गरी थाहा पाएको उक्त ठगीधन्दा विगत ५ वर्षदेखि समानान्तर बैंकिङका रूपमा सम्मरीमाई गाउँपालिकामा चलिरहेको थियो । स्थानीय क्षेत्रमा धाकधक्कु चलाउन सक्ने पाठकले बैंक र बैंकका ग्राहकलाई यसरी गुमराहमा राखे कि, अहिले त्यो घटनाले 'शाखारहित बैंकिङ' अवधारणाकै मुकुण्डो उतारिदिएको छ । देशभरि संचालित यस्ता बैंकिङ सेवामाथि प्रश्न उठाइदिएको छ ।  

दाजुभाइको अंशबण्डा झगडाले ठगीधन्दाको पर्दाफास

पाठकले आफूलाई १५ लाख भन्दा बढी ठगेको थाहा पाएपछि अहिर छाँगाबाट खसेजस्तो भए । अहिर यो घटनालाई बाहिर ल्याउन चाहन्थे । प्रहरीमा उजुरबाजुर गर्नेबारे पनि अहिरले सोचेका थिए तर उनलाई यसमा प्रहरीको पनि मिलेमतो छ जस्तो  लाग्न थाल्यो । गाउँमा धाकधक्कु जमाउने पाठकविरुद्ध उजुरी गर्न उनले सकेनन् ।

ठीक त्यति नै बेला पाठकका तीन दाजुभाइ बीचमा अंशबण्डाको विवाद चलिरहेको थियो । पाठकका जेठा दाजु बैजनाथ पाठक, माहिला निरन्जन पाठक र कान्छा भाइ सुनिल पाठकबीच अंशलाई लिएर चलेको झगडालाई अहिरले फाइदाका रूपमा लिने योजना बनाए । उनले कान्छो भाइ सुनिलसँग मिलेर दाजुले गरेको ठगीधन्दा बाहिर ल्याउन प्रयास गरे ।

रिसै-रीसमा निरन्जनका भाइ सुनिल र ठगिएका अहिर मिलेर स्थानीय सञ्चारमाध्यममार्फत ठगीधन्दा बाहिर ल्याए । उक्त प्रकरण सञ्चारमाध्यममार्फत बाहिर आएपछि ठगीधन्दा भएको जेठमै थाहा पाएको बैंक बोल्न बाध्य भयो ।

बैंकले एक विज्ञप्ति जारी गर्दै उक्त घोटाला बैंकबाट नभई सम्बन्धित व्यवसायिक प्रतिनिधीबाट भएको प्रष्ट पार्यो । बैंकले रकम दुरुपयोग गर्ने व्यक्तिहरुमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएकाले सबै पीडितहरुलाई सम्बन्धित प्रहरी कार्यालयमा उजुरी दिन अनुरोधसमेत गरेको थियो ।


बैंकले निकालेको विज्ञप्ति


बैंकले गत जेठमै पत्ता लगाएको थियो निरन्जनको ठगीधन्दा

गत जेठमा बैंकले भैरहवा शाखाबाट केही कर्मचारी पाठक एजेन्ट रहेको शाखारहित बैंकिङको अनुगमन गर्न पठायो । त्यहाँस्थित बैंकका एक कर्मचारीका अनुसार 'हामी आउँदै छौं' भनेर पाठकलाई जानकारी गराएर नै अनुगमन शुरू भएको थियो ।

अनुगमनमा जाँदा पाठकको कार्यालयमा ती कर्मचारीले बैंकको भौचर देखे, जुन उनीहरूलाई शंकास्पद लाग्यो । शाखारहित बैंकिङमा भौचरको प्रयोग हुँदैन । ग्राहकले जम्मा गर्ने पैसा ट्याबमार्फत तत्कालै सम्बन्धित खातामा जम्मा हुने, निकाल्न खोजेको पैसा तत्काल त्यही ट्याबमा कार्ड स्वाइप गरेपछि एजेन्टले दिने अनि दुवै अवस्थामा ट्याबबाट सानो स्लिप प्रिन्ट हुने गर्दछ ।

त्योबाहेक उक्त बैंकिङ प्रणालीमा पैसा जम्मा गरेको भौचर, पैसा जम्मा गरेको र निकालेको तथ्यांक राख्न लेजरसमेतको प्रयोग हुँदैन । यो कुरा ग्राहकलाई थाहा थिएन । पाठकले भौचर र लेजर प्रयोग गरेर डेढ करोड भन्दा बढी रकम ठगी गरेका हुन् ।

टेबलमा भौचर देखेपछि ती कर्मचारीलाई शंका लाग्यो । उनीहरू फर्केर बैंकमा आफूहरूले भौचर देखेको र अफलाइन कारोवार अर्थात ठगीधन्दा चलिरहेको हुनसक्ने बताएपछि काठमाडौँस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेका सीईओ सन्तोष कोइरालाले अनुगमनका लागि अर्कोपटक स्पेसल टीम पठाए ।

