
वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। आज एकै दिन वित्तीय विवरण सार्वजनिक गरेकामध्ये तेह्र वटाले मुनाफा बढेको र सातले घटेको वित्तीय विवरण सार्वजनिक गरेका छन्।
खुद मुनाफालाई प्रतिशतमा हेर्दा एभरेष्ट बैंकको सबैभन्दा बढी अर्थात ८९ प्रतिशतले खुद मुनाफा बढेको छ भने सबैभन्दा कम अर्थात कृषि विकास बैंकको १०९ प्रतिशतले मुनाफा घटेको छ। तर रकमको आधारमा भने नबिल बैंकले सबैभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ भने एनआईसी एसिया र ग्लोबल आइएमई बैंकले नबिललाई पछ्याएका छन्।
पुस मसान्तसम्म्म नबिल बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ भने उसलाई पछ्याएको एनआईसी एसियाले ३ अर्ब २७ करोड र ग्लोबल आइएमईले २ अर्ब ७८ करोड खुद मुनाफा आर्जन गरेका छन्। नेपाल बंगलादेश बैंकलाई गाभेको कारणले पनि उसको नाफा धेरै बढेको देखिन्छ। त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
खुद मुनाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेका अन्य बैंकको भने खुद मुनाफा २ अर्ब रुपैयाँभन्दा कम छ। जसमा एनएमबिले १ अर्ब ९० करोड, एभरेष्टले १ अर्ब ५८ करोड, सानिमाले १ अर्ब २८ करोड, स्ट्याण्डर्ड चार्टडले १ अर्ब ७५ करोड, नेपाल एसबिआईले १ अर्ब १७ करोड, लक्ष्मीले १ अर्ब ७ करोड, माछापुछ्रेले १ अर्ब २ करोड, हिमालयनले ९५ करोड, सिभिल बैंकले ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
त्यस्तै प्राइम, प्रभु, सनराइज, नेपाल बैंक, सिद्दार्थ बैंक, सिटिजन्सको खुद मुनाफा घटेको छ। प्राइमको खुद मुनाफा २ करोडले, प्रभुको ७ करोडले, सनराइजको ९ करोडले, कृषि विकास बैंकको १४ करोडले, नेपाल बैंकको २४ करोडले, सिद्दार्थको ४१ करोडले, सिटिजन्स इन्टरनेश्नलको ३९ करोडले, खुद मुनाफा घटेको छ।
हालै मर्जर सम्पन्न गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण गर्न अझैं बाँकी छ।
ऋणीहरुले समयमै कर्जाको सावाँ ब्याज तिर्न नसकेको असर बैंकहरुको वित्तीय विवरणमा देखिएको छ। पछिल्लो समय बढ्दो ब्याजले कर्जाको ब्याज बढ्न जाँदा आर्थिक भार बढ्न गई ऋणीहरुले सावाँ ब्याज तिर्न नसकेपछि खराब कर्जा बढ्न गएको हो। नतिरिएको त्यस्तो कर्जा ब्यवस्थापन गर्दा अर्थात बैकहरुको प्रोभिजन बढ्दा यसको प्रत्यक्ष असर मुनाफामा देखिएको हो।