राष्ट्रिय वाणिज्य बैंक र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको मुद्रण विभाग बीच मुद्रण विभागका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र मुद्रण विभागका महनिर्देशक रेखा कँडेलले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता भएपश्चात मुद्रण विभागमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई विभागको सिफारिसमा अधिकतम १५ लाख रुपैंयासम्म बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ ।
बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ७.३५ प्रतिशत छ ।
सम्झौता अनुसार विभागका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।
उक्त अवसरमा विभागका बरिष्ठ मुद्रण अधिकृत पद्यराज पाठक, बैंकका विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, सिंहदरबार परिसर शाखाका शाखा प्रबन्धक अनिश रायमाझीलगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकको हाल ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०८ वटा एटीएम र ७१ वटा एक्स्टेन्सन काउण्टर छन् ।