उक्त टीमले त्यहाँ देखिएको भौचर र लेजर फाइल हेर्यो । शाखारहित बैंकिङको आवरणमा पाठक र ठाकुरले समानान्तर बैंकिङ चलाएको निष्कर्षसहित बैंकले एजेन्ट पाठकसँगको सम्झौता रद्द गरेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा गत असार ६ गते उजुरी दियो ।


बैंकले पाठकसँग सम्झौता रद्द गरेको सूचना


प्रहरी कार्यालयका डीएसपी श्याम अर्यालले बिजपाटीसँग भने - 'बैंकले सम्मरीमाई गाउँपालिकामा शाखारहित बैंकिङ संचालनका क्रममा स्थानीय एजेन्टले ठगीधन्दा गरिरहेको र ठगीमा परेकाको उजुरी आएमा त्यसउपर कारवाही गर्न र बैंकलाई जानकारी दिन आग्रहसहितको निवेदन दिएको छ । तर अहिलेसम्म पीडित भनिएकाहरूको उजुरी भने आएको छैन ।'

किन आएन पीडितको उजुरी ?

बैंकका अनुसार पाठकले आफूले ठगी गरेको स्वीकारेका छन् र ठगी गरेको रकम आफ्नो जायजेथा बेचेर भएपनि तिर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाठकले स्थानीय पीडितलाई पनि आफूले जसरी पनि पैसा तिर्ने भन्दै उजुरी नगर्न आग्रह गरिरहेको त्यहाँस्थित पीडितहरू बताउँछन् । नाम उल्लेख नगर्ने शर्तमा ३ लाख भन्दा बढीको ठगीमा परेका एक पीडितले बिजपाटीलाई भने, 'आफ्नै गाउँको दाजुभाइ हो । पैसा जसरी पनि दिन्छु भनिरहेको छ त्यसैले अहिले नै उजुरी गर्न किन हतार गर्नुपर्यो भनेर प्रहरीकोमा गएको छैन म ।'

निरन्जन पाठक

पाठकले उजुरी गर्न खोज्नेहरूलाई धम्क्याउने पनि गरेका छन् । 'उजुरी गर्न गए राम्रो नहुने र गाउँमा बस्नलायक नराख्ने भन्दै पाठकले धम्की पनि दिइरहेको छ,' अर्का एक पीडितले भने, 'उ स्थानीय गुण्डा पनि हो । राजनीतिक आड रहेको छ । अझ मर्चवार क्षेत्र निकै असुरक्षित ठाउँ हो । त्यहाँ मान्छेमाथि कुटपिट र हत्याहिंसा सामान्य जस्तै छ । डरका कारण कोही उजुरी दिन जान मानिरहेको छैन ।'

गत स्थानीय निर्वाचनमा लोसपाको तर्फबाट सम्मरीमाई गाउँपालिका अध्यक्षमा उठेर हारेका उम्मेदवार हुन् पाठक । त्यहाँ उनको ठूलै रवाफ चल्ने गर्छ । पाठकले आफूविरुद्ध उजुरी दिए सिध्याइदिने भन्दै पीडितलाई धम्कीसमेत दिने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी अर्यालले उजुरी नै नआएका कारण कसैलाई समातेर अनुसन्धान गर्न नसकिएको बताउँछन् । 'उजुरी परेको छैन त्यसैले अनुसन्धान अघि बढाउन पाइएको छैन । सम्बन्धित पीडित आएमा हामी कानूनी कारवाहीमा अघि बढ्छौं,' अर्यालले भने ।

मलाई यो छुट्टै बैंकजस्तै लाग्यो अनि फस्न पुगें - ठाकुर  

शाखारहित बैंकमा स्टाफका रूपमा काम गरेका सिकन्दर ठाकुर पाँच वर्षअघि भैरहवामा सामान्य ठेक्कापट्टाको काम गर्थे । शुरूमा एजेन्ट पाठकले अनुपकुमार पाठकलाई काम लगाएपनि ५/६ दिन पछि अनुपले काम नगर्ने भनेपछि ठाकुरलाई सम्पर्क गरियो ।

'माछापुच्छ्रे बैंकमा काम गर्ने भनेर बोलाएपछि म छक्क परें । अर्थशास्त्र र एकाउन्ट पनि नपढेको म जस्तो मान्छेले यत्रो ठूलो बैंकमा कसरी जागिर खान पाउँछु होला भन्ने लागेको थियो । तर योग्यता केही नचाहिने, सामान्य मान्छेले गर्न सक्ने काम हो भनेपछि म एक हप्ताको विदा लिएर गाउँ फर्कें । मलाई शाखारहित बैंकिङबारे केही थाहा थिएन,' ठाकुरले बिजपाटीसँग भने ।


