नेपाल सरकारले २२ महिना यता कै सस्तो ब्याजमा आन्तरिक ऋण उठाएको छ। नेपाल सरकारले नेपाल राष्ट्र बैंक मार्फत बार्षिक ६.९३ प्रतिशतको ब्याजमा ६ बर्षका लागि १० अर्ब ऋण लिएको हो।
वित्तीय क्षेत्रका विज्ञ एवं पूर्वबैंकर परशुराम कुँवर क्षेत्रीका अनुसार विकास ऋणपत्रमा यो ब्याजदर २०७८ भाद्र ११ पछिको सबै भन्दा न्यून ब्याज हो । उनले बजारमा तरलता फालाफाल रहेकोले राष्ट्र बैंकले उठाउने हरेक आन्तरिक ऋणमा ब्याजदर घटिरहेको बताएका छन् ।
चालू आवमा सरकारले असार १८ गते ५ अर्बको ट्रेजरी विल्स (१८२ दिन) र असार २१ मा १० अर्बको विकास ऋणपत्र (६ वर्ष) बोलकबोल गर्न बाँकि छ। तर, असार २१ मै रु ७ अर्बको विकास ऋणपत्रको भुक्तानी समाप्त हुदैछ।
कुँवरका अनुसार बैक तथा वित्तीय संस्थाहरुले ९०% को सिडि रेसियोसम्म कर्जा प्रवाह गरेमा ३ असार २०८० को सिडि रेसियो ८३.८८% को आधारमा थप कर्जा रु ३५४.२३ अर्व प्रवाह गर्न सक्नेछन्।