बैंकका सञ्चालक र सीइओको अनुशासनहीनताले खराब कर्जा बढ्यो : नेपाल राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2023 | 11:00:44 AM मा प्रकाशित

laxmi sunrise bank

बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरुको अनुशासनहिनाताले खराब कर्जा बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकको बैंकिङ सुपरीवेक्षण विभागले सार्वजनिक गरेको ‘वार्षिक बैंक सुपरीवेक्षण प्रतिवेदन’मा विभिन्न कारणमध्ये बैंकका सञ्चालक र सीइओको अनुशासनहीनतालाई पनि खराब कर्जा बढ्नुको एउटा कारण औँल्याइएको छ ।

राष्ट्र बैंकको बुधबार सार्वजनिक उक्त प्रतिवेदनमा बैंकका सञ्चालकहरुले आफ्नो जिम्मेवारीअनुसारको काममा केन्द्रित नहुँदा र प्रमुख कार्यकारी अधिकृतहरुले पनि निर्देशनअनुसारको काम नगर्दा अहिले खराब कर्जा बढेको उल्लेख छ। 

'धेरै बैंकका सञ्चालकहरु कर्जाका विषयमा मात्रै केन्द्रित भएको राष्ट्र बैंकको निष्कर्ष छ। राष्ट्र बैंकको निर्देशन तथा अन्य विषयमा अत्यन्त कम छलफल गर्ने गरेका छन्', प्रतिवेदनमा भनिएको छ, 'सञ्चालकहरुको छलफल कर्जा स्वीकृतिमा मात्रै केन्द्रित देखिन्छ।'

कतिपय बैंकले सीईओको कार्यसम्पादनको मूल्याङ्कनसमेत नगरेको र कार्यसम्पादन पनि बैंक र सीइओबीच भएको सम्झौता अनुसार पनि नभएको प्रतिवेदनले औँल्याएको छ। त्यस्ता केही बैंकलाई कारबाही गरिने चेतावनी समेत दिइएको छ ।  

त्यस्तै बैंकहरुको लेखापरीक्षण जस्तो गम्भीर विषयमा पनि बैंकका प्रमुख कार्यकारी अधिकृतले गैरजिम्मेवारी ढंगले कानुनविपरित काम गरेको राष्ट्र बैंकको निष्कर्ष छ। लेखापरीक्षकले गर्नुपर्ने काम पनि केही बैंकहरुमा बैंकका सीइओ तथा डेपुटी सीइओले गरेको प्रतिवेदनमा उल्लेख छ। 

बैंकहरूले लेखापरीक्षणमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया), कम्पनी ऐन र राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशनमा उल्लेखित कर्तव्य र जिम्मेवारी पूरा नगरेको उल्लेख छ । त्यस्तै, आन्तरिक लेखापरीक्षण प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन नगरेको, कतिपय बैंकमा त लेखाको जिम्मेवारीमा दक्ष जनशक्तिसमेत नरहेको पाइएको छ । 

यो राष्ट्र बैंकको निर्देशनविपरीत हुने गरी आन्तरिक लेखा प्रमुखको कार्यसम्पादन मूल्यांकन बैंकको कर्जा प्रशासनमा संलग्न प्रमुख कार्यकारी अधिकृत, नायब महाप्रबन्धक वा व्यावसायिक कार्यमा संलग्न अधिकारीले गरिरहेको पाइएको छ', प्रतिवेदनमा भनिएको छ, 'यसको जिम्मेवारी लेखा समितिको हो । केही बैंकले त स्वतन्त्र लेखा प्रणालीसमेत संस्थागत गरेनन।' 

कतिपय बैंकहरूले स्वतन्त्र लेखापरीक्षण कार्य स्थापना नगरेको समेत प्रतिवेदनमा उल्लेख छ। त्यस्तै बैंकहरुले बजार जोखिम अर्थात ब्याज दर र विदेशी विनिमयसँग जोडिएका बजार जोखिमको विषयमा पनि नजरअन्दाज गरेको राष्ट्र बैंकको निष्कर्ष छ। केही बैंकहरुले कर्जा लिएका ग्राहकको ब्याज प्रिमियम परिवर्तन प्रावधानविरुद्ध गरेकोसमेत प्रतिवेदनमा उल्लेख छ। त्यस्तै केही बैंकहरुले सञ्चालन जोखिम बढ्ने गरी काम गरेको पाइएको छ। प्रशिक्षार्थी इन्टर्नहरूलाई प्रयोगकर्ता पहुँच भएका संवेदनशील क्षेत्रमा काम गर्न लगाइएको राष्ट्र बैंकले भेटेको छ। धेरैजसो बैंकका शाखामा एउटै कर्मचारीको भरमा एटिएम र पिन नम्बरलाई निगरानीमा राखिएको उल्लेख छ। 

नियमित हो, यसको नतिजा चालू आर्थिक वर्षको सुपरीवेक्षण प्रतिवेदनमा देखिनेछ : देव ढकाल, बैंक सुपरिवेक्षण विभाग प्रमुख 

नेपाल राष्ट्र बैंकका बैंक सुपरीवेक्षण विभाग प्रमुख देवकुमार ढकालकाअनुसार सुपरिवेक्षणको काम राष्ट्र बैकको नियमित काम मध्ये एक हो। बैंक वित्तीय सँस्थामा स साना कमिकजोरी भईनै रहने भएकाले त्यसलाई सच्याउदै र सुधार गर्दै अघि बढ्ने र बढाउने हिसाबले नै राष्ट्र बैंकले काम गरिरहेको छ। 

बजार जोखिम र सुशासन जस्ता विषयमा सुधार गर्नुपर्ने कुरा धेरै हुने भएकाले कमि कमजोरी भेटिएका बैंकहरुलाई त्यसमा सुधार गर्नलाई निर्देशन दिइने भएकाले यो एउटा नियमित प्रक्रिया भएको उनले बताए। 

'नियमित विपरित कार्य गरेका केही बैंकहरुलाई कारबाही गरिएको छ भने केहीलाई सचेत मात्र गराइएको छ' उनले भने,  'सुपरीवेक्षणको क्रममा भेटिएका विषयलाई लिएर थप सुपरीवेक्षण पनि गरिरहेको र यसको नतिजा चालू आर्थिक वर्षको प्रतिवेदनमा झल्किन्छ।' 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved