सिटिजन बैंकले १७ औँ वार्षिक उत्सवको अवसरमा ग्राहकहरुका लागि ‘स्मार्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
कम्पनीले यसअघि नै सञ्चालनमा रहेको स्मार्ट बचत खातामा थप १७ ओटा नयाँ विशेषताहरु समावेश गरेर यो सेवा सञ्चालनमा ल्याएको बताएको छ ।
युवा पुस्तालाई केन्द्रमा राखेर यो डिजिटल प्रोडक्ट सञ्चालनमा ल्याएको कम्पनीका हेड डिपोजीट मार्केटिङका पारस विक्रम थापाले बताएका छन् । “यो पियोर डिजिटल प्रोडक्ट हो, यसमा हामीले कुनै पनि पेपर प्रयोग गर्दैनौ” उनले भने, “यो खाता अनलाईनबाट खोल्न सकिने छ । ग्राहकले खाता खोलीसकेपछि एकपटक नजिकैको बैंकको शाखामा जानुपर्छ ।”
स्मार्ट बचत खाता खोल्दा ग्राहकले पाउने सुविधाहरु :
कम्पनीले ग्राहकहरुका लागि उक्त खाता न्यूनतम शून्य रुपैयाँमा नै खोल्न सक्ने व्यवस्था गरेको छ । अहिले नयाँ ‘स्मार्ट बचत खाता’ मा विभिन्न स्किमहरु उपलब्ध छन् ।
यो खाता खोल्ने कुनै पनि ग्राहकहरुले एक वर्षका लागि नि : शुल्क डीम्याट एकाउन्टको सुविधा पाउने छन् । त्यस्तै, ई–कमर्शका लागि थ्री डी सेक्युअरको पनि निःशुल्क व्यवस्था छ । साथै, ग्राहकहरुले एक वर्षका लागि इन्टरनेट बैंकिङको पनि सुविधा पाउने छन् ।
त्यस्तै, एक वर्षे अवधिका लागि फ्रि डेभिट कार्ड, फ्रि मोबाइल बैंकिङको सुविधा पनि यस स्मार्ट बचत खातामा उपलब्ध छ । सि–आस्वाको रजिस्ट्रेसन शुल्क पनि नि शुल्क गरेका कम्पनीले अन्य बैंकको एटीएमबाट (क्यास विथ ड्र) पैसा निकाल्दा समेत अतिरिक्त शुल्क नकाटिने बताएको छ ।
यो सेवा मार्फत ट्राभलकार्डमा, स्वीफ्टहरुमा, युएसडी कार्डबाट अनलाईन पेमेन्ट गर्दा र ड्राफ्टहरुमा १७ प्रतिशत छूटको पनि व्यवस्था रहेको छ । कम्पनीले वार्षिकोत्सको अवसर पारेर छूटको व्यवस्था गरेको हो ।
साथै, कम्पनीले विद्यार्थीलाई शेयर बजारमा प्रोत्साहन गर्ने उद्देश्यले निशुल्क शेयर भर्न पाउने व्यवस्था मिलाएको छ । अन्य ग्राहकलाई भने शेयर भर्न ५ रुपैयाँ लाग्छ ।
यो खाता खोल्दा पहिलो वर्ष निशूल्क खोल्न सकिने छ भने दोस्रो वर्षबाट पनि ५० प्रतिशत छूटमा यो सेवा लिन सकिन्छ । कोभिड महामारिपछि कम्पनीको ७० प्रतिशत कार्यहरु डिजिटल माध्यमबाट हुन थालेको छ । अहिलको युग भनेको डिजिटल भएकाले पहिलाको जस्तो चेकमार्फत् कारोबार गर्नुपर्ने झन्झट छैन ।
उनका अनुसार, यो सेवा पुरै डिजिटल्ली भएकाले यसमा चेक पुरै बन्द नै गरिएको छ । एकतर्फ सजिलो र छिटो कारोबार गर्न सकिन्छ भने अर्कोतर्फ कागजको प्रयोग गर्दा लाग्ने शुल्क बाचत हुन्छ।
‘स्मार्ट बचत खाता’ खोल्ने तरिका
यो खाता सिटिजन बैंकको नजिकैको शाखामा या कम्पनीको वेबसाइटमा गएर ‘स्मार्ट बचत खाता’ भन्ने अप्सनमा क्लिक गरेर पनि सजिलैसँग खोल्न सकिन्छ । साथै नागरिक एपबाट पनि उक्त खाता खोल्न सकिने छ । खाता खोल्नको लागि नागरिकता र पासपोर्ट साइजको फोटो भए पुग्छ । यति भयो भने यो खाता खोल्न सकिन्छ ।
यो खाता खोल्न धेरै समय पनि लाग्दैन । खाता खोलेपछि यसको जानकारी ग्राहकको इमेलमा र मोवाइल फोनमा एसएमएस जान्छ । त्यसपछि ग्राहकले नजिकैको बैंकको शाखामा गएर बैंकका कर्मचारीको अगाडि हस्ताक्षर गर्नुपर्छ । कम्पनीले यसलाई अझ प्रविधिमैत्री बनाउन केहि समय पछि भिडियो केवाइसी लन्च गर्ने योजना बनाएको बताएको छ ।
प्रोडक्टलाई वातावरण मैत्री बनाउन चालिएका कदम
कम्पनीले यो प्रोडक्टलाई अझ वातावरण मैत्री बनाउन एउटा खाता खोलिएपछि एउटा वृक्ष (रुख) रोप्ने गरेको छ । यस्तो गर्दा वातावरण स्वच्छ हुने थापाको भनाइ छ । युवा पुस्ताहरुको यो प्रोडक्टमा अलिक धेरै आकर्षण रहेकाले कम्पनीले समयसमयमा विभिन्न कलेजहरुमा अभियानसमेत सञ्चालन गर्ने गरेको छ ।
साथै, यो प्रोडक्टतर्फ आकर्षित गर्नको लागि कम्पनीले मोबाइल बैंकिङमार्फत सबैभन्दा पहिला टपअप गर्नेलाई १० प्रतिशत अथवा बढिमा १०० रुपैयाँसम्म क्यासब्याक र भाग्यशालीलाई ७ जनालाई इयरबडस पनि दिने गरेको छ । यो अफर जेठ महिनाभर मात्र लागू हुने पनि कम्पनीले बताएको छ ।
शाखा कार्यालय बीच प्रतिस्पर्धा
कम्पनीले आफ्ना सम्पूर्ण शाखालाई प्रोत्साहन गर्नको लागि अवार्डको व्यवस्था गरेको छ । जुन शाखाले धेरै ‘स्मार्ट बचत खाता’ खोल्न सक्छ, त्यस्ता शाखालाई आन्तरिक रुपमा प्रतिस्पर्धा पनि गराउने गरेको छ । र उत्कृष्टलाई अवार्ड दिने गरिन्छ ।
‘स्मार्ट बचत खाता’ प्रति ग्र्राहकहरुको राम्रो प्रतिक्रिया आइरहेको उनले बताए । यो खाता सञ्चालनमा आएको तीन हप्ताभित्रमा ३०० जनाले खाता खोलिसकेका छन् ।