
 2mb (1).gif)
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुसंग अन्तरक्रिया गरेको छ । राष्ट्र बैंकले आज जेठ २३ गते मंगलबार 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्षहरूसँग याक एण्ड यति होटेलमा अन्तरक्रिया कार्यक्रम गरेको हो । दिउँसो १ बजे सुरु भएको छलफल साँझ ५ बजेसम्म चलेको बताईएको छ ।
राष्ट्र बैंकले समसामयिक विषयमा अन्तरक्रिया गरेको जनाएको छ। तर छलफलमा राष्ट्र बैंकले केहि विषयमा सचेत गराउदै कडा चेतावनी समेत दिएको छलफलमा सहभागी एक बैंकका अध्यक्षले बिजपाटीलाई जानकारी दिए । ति अध्यक्षका अनुसार बस्तु तथा सेवाको आयातमा लागत भन्दा बढी मुल्य कायम 'ओभर इनभ्वाइसिङ' हुने गरेको भेटिएकाले यसलाई सुधार नगरे कडा कारवाही गर्ने चेतावनी समेत राष्ट्र बैंकले दिएको छ ।
यदि विदेशबाट सामान आयात गर्दाखेरि एलसी खोल्ने क्रममा सामानको मूल्य भन्दा बढी मूल्य राखेर एलसी खोलिए त्यसलाई ओभर इनभ्वाइसिङ भनिन्छ । यसो हुँदा समानको लागत भन्दा बढी विदेशी मुद्रा देश बाहिर जाने गरेको राष्ट्र बैंकले जनाएको छ । यसै विषयलाई गम्भीर रुपमा लिंदै राष्ट्र बैंकले यो तत्काल सुधार गर्न र सुधार नगरे यसमा ठुलो कारवाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको छल्फलमा सहभागी एक बैंकका अध्यक्षले बिजपाटीलाई जानकारी दिए ।
त्यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भईरहेको बेथितिलाई नियाली रहेको र राष्ट्र बैंकले कारवाही गर्नु अगाडी नै त्यस्ता बेथिति सुधार गर्न राष्ट्र बैंकले आग्रह गरेको ति अध्यक्षले जानकारी दिए । राष्ट्र बैंकले जारी गरेका सम्पूर्ण निर्देशनहरुको पालना गर्न र त्यसो नगरे कारवाही गर्ने राष्ट्र बैंकले भनेको उनले उल्लेख गरे ।त्यस्तै हाल सम्पति सुद्धिकरणको विषयमा नेपालको समग्र अवस्था जाँच भईरहेकोले यदि नेपाल ग्रे लिस्ट मै परिहाले त्यस्तो अवस्थाको लागि पनि तयार रहन राष्ट्र बैंकले सचेत गराएको बताईएको छ ।
यी बाहेक देशको वर्तमान आर्थिक अवस्था, समसामयिक विषयमा छलफल भएको र यो मौद्रिक नीति अगाडीको सामान्य छलफलको रुपमा लिइएको ति अध्यक्षले बिजपाटीलाई जानकारी दिए ।
छलफलमा राष्ट्र बैंकको तर्फबाट गभर्नर महाप्रसाद अधिकारी , डेपुटी गभर्नर बम बहादुर मिश्र, नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, र सहभागी थिए। त्यस्तै छलफलमा 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्षहरु सहभागी रहेको राष्ट्र बैंकले जनाएको छ ।