सिकन्दर ठाकुर


उनले यो छुट्टै बैंक भएकाले यहींबाट पैसा लिने, यहीं खर्च गर्ने हो जस्तो आफूलाई लागेको प्रतिकृया दिएका छन् । पाठकले उनलाई भौचर भरेर र लेजरमा तथ्यांक राखेर ग्राहकसँग पैसा लिन सिकाएको र फिर्ता गर्दा पनि सोही प्रकृयाअनुसार गर्न अह्राएको आरोप ठाकुरले लगाएका छन् ।

उनले बैंकले आफूलाई दुई वर्षपछि मात्र तालिम दिएको र त्यतिबेलासम्म सयौं ग्राहकको पैसा बैंकमा जम्मा नगरी आफूहरूले नै चलाएको बताए । 'एकपटक एकजना ग्राहकले ६० हजार जम्मा गरे, मैले भौचर भरेर लेजरमा लेखें । त्यसपछि बैंकमा जम्मा गर्छु भनेर पाठकले उक्त पैसा लिएर गए । फर्केर आएपछि ६० हजार बाटैमा खर्च भयो भनेर मलाई भने । उनले पैसा खर्च हुन सक्ने र त्यसले केही फरक नपार्ने बताएपछि म पनि ढुक्क भएको थिएँ,' ठाकुरले भने ।

शाखा खोलेको पहिलो दिनदेखि नै अफलाइन कारोवार शुरू भएको दाबी ठाकुरले गरेका छन् । 'कारोवार मिल्छ भन्दा भन्दै ५ वर्ष बित्यो, तर कहिल्यै मिलेन । म फँस्न पुगें । बैंकले पनि निरन्तर फलोअप गर्न सकेन । यहाँको अडिट गरेन । एउटा मेसिन र बोर्ड दिएर छोड्यो । बैंकले सधैं चासो दिने गरेको भए यहाँ यति ठूलो घोटाला हुने थिएन ।'

उनले आफूले लिएको रकम इमान्दारिताका साथ फिर्ता गर्ने दाबी पनि गरे । 'मैले उठाएको पैसा कतिपयलाई दिइसकेको छु र कतिपयलाई दिने प्रक्रियामा छु,' उनले भने, 'जानी नजानी गल्ती भयो तर इमान्दारीपूर्वक पैसा फिर्ता गर्छु भनेको छु । अनलाइन खातामा पैसा नदेखिएको मात्र हो, अफलाइनमा सबै चुस्त दुरुस्त छ ।'

राष्ट्र बैंकसमेत तनावमा

राष्ट्र बैंकले ७ वर्षअघि वाणिज्य र विकास बैंकहरूलाई शाखारहित बैंकिङ सुविधा उपलब्ध गराउन स्वीकृति दिएको थियो । अहिलेसम्म सबै वाणिज्य बैंकहरूले यस्तो सुविधा बिस्तार गरेका छन् । आक्रामक प्रभाव बिस्तार गर्ने ध्याउन्नमा लागेका बैंकहरूले यसबाट हुन सक्ने ठगी धन्दाको जोखिम व्यवस्थापन गर्नेतर्फ कुनै ध्यान दिएनन् ।

माछापुच्छ्रे बैंक आफैंले आफ्नो एजेन्टबाट ठगी धन्दा भएको स्वीकार्दै प्रहरीको शरणमा पुगेपछि अन्य बैंकहरूले पनि यसबारे आन्तरिक सत्यतथ्य पत्ता लगाउन कोशिस गरिरहेका छन् । यतिबेला सबैभन्दा बढी तनाव भने राष्ट्र बैंकलाई परेको छ । वाणिज्य बैंकहरूले देशैभर दूरदराजमा हजारौं शाखारहित बैंकिङ स्थापना गरेर कारोवार गरेका छन् ।

दूरदराजमा रहेका आम सर्वसाधारणलाई भौचरको प्रयोग गरेर सजिलै मूर्ख बनाउन सकिने र ठगी गर्न सकिने भएकाले जनताबाट अर्बौं रकम यसरी ठगी भएको हुनसक्ने प्रारम्भिक निष्कर्षमा राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंक यसबारे अहिल्यै बोल्न पनि चाहन्न तर तनावमा रहेको कर्मचारीहरूको भनाइले पुष्टि गर्छ । 'हामी आन्तरिक अनुसन्धानमै छौं । बैंकहरूसँग समन्वय गरेर के भएको छ भन्ने विषयमा छलफलमै रहेकाले अहिले यसबारे थप नबोलौं,' राष्ट्रबैंकका एक कर्मचारीले भने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved