निक्षेप तथा कर्जा सुरक्षण कोषले संस्थागत निक्षेप लगानी गर्न प्रस्ताव आह्वान गरेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको रकम निक्षेप लागनीका लागि कोषले प्रस्ताव आह्वान गरेको हो ।
कोषले बुधबार एक सूचना जारी गर्दै विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको १ अर्ब ५० करोड रुपैयाँ निक्षेप लागनीका लागि प्रस्ताव गरेको हो ।
कोषका अनुसार रकम लगानी गर्न वाणिज्य बैंकले आगामी जेठ ४ गतेसम्म आफ्नो संस्थाले निक्षेप लिन चाहेको रकम र दिन चाहेको ब्याज तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ । यसरी राखिने रकमको अवधि १ वर्ष हुनेछ ।
रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंकहरु सञ्चालनमा आएको कम्तीमा ५ दुई वर्ष पूरा गरेको भने हुनुपर्नेछ । यसबाहेक तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने शर्त कोषले राखेको छ ।
यस्ता छन् शर्तहरुः
(क) बैंक संचालनमा आएको कम्तीमा पाँच वर्ष पुरा गरेको ।
(ख) लगातार पाँच वर्षदेखि नाफामा रहेको ।
(ग) नेपाल राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको ।
(घ) निष्कृय कर्जा (NPL) कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको ।
(ङ) खूद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको ।
(च) कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात वा कर्जा/ निक्षेप अनुपात नेपाल राष्ट्र बैंकले समय-समयमा निर्धारण गरेको सीमा भित्र रहेको ।
(छ) अघिल्लो ५ आर्थिक वर्षमा सञ्चालन मुनाफा (व्यवस्था पछिको ) मा रहेको ।
(ज) रियल स्टेटमा प्रवाहित कर्जा नेपाल राष्ट्र बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको ।
(झ) लगानी गरिने बैंक वा त्यसको कार्यकारी अध्यक्ष, सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकले प्रचलित कानून बमोजिम सचेत गराउने बाहेकका अन्य जरिवाना वा सजाय गरेको अवस्थामा सो कारवाही भएको १ वर्ष पूरा भएको ।
(ञ) शीघ्र सुधारात्मक कारवाहीमा परेको भए सो कारवाही फुकुवा भएको कम्तिमा तीन महिना पूरा भएको।
(ट) नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिम कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको । समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पुरा भएको ।
(ठ) नेपाल सरकारको स्वामित्व रहेका बैंक बाहेकका अन्य बैंकको हकमा सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरी नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएको ।
(ड) कोषले लगानी गर्न सूचना प्रकाशित गरको रकम लगानी गर्ने/नगर्ने अधिकार कोषमा सुरक्षित रहनेछ ।
(ढ) मापदण्ड तथा शर्त पूरा गरेको व्यहोराको स्वघोषणा शिलबन्दी दरभाउपत्र साथ पेश गर्नु पर्नेछ । शिलबन्दी दरभाउपत्रमा उल्लेखित वित्तीय परिसुचकहरु त्रैमासिक रुपमा प्रकाशित गरेको हुनुपर्नेछ । कुनै वित्तीय परिसूचकहरु मासिक रुपमा प्रकाशित गरेको हकमा आफ्नो आन्तरिक लेखापरीक्षकबाट अनिवार्य रुपमा प्रमाणित गराएको हुनु पर्नेछ ।