चर्चाको विषय बन्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणात्मक वितरणयोग्य मुनाफा, के भन्छ बैंक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2023 | 05:28:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म दुई अर्ब आठ करोड खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । तर नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मिलेर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक हुनुले धेरैको ध्यान तानेको छ । 

दुई अर्ब आठ करोड खुद मुनाफा हुँदा उल्टै एक अर्ब ६० करोड रुपैयाँ ऋणात्मक कसरी भयो ? भन्ने कुरा बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख भए पनि किन यस्तो भयो भन्ने कुराको जानकारी छैन । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख जानकारीअनुसार तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंकको वितरणयोग्य मुनाफा ९८ करोड भए पनि मेगा बैंकको वितरणयोग्य मुनाफा दुई अर्ब ५५ करोड ऋणात्मक देखिएको छ । जसकारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दुई अर्ब खुद मुनाफा गर्दा पनि वितरणयोग्य मुनाफा एक अर्ब ६० करोड ऋणात्मक देखिएको हो ।

तत्कालिन मेगा बैंक (जुन अहिले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको छ) को वितरणयोग्य मुनाफा दुई अर्ब ५५ करोड ऋणात्मक हुँदा यस बारे धेरैले किन यस्तो भयो भन्ने प्रश्न गरेका छन् । 

अहिले प्रोभिजनमा राखिएको पैसा भोलिका दिनमा कमाइमा नै देखाउन पाइने भएकाले यसले आर्थिक वर्षको समाप्तिसम्ममा वितरणयोग्य मुनाफामा ठूलो असर नपर्ने बैंकको भनाइ छ । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सूचना अधिकारी तथा डेपुटी जनरल म्यानेजर विजेन्द्र सुवालका अनुसार तत्कालिन मेगा बैंकले नेपाल इन्भेष्टमेन्ट बैंककै नीतिअनुसार प्रोभिजन गर्दा तथा नेपाल राष्ट्र बैंकको नियामकीय निर्देशनअनुसार प्रोभिजन गर्दा मेगाको वितरणयोग्य मुनाफा ऋणात्मक देखिएको हो । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैँकले सार्वजनिक गरेको वित्तीय विवरणमा तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंक र तत्कालिन मेगा बैंकको वितरणयोग्य मुनाफा अलगअलग देखाइए पनि मर्जरभन्दा अगाडीको अन्तिम ब्यालेन्ससिट सार्वजनिक हुनुपर्ने एक चार्टड एकाउन्टेन्टको भनाइ छ । यस्तो हुँदा कुन बैंक कस्तो अवस्थामा रहँदा मर्जर वा प्राप्तिमा गएको थियो भन्ने बारे जानकारी हुन्छ ।

चालु आर्थिक वर्ष ७८÷७९ को दोस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा २८.४४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ६२ करोड खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको नाफा बढेर दुई अर्ब ८ करोड पुगेको हो ।

यद्यपि यस अवधिमा साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र साविकको मेगा बैंक मर्ज भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार गरेका छन ।

यस अवधिमा बैंकको ब्याज आम्दानी ७१.३२ प्रतिशतले बढेर ११ अर्ब ९५ करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ७३.९२ प्रतिशतले बढेर चार अर्ब १८ करोड कायम भएको छ । बैंकको खुद सञ्चालन आम्दानी भने २१.२४ प्रतिशतले बढेर चार अर्ब ५९ करोड पुगेको छ । 

बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रहेको छ भने रिजर्भमा २३ अर्ब ५५ करोड रहेको छ । यस अवधि बैंकले तीन खर्ब १७ अर्ब कर्जा प्रवाह गरेको छ भने बैंकको निक्षेप तीन खर्ब ५५ अर्ब रहेको छ । 

बैंकको खराब कर्जा बढेर ३.७१ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी १५.६१ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ९१ पैसा रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved