नेपालका बैंक तथा वित्तीय संस्थामा भएका कारोबार मध्ये शंकास्पद कारोबार ८१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकमा रहेको ‘फाइनान्सियल इन्टेलिजेन्स युनिट–एफआईयू नेपाल’ को प्रतिवेदनले आर्थिक वर्ष ७७/७८ को तुलनामा आर्थिक वर्ष ७८/७९ मा शंकास्पद कारोबार ८१.३४ प्रतिशतले बढेको हो।
प्रतिवेदन अनुसार आर्थिक्व वर्ष ७७/७८ मा बैंक तथा वित्तीय संस्थाले १५ सय ३३ वटा शंकास्पदबारे राष्ट्र बैंकमा जानकारी गराएकोमा आर्थिक वर्ष ७८/७९ मा सो संख्या बढेर २७ सय ८० पुगेको हो । सबै भन्दा बढी शंकास्पद कारोबारको जानकारी वाणिज्य बैंकबाट आएका छन् । २७ सय ८० शंकास्पद कारोबार मध्ये २३ सय ८० वटा वाणिज्य बैंक मार्फत भएका हुन् । त्यस्तै विकास बैंकबाट ११९ वटा, फाइनान्स कम्पनीबाट १९ वटा, बीमा कम्पनीबाट ९ वटा, लघुवित्तबाट ४४ वटा, रेमिटेन्स कम्पनीबाट १८७ वटा शंकास्पद कारोबारबारे राष्ट्र बैंकमा जानकारी पुगेको छ । त्यस्तै ब्रोकर कम्पनीबाट ८ वटा, सहकारी बाट ३ वटा र अन्य सरकारी निकायबाट ११ वटा शंकास्पद कारोबारको जानकारी राष्ट्र बैंकमा गरिएको प्रतिवेदनमा उल्लेख छ ।
सम्पत्ति शुद्धीकरणलगायत वित्तीय अपराधसँग सम्बन्धित गतिविधि राष्ट्र बैंकमा जानकारी गराउनु पर्ने ब्यबस्था रहेकोमा बैंक तथा बित्तिय संस्थाहरुले शंकास्पद रहेका कारोबार बारे राष्ट्र बैंकमा रिपोर्टिग गरेका हुन्। यो शंकास्पद कारोबारको संख्या हो । राष्ट्र बैंकले यसलाई सस्पिसियस ट्रान्जेक्सन रिपोर्टिङ (एसटीआर) भन्ने गरेको छ । त्यस्तै शंकास्पद क्रियाकलाप अर्थात् सस्पिसियस एक्टिभिटी रिपोर्टिङ (एसएआर) को संख्या १०६८ वटा रहेको छ ।
बैंक तथा वित्तीय संस्थाले शंकास्पद कारोबारबारे जानकारी गराउंदा उक्त शंकास्पद कारोबारको तह पनि उच्च, मध्यम र नयन गरेर उल्लेख गरि पठाउनु पर्ने ब्यबस्था छ । जस अनुसार २५.१४ प्रतिशत शंकास्पद कारोबार उच्च शंकास्पद र ३०.३२ प्रतिशत कारोबार मध्यम शंकास्पद रहेका छन् ।
सम्पत्ति शुद्धीकरण निवारण ऐनमा शंकास्पद कारोबार बारे रिपोर्टिङ गर्नु पर्ने उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले नै ग्राहक, कारोबार वा सम्पत्ति शंकास्पद लागेमा तीन दिनभित्र वित्तीय जानकारी ईकाइलाई पठाउनुपर्ने ऐनमा व्यवस्था छ ।