नक्सालको तरकारीबजार निरीक्षणमा गभर्नर अधिकारी, 'क्यूआर'बाट तरकारी र चियाको पैसा तिरे [तस्वीर]

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2022 | 12:45:20 PM मा प्रकाशित

laxmi  sunrise bank

गभर्नर महाप्रसाद अधिकारीले नक्सालको तरकारीबजारमा क्यूआर कोडको स्थलगत निरीक्षण गरेका छन् । दुई वर्ष अगाडि क्यूआर कोडको 'औपचारिक' सुरुवात गरिएको काठमाण्डौको नक्सालस्थित तरकारी बजार र चिया पसलमा गभर्नर अधिकारीले स्थलगत निरीक्षण गरेका हुन् ।

दुई वर्ष अगाडि आजकै दिन पुष १० गते गभर्नर अधिकारीले नक्सालस्थित तरकारी बजारमा सानिमा बैंकको क्यूआर कोड राखेर यसको औपचारिक सुरुवात गरेका थिए ।

स्थलगत निरीक्षणको क्रममा गभर्नर अधिकारीले तरकारी बजारमा एउटा पसलबाट किनेको तरकारीको र चियाको पैसा क्यूआर कोडबाट भुक्तानी गरेका छन् । स्थलगत निरीक्षणको क्रममा गभर्नर अधिकारीसँगै उनको सचिवालयका केही सदस्य तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे पनि उपस्थित थिए ।

काठमाडौँ उपत्यकामा मात्र नभई उपत्यका बाहिरका धेरै ठाउँमा पनि क्यूआर कोडको विस्तार भएकोमा खुसि व्यक्त गर्दै गभर्नर अधिकारीले यसलाई थप देशव्यापी बनाउनुपर्ने धारणा समेत व्यक्त गरेका छन् ।

गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको र सोहीअनुसार नीति निर्माण गरी सरोकारवालाहरुलाई यसको विस्तारमा प्रोत्साहन गरिरहेको बताएका छन् ।

२०७८ कात्तिक मसान्तसम्म क्यूआर कोड मार्फत १३ लाख ८७ हजार ५८४ वटा कारोबारबाट ५ अर्ब ३६ करोड २० लाखको कारोबार भएकोमा २०७९ कात्तिक मसान्तसम्म आइपुग्दा यसको प्रयोग उल्लेख्य बढेको छ । यो एक बर्षको अवधिमा कारोबार बढेर ४६ लाख १२ हजार वटा कारोबारबाट १६ अर्ब १४ करोड ४० लाखको कारोबार भएको छ। 






तस्वीर - सन्दिप घिमिरे/बिजपाटी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved