कृषि प्रबर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी बीच समझदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2024 | 09:00:57 PM मा प्रकाशित

नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीले कृषि प्रबर्द्धनका लागि एक समझदारी गरेका छन् । कृषि प्रबर्द्धन, अनुसन्धान, विकास, पूर्वाधार निर्माण, यान्त्रिकीकरण, तथा साना किसानहरूमा उद्यमशीलता विकासका लागि समझदारी गरिएको हो । 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

ग्राहकहरूको आवश्यक वित्तीय र गैरवित्तीय सेवाहरूमा पहुँच विस्तार गर्ने मुख्य उद्देश्य राखेर समझदारी गरिएको छ । नबिल बैंकले हरित वित्तपोषण र कृषि सम्बन्धी परियोजना विकास तथा कार्यान्वयनमा यो समझदारी महत्त्वपूर्ण हुने जनाएको छ ।

यस सम्झौताअनुसार, नबिल बैंकले कृषि लगानीका लागि बजार विस्तार तथा क्षमता अभिवृद्धि गर्नेछ । मुक्तिनाथ कृषि कम्पनीले तालिम तथा विकास, सल्लाहकार सेवा, ग्राहक र कर्मचारीलाई खाद्य साक्षरता अभिवृद्धि गर्न सहयोग गर्ने उल्लेख गरिएको छ । 

नबिल बैंकका सिइओ ढुंगानाले देशको अर्थतन्त्रमा कृषिको महत्त्वपूर्ण भूमिका रहेको भन्दै यसको विकासमा बैंक सहयोगी बन्ने बताए । बैंकले कृषि लगानीमा लिएको लक्ष्य पूरा गर्न यो साझेदारीले राम्रो भूमिका खेल्ने उनको भनाइ छ ।

वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले कृषि क्षेत्र विकासका लागि कृषिमा क्रान्ति आवश्यक रहेको बताए । मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक ढकालले यो साझेदारीले साझा परियोजना विकासमा एक अर्कालाई सहयोग गर्ने बताए ।

सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रम सुरु गरेको थियो । यो सम्झौतामार्फत नबिल बैंकले दिगो बैंकिङ प्रयासहरूलाई अझ बढी लक्षित वर्गमा पुर्याउन सहयोग गर्ने विश्वास गरेको छ । नेपालको अग्रणी बैंक नबिलले पछिल्ला वर्षहरूमा हरित वित्तपोषणमा लगानी अभिवृद्धि गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved