
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सन् २०२३ लाई नेपालको डिजिटल भुक्तानी प्रवद्र्धन वर्षको तयारी गरिएको बताएका छन् । भारतीय राजदूतावासले नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चको सहकार्यमा आज आयोजना गरेको ‘इण्डिया–नेपाल स्टार्टअप कनेक्ट’ विषयक कार्यक्रममा गभर्नर अधिकारीले डिजिटल नेपालको विषयका बारेमा प्रष्ट पार्दै सन् २०२३ लाई नेपालको डिजिटल भुक्तानी प्रवद्र्धन वर्षको तयारी गरिएको बताएका हुन्।
उनले नेपाल र भारतबीच फिनटेकमा थप सहकार्यका लागि आह्वान गर्दै क्रस बोर्डर भुक्तानी र क्युआर भुक्तानीलाई सहयोगका सम्भावित क्षेत्रका रूपमा पहिचान गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपाली र भारतीय नवपर्वतनमा आधारित व्यवसाय ‘स्टार्टअप इकोसिस्टम’ बीचको जडान (कनेक्ट)लाई बढावा दिन सरोकारवाला निकायका अधिकारीले सुझाव दिएका छन् ।
उद्घाटन सत्रपछिको पहिलो समूह छलफल ई–कमर्स र फिनटेक क्षेत्रमा नेपाल–भारतका अवसरमा केन्द्रित थियो भने दोस्रो प्यानल छलफल नेपाली स्टार्टअपका लागि अवसरमा केन्द्रित थियो । दूतावासले नेपाल–भारत स्टार्टअप जडान प्रवद्र्धन गर्ने गतिविधिलाई प्रोत्साहन गर्न जारी राख्ने जनाएको छ । साथै शैक्षिक संस्था, स्टार्टअप, लगानीकर्तालगायत नेपालका सबै सरोकारवालालाई स्टार्टअप इण्डियामार्फत भारतीय स्टार्टअप र इन्क्युबेटरमा पुग्न प्रोत्साहित गर्ने प्रतिबद्धता गरिएको छ ।