
रौतहटको चन्द्रपुर नगरपालिकास्थित माछापुच्छ्रे बैंकको शाखा कार्यलयबाट बचतकर्ताको पैसा हराएको घटनाबारे बैंकले प्रहरीकाे केन्द्रीय अनुसन्धान व्युरो (सीआइबि) मा जाहेरी दर्ता गरेको छ। हराएको भनिएको पैसा जम्मा भएको देखिएको दुई बैंकका ग्राहकलाई विपक्षी बनाएर सीआईबीमा जाहेरी दर्ता गरिएको बैंकले जनाएको छ।
यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै हराएको पैसा 'ट्रान्सफर' भएको देखिएका ती दुई बैंकका ग्राहकलाई विपक्षी बनाएर जाहेरी दर्ता गरिएको माछापुछ्रे बैंकका चिफ अपरेटिङ अफिसर सुनिल खतिवडाले बताए।
वृन्दावन नगरपालिका पूर्ववडाध्यक्ष रामेश्वर राय यादवले आफ्नो खाताबाट हराएको भनिएको ९ लाख रुपैयाँ खल्ती एप्स र मोबाइल बैंकिंङमार्फत सिटिजन्स बैंक र सानिमा बैंकका ग्राहकको खातामा गएको देखिएको छ। यस घटनामा भेटिएका अहिलेसम्मका सबै तथ्य र विवरण राखेर यसबारे थप छानबिन तथा अनुसन्धान गर्न सीआईबीमा उजुरी गरिएको खतिवडाले बताए।
एक महिनाभित्र यस घटनाको अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउने र प्रहरीको अनुसन्धानमा जसको कमजोरीका कारण पैसा हराएको भेटिन्छ उसैले ब्योहोर्ने गरी ग्राहक यादव र बैंकबीच सम्झौता भएको भोलिपल्ट बैंकले प्रहरीमा पुगेकाे हाे ।
इलाका प्रहरी कार्यालयमा नै रहनेगरी माछापुछ्रे बैंकले एक महिनाको अवधि राखेर यादवको नाममा ९ लाखको चेकसमेत बैंकले दिएको छ। मङ्गलबार जेठ ९ गते प्रहरी, प्रशासन, स्थानीय राजनीतिक दललगायतका जिम्मेवार निकायका प्रतिनिधिलाई साक्षी राखेर बैंक र बैंकका ग्राहक यादवबीच सहमति भएको हो।
जेठ ४ गते नेपाल बैंकको तीनवटा चेकमार्फत १२ लाख २० हजार रुपैयाँ जम्मा गरेको पैसा आइतबार जेठ ७ गते झिक्न जाँदा खातामा ९ लाख रुपैयाँ कम भएको देखिएपछि यो घटना बाहिर आएको हो।
यस अघि:
- तीन पटकको कारोबारबाट तीन दिनमै हरायो माछापुछ्रे बैंकका ग्राहकको ९ लाख
- ग्राहकको खाताबाट ९ लाख गायब भएपछि बोल्यो माछापुच्छ्रे बैंक
- खाताबाट ९ लाख हराएको माछापुच्छ्रेको घटनामा 'नयाँ ट्वीस्ट', शङ्काको घेरामा पूर्व-वडाध्यक्ष