नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदरमा २० प्रतिशत भन्दा धेरै नाफा खाएको आरोप लगाएका छन् । लुम्बिनी प्रदेशको कपिलवस्तुस्थित चन्द्रौटामा आयोजित ‘लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन ?’ विषयक कार्यक्रममा उनले अहिले अर्थतन्त्र समस्यामा भएको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल ध्यान दिनुपर्ने बताए्का छन् ।
सरकारी खर्च कम हुँदा बजारमा तरलताको अभाव भएको र उद्योग व्यवसाय नै धरासायी हुँदा पूँजी निर्माण गर्न कठिन भएको श्रेष्ठको भनाई छ । उनले बैंकले उद्योगीहरुसँग लिएको प्रिमियम ब्याजदर ज्यादै धेरै भएको भन्दै त्यसलाई तत्काल घटाउन पनि माग गरे ।
“उद्योगी व्यवसायीलाई नाफामा २० प्रतिशत भन्दा धेरै लिन नपाईने भन्दै दशकौं पुरानो कानून लागु गरेर दुःख दिईन्छ तर बैंकले ब्याजदरमा ६० प्रतिशतसम्म प्रिमियम लिँदा सरकार र नियामकले वास्ता गर्दैनन्” वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले भने ।
निजी क्षेत्रले अर्थतन्त्रमा उच्च योगदान दिएको र भूमिका बढिरहेको बेलामा निजी क्षेत्रले अधिकार खोसेरै लिनुपर्ने अवस्था देखिएको बताए ।
आफूले लुम्बिनी प्रदेशमा लगानी बिस्तार गरिरहेको भन्दै पूर्वाधार क्षेत्रमा लगानी गरेको र अटोमोबाइल एसेम्बली उद्योग स्थापना गर्ने योजनामा रहेको श्रेष्ठले जानकारी दिए।
महासंघमा आफूले लामो समयदेखि योगदान दिएको भन्दै उनले अब आफूले नेतृत्व गर्ने पालो आएको पनि बताए ।
“म युवा छु तर संस्थागत संलग्नता लामो समय भएको छ। यसले मलाई परिपक्क बनाएको छ र सोहि अनुभवको आधारमा आफूले नेतृत्वमा दाबी गरेको हुँ,” श्रेष्ठले भने।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले देशको पूँजी निर्माणमा निजी क्षेत्रको योगदान उच्च रहेको भन्दै यसलाई कसरी गतिशिल बनाउने भन्नेमा राज्य लाग्नुपर्ने बताए।
“पूँजी निर्माणमा निजी क्षेत्रको योगदान ७५ प्रतिशत भन्दा धेरै छ, सरकारको योगदान न्यून मात्र छ । त्यसले देशको पूँजी निर्माणमा योगदान गर्ने निजी क्षेत्रलाई कसरी चलायमान बनाउने भनेर सरकारले हेर्नुपर्दछ,” उनले भने ।
सरकारले अर्थतन्त्रलाई सुदृढ गर्नका लागि आफ्नो मौज्दातबाट समेत खर्च गर्नुपर्ने भन्दै उनले राजस्व र साधारण खर्चमा मात्र हेर्न नहुने बताए ।
“अहिले तीनै तहका सरकारहरुसँग ३५१ अर्ब रुपैयाँ रहेको छ यो रकमबाट सरकारले खर्च गर्न सक्दछ। र अर्थतन्त्र सुधार भएपछि त्यसबाट पूर्ति गर्न सक्दछ,” थापाले भने ।