वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको आफ्नो व्यवसायको अवस्था (वित्तीय विवरण) अनुसार केहीबाहेक अधिकांश वाणिज्य बैंकको खराब कर्जा बढेको देखिएको छ । पुष मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका २१ वाणिज्य बैंक मध्ये हिमालयन बैंकको खराब कर्जा सबैभन्दा बढी अर्थात ३.२९ प्रतिशतले बढेको छ । सबैभन्दा कम एभरेष्ट बैंकको ०.२९ प्रतिशतले बढेको छ ।
खराब कर्जाको लागि प्रोभिजन गर्नुपर्ने भएकाले बढी खराब कर्जा हुने बैंकहरुको नाफा पनि प्रभावित भएको हो । सनराइज, प्राइम, सिभिल, ग्लोबल, नबिल र कृषि विकास बैंकको खराब कर्जा वृद्धिदर औषतभन्दा बढी छ ।
उठ्न नसकेको कर्जाको लागि बैंकहरुले छुट्याउनुपर्ने पैसा अर्थात प्रोभिजन गर्नुपर्ने पैसालाई खराब कर्जा भनिन्छ । गत आर्थिक वर्षको पुष मसान्तसम्ममा औषतमा १.०५ प्रतिशत रहेको खराब कर्जा अहिले पुष मसान्तसम्म अर्थात एक वर्षको अवधिमा बढेर २.२८ प्रतिशत पुगेको छ ।
प्रतिशतमा हेर्दा एक वर्षको अवधिमा खराब कर्जा शतप्रतिशतभन्दा बढी अर्थात ११६.०७३ प्रतिशतले बढ्नुलाई विभिन्न दृष्टिकोणबाट व्याख्या गर्न थालिएको छ ।
बैंकले लगानी गरेको कर्जा उठ्न नसक्नु भनेको अर्थतन्त्रमा केही समस्या हुनु हो । यसरी कर्जा उठ्न नसक्नु वा कर्जा लिनेले कर्जाको सावाँ ब्याज तिर्न नसक्नुमा प्रणालीमा कहीं न कहीं केही न केही समस्या रहेको आर्थिक विज्ञहरु बताउँछन् ।
खराब कर्जाको अनुपात बढ्दै जानुमा आर्थिक गतिविधि फस्टाउन नसक्नु नै प्रमुख कारण हो । विगतमा जथाभावी कर्जा प्रवाहको असर पनि हो भनेर पनि व्याख्या गरिएको छ ।
पछिल्लो समय आर्थिक गतिविधि कम हुँदा ऋणीको व्यावसायमा धक्का लागेकै कारण समयमा कर्जा भुक्तानी हुन नसकेको जनाइन्छ । साथसाथै ब्याजदर बढ्दा ऋणको हिस्सा समेत बढ्न गई ऋणीहरुले अपेक्षा अनुसार कर्जा भुक्तान गर्न नसकेको उनीहरुको भनाई छ ।
बैंकर भुवन दाहाल आर्थिक गतिविधिमा आएको सुस्तता र ब्याजदर वृद्धिको कारण खराब कर्जा बढेको बताउँछन् । ‘एकातर्फ आर्थिक गतिविधि घट्न गई ऋणीहरुको आम्दानीमा गिरावट आएको छ, अर्काेतर्फ ब्याजदर बढ्दा ऋण लिंदाको योजनाभन्दा अतिरीक्त रकम बैंकलाई बुझाउनुपर्ने हुन्छ’ उनले भने, ‘यसले गर्दा ऋणीले अपेक्षित रुपमा कर्जा भुक्तानी गर्न सकेन् र खराब कर्जा बढ्नगयो ।’ बैंकमा कर्जायोग्य रकमको अभाव हुँदा ब्याजदर बढ्नुका साथै खराब कर्जा बढेको दाहालको निष्कर्ष छ ।
वाणिज्य बैंकको छाता सङ्गठन नेपाल बैंकर्स एशोसियसनका पूर्व अध्यक्ष तथा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना पनि आर्थिक गतिविधि सुस्ताएको समयमा खराब कर्जा बढ्नुलाई स्वभाविक रुपमा लिएको बताउँछन् । ‘कोभिडको प्रभाव बल्ल देखिदै छ, बजारमा तरलता अभाव छ, ब्याजदर बढेको छ, बजारमा आर्थिक गतिविधि धेरै नै सुस्ताएका छन्, यही कारण खराब कर्जा बढेको हो’ उनले भने, ‘यसलाई स्वभाविक रुपमा लिएका छौँ, आर्थिक गतिवधि चलायमान भएसँगै खराब कर्जाको दर घट्छ ।’
खराब कर्जा अझै बढ्ने सङ्केत
बैंकहरुले माघ १ गतेदेखि निक्षेपको ब्याजदर घटाए पनि पुरानो कर्जाको ब्याजदर परिर्वतन हुनलाई वैशाख नै कुर्नुपर्ने हुन्छ । हरेक तीन महिना मात्रै बैंकहरुले आधार दर (बेस रेट) परिर्वतन गर्न पाउने व्यवस्था छ ।
यद्यपि, चैतमा कर्जाको ब्याजदर घट्छ नै भन्न सकिने अवस्था छैन । ब्याजदर निर्धारण गर्दा आधार दरमा प्रिमियम थप गरिन्छ । आधार दरलाई बैंकको वित्तीय लागतले धेरै प्रभाव पार्छ अर्थात बढ्दा बढ्छ भने घट्दा घट्छ । पछिल्लो समय वित्तीय लागत बढ्दै गएको बैंकरहरु बताउँछन् । जसले गर्दा आधार दर अझै बढ्ने सम्भावनालाई नकार्न सकिन्न । फलस्वरुप ब्याजदर घट्छ नै भन्ने अवस्था छैन ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदिश खालिङ मुद्दति निक्षेपको हिस्सा र वित्तीय लागतबीच समानुपातिक सम्बन्ध हुने उल्लेख गदै पछिल्लो समय मुद्दति निक्षेपको हिस्सा बढेको बताउँछन् ।
‘मुद्दति निक्षेपको हिस्सा बढ्दो छ, उक्त निक्षेप परिपक्क नहुँदासम्म ब्याजदर हेरफेर गर्न मिल्दैन, त्यसैले अहिले ब्याजदर घटे पनि पुरानो मुद्दती निक्षेपको ब्याजदर घट्दैन, यसले वित्तीय लागत बढाउँछ’ उनी भन्छन्, ‘अहिले कुल निक्षेपमा करिब ६० प्रतिशत मुद्दति निक्षेप छ ।’
वित्तीय लागतमा कमि आउन समय लाग्छ । वित्तीय लागत बढ्नु भनेको आधार दरमा पनि वृद्धि हुनु हो । मङ्सिरमा बैंकहरुको आधारदर १०.६९ कायम भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।
यसरी कर्जाको ब्याजदर घटेन भने ऋणिलाई अहिले जस्तै आगामी दिनमा पनि आर्थिक भार थोपरिन्छ । त्यसले खराब कर्जालाई प्रोत्साहन गर्नसक्छ ।