
नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स आफैले खरिद गरेको छ। सोमबारको बोलकबोलमा बैंक तथा वित्तीय संस्थाले २८ दिने ट्रेजरी बिल्समा बढी ब्याजदर मागेपछि राष्ट्र बैंक आफैले खरिद गरेर सरकारको लागि ऋण जोहो गरेको हो ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बैंकहरुले अघिल्लो पटकको भन्दा बढी ब्याज माग गरेपछि खुला बजार सञ्चालन समितिले राष्ट्र बैंकले नै आफै बिल्स खरिद गर्ने निर्णय गरेको बताए। राष्ट्र बैंकमा मौद्रिक ब्यबस्थापन विभाग हेर्ने डेपुटी गभर्नरको अध्यक्षतामा खुला बजार कारोबार सञ्चालन समिति रहन्छ ।
राष्ट्र बैंकले सोमबार २८ दिने २ अर्बको सहित कुल २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेको थियो । २८ दिनको ट्रेजरी बिल्समा ब्याजदर बढी माग गरेपछि राष्ट्र बैंक आफैले खरिद गरेपनि बाँकीमा भने बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएका छन्।
बैंक तथा वित्तीय संस्थाले ९१ दिनको ७ अर्ब १० करोडको बिल्स ९.६३ प्रतिशतमा खरिद गरेका छन्। १८२ दिनको ७ अर्बको १०.२४ र ३६४ दिनको ५ अर्बको १०.०८ प्रतिशत औसत ब्याजदरमा गरिद गरेका हुन्। यो ब्याजदर अघिल्लो साताको भन्दा कम हो।
के हो ट्रेजरी बिल ?
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ ।
बